‘दान’बाट टेनिस सिकाइँदै

दीपेन्द्र बडुवाल

रूपन्देही — खेलका पारखी थोरै छन् । हाम्रो परिवेशमा रुचि गर्नासाथ लनटेनिस खेल्न पनि सम्भव छैन । त्यसका लागि र्‍याकेट, बल र कोर्ट जरुरी पर्छ । बेग्लै पोसाक पनि चाहियो, त्यसैले टेनिस महँगो खेलमा गनिन्छ ।

‘दान’बाट टेनिस सिकाइँदै

इच्छाशक्ति भएमा खेल्ने चाहना भने नमर्ने रहेछ । यहाँ व्यक्तिगत खर्चमा आवश्यक पूर्वाधार तयार गरेर कलिला नानीहरूलाई खेल्न सिकाइँदै छ ।

स्थानीयले गठन गरेको बुटवल लनटेनिस क्लबले दुई वर्षअघि देवीनगरमा १२ लाख रुपैयाँ खर्च गरेर टेनिस कोर्ट तयार गर्‍यो । त्यसपछि यहाँ बालबालिकाले खेल्ने र सिक्ने अवसर पाएका हुन् । कोर्ट निर्माणका लागि क्लबका १३ सदस्यले २५ हजारदेखि ३ लाख रुपैयाँसम्म संकलन गरेर दान गरेका थिए । एन्फा टेक्निकल सेन्टरसँगै रहेको कोर्ट रूपन्देही फुटबल संघमातहत रहेको छ । नियमित आम्दानी नभएकाले क्लबका सदस्यले दानबाटै कोर्टको मर्मत खर्च बेहोर्दै आएका छन् । एक वर्षमा मर्मत खर्च मात्रै ५ लाख रुपैयाँ हाराहारी लाग्ने क्लबले जनाएको छ ।


‘पूर्वाधार तयार भएपछि गत फागुनमा पहिलो राष्ट्रिय स्तरको प्रथम बुटवल ओपन सञ्चालन गर्‍यौं,’ क्लबका अध्यक्ष गोपाल ज्ञवालीले भने, ‘त्यसबाट प्रभावित भएपछि नेपाल टेनिस संघले प्रतियोगितालाई क्यालेन्डरमा समावेश गरेको छ । यस वर्ष फागुनमा दोस्रो बुटवल ओपन हुँदै छ ।’ अहिले यहाँ टेनिस क्रेज सुरु भएको छ । सिक्न चाहने बालबालिकाको संख्या बढो छ । तर, यहाँ कोर्ट अभावले सबैलाई समेट्न सम्भव नभएको ज्ञवाली बताउँछन् ।


अहिले ५ देखि १४ वर्षमुनिका ३० बालबालिकाले नियमित खेल सिकिरहेका छन् । प्रशिक्षणरत बालबालिकाले १ हजार रुपैयाँ मासिक शुल्क बुझाउँछन् । त्यसले बल र र्‍याकेटको जोहो गरिन्छ । त्यसमा नपुगेको सदस्यले जनही संकलन गरेर थप्छन् । सातामा ६ दिन साँझमा प्रशिक्षण गराइन्छ । शनिबार बिहान हुन्छ ।


उनीहरूलाई राष्ट्रिय खेलाडी तथा प्रशिक्षक विकास खड्काले सिकाइरहेका छन् । विकास त्रिभुवन आर्मी क्लबका व्यावसायिक टेनिस खेलाडी हुन् । उनले नेपाली राष्ट्रिय टोलीलाई समेत प्रशिक्षण दिने गरेको बताए । उनले सिकाउन थालेपछि यहाँ अभ्यासरत खेलाडीले राजधानीको लिटिल एन्जल्स स्कुलले आयोजना गर्ने प्रतियोगितामा प्रत्येक वर्ष सहभागी भएर सफलता हासिल गरिरहेका छन् । बालबालिकाको रेखदेख र प्रतिभालाई निर्खाने काम प्रशिक्षकले गर्दै आएका छन् ।


अध्यक्ष ज्ञवालीले प्रशिक्षणवापतको मासिक पारिश्रमिक पनि क्लबका सदस्यले संकलन गरेको रकमबाट दिइने गरेको सुनाए । ‘आफ्नै खर्चले खेलाडी उत्पादन गरिरहेका छौं,’ उनले भने, ‘सरकारले सहयोग गर्नुपर्‍यो ।’ पहिले टेनिसबारे यहाँ जानकारी थिएन । अभिभावकलाई चासो थिएन । त्यसैले सुरुमा घर–घरमा पुगेर खेलबारे बुझाउनुपरेको प्रशिक्षक खड्काले बताए । ‘घरमै गएर खेलबारे जानकारी गराएपछि अभिभावकले सघाएका छन्,’ उनले भने, ‘आफैं बच्चा ल्याउने/लैजाने गर्छन् ।’ अभिभावक नआएका दिन आफैंले बालबालिकालाई घरसम्म पुर्‍याउने गरेको प्रशिक्षक खड्काले बताए । ‘यहाँ टेनिसको प्रशिक्षण मैले नै सुरु गरेको हुँ,’ उनले भने, ‘मिहिनेतको फल मिल्दा खुसी छु ।’

प्रकाशित : आश्विन ११, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?