१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

रणनीति आक्रामक, लक्ष्य उपाधि

साफ महिला यू–१८ च्याम्पियनसिप
सुबास हुमागाईं

काठमाडौँ — पछिल्लो समय महिला फुटबललाई पनि प्राथमिकतामा राख्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले लगातार अन्तर्राष्ट्रिय सहभागितामा जोड दिएको छ । वर्तमान अवस्थामा घरेलु फुटबलको संरचना कमजोर भए पनि एन्फाले बिस्तारै त्यसलाई सुधार्ने गृहकार्यमा छ ।

रणनीति आक्रामक, लक्ष्य उपाधि

सिनियर महिला राष्ट्रिय टोलीलाई साफ च्याम्पियनसिपको तयारीका लागि तीन महिना अगाडिबाटै दीर्घकालिन तयारीमा राख्नु, उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता बढाउनु र तुलनात्मक रूपमा एन्फाको महिला समिति सक्रिय हुनुलाई महिला फुटबल सकारात्मक रूपमा अगाडि बढेको संकेतमा लिन सकिन्छ । गत सातामात्र नेपालले आफ्नै भूमिमा एएफसी यू–१६ च्याम्पियनसिपको छनोटमा प्रतिस्पर्धा गरेको थियो । दोस्रो चरणमा छनोट हुन नसकेको नेपालले त्यसअघि भुटानमै भएको साफ यू–१५ च्याम्पियनसिपमा चौथो स्थानमा चित्त बुझाएको थियो ।


उमेर समूहको अन्तर्राष्ट्रिय सहभागितालाई निरन्तरता दिँदै बुधबार नेपाली यू–१८ राष्ट्रिय महिला टोली साफ यू–१८ महिला च्याम्पियनसिप खेल्न भुटान गएको छ । अर्को महिना थाइल्यान्डमा हुने एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटको तयारीका रूपमा रहेको यस प्रतियोगितामा दक्षिण एसियाका ६ टोलीले सहभागिता जनाउँदै छन् । श्रीलंकाले सहभागिता जनाउने भने पनि अन्तिम समयमा नाम फिर्ता लिएको थियो । शुक्रबार सुरु हुने प्रतियोगितामा नेपालको समूहमा बंगलादेश र पाकिस्तान छन् ।


नेपाली टोलीको छनोट प्रक्रिया झन्डै ३ महिनाअघि सुरु भएको हो । एन्फाले राष्ट्रव्यापी खुला छनोटको आह्वान गर्दै पहिलो चरणको छनोट गर्‍यो । खुला छनोटबाट आएका खेलाडीसँगै महिला राष्ट्रिय लिगमा उमेर हदबन्दी ननाघेका खेलाडीसमेत समेटेर डेढ महिनाअघि दोस्रो चरणमा छनोट गरिएको थियो । त्यसपछि एक चरण खेलाडी छनोट गरेर अन्तिम २३ को नाम सार्वजनिक गरिएको हो ।


टोलीमा सिनियर राष्ट्रिय टोलीको अनुभव बोकिसकेका खेलाडी पनि रहेका छन् । कप्तान सरु लिम्बु, गोलरक्षक अन्जना राना मगर र मिडफिल्डर मन्जली कुमारी योञ्जन राष्ट्रिय टोलीका नियमित सदस्य नै हुन् । यसबाहेक विमला बिक राष्ट्रिय टोलीमा वैकल्पिकमा थिइन् भने अधिकांश खेलाडीले यसअघि उमेर समूहबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । टोलीका केही खेलाडी करारमा रहेर विभागीय टोलीबाट खेल्छन् ।


कप्तानी सम्हालेकी सरुले उच्च स्तरमा प्रतिस्पर्धा गरेको अनुभवले यस प्रतियोगितालाई निकै सहयोग पुग्ने बताइन् । ‘हाम्रो टोलीमा अधिकांश खेलाडी अन्तर्राष्ट्रिय अनुभव बटुलेका छौं । नेपालको घरेलु फुटबलमा पनि नियमित खेलिरहेका खेलाडी छन् । यो अनुभवले हामीलाई पक्कै सहयोग पुग्नेछ,’ उनले भनिन् । उनका अनुसार लामो समय सँगै रहेर तयारी गरेका कारण पनि टोलीले राम्रो नतिजा हासिल गर्नेछ । ‘हामीले सँगै रहेर नियमित प्रशिक्षण गर्ने अवसर पायौं । एकआपसमा पनि राम्रो समन्वय रहेको आभाष छ । सुखद नतिजा ल्याउने प्रयास गर्नेछौं,’ उनले थपिन् ।


प्रशिक्षक हरिओम श्रेष्ठ पनि राम्रो तयारीका कारण उपाधि जित्ने क्षमता रहेको बताउँछन् । ‘हामी झन्डै ३ महिनादेखि प्रतियोगिताको तयारीमा लागेका छौं । नियमित प्रशिक्षणसँगै टोलीमा निखार आएको छ । समूहमा बंगलादेश केही कठिन हुने देखिए पनि हामी जित हात पार्नेमा आशावादी छौं,’ श्रेष्ठले भने, ‘प्रतियोगितामा सहभागिता जनाएपछि पक्कै जित्ने नै लक्ष्य हुन्छ । हाम्रो आक्रमण पक्ष बलियो रहेकाले आक्रामक रणनीति लिएर नै मैदान उत्रन्छौं ।’


नेपाली टोलीमा आक्रमण पक्ष निकै राम्रो रहेको छ । फरवार्ड रेखा पौडेल र एलिशा जिम्बा एपीएफमा आबद्ध छन् भने रश्मीकुमारी घिसिङ महिला लिगकै उत्कृष्ट फरवार्ड घोषित भएकी थिइन् । राष्ट्रिय टोलीका सदस्यद्वय मन्जली र सरु पनि आक्रामणको भूमिकामा रहने गर्छन् । डिफेन्समा पनि विमलासँगै विभागीय टोली आर्मीकी पूजा राना मगर र एपीएफकी निशा थोकर तथा रौतहटकी रोजिना श्रेष्ठ र समीक्षा घिमिरेले स्थिरता प्रदान गर्नेछन् । गोलरक्षकमा पनि अन्जनासँगै पुलिसकी उषा नाथ र रौतहटकी रविता राई छन् । तीनै खेलाडी घरेलु फुटबलमा सिनियर टोलीका लागि पहिलो रोजाइबाट खेल्ने गर्छन् ।


प्रतियोगिताको तयारीका क्रममा यू–१८ टोलीले प्रारम्भिक छनोटमा रहेको सिनियर टोलीसँग केही मैत्रीपूर्ण प्रतियोगिता खेलेको छ । यसक्रममा सिनियर टोलीविरुद्ध बलियो प्रतिस्पर्धा नै हुँदै आएको छ । नेपालको स्तरमा हेर्ने हो भने नेपाली टोली निकै बलियो देखिन्छ । तर, अन्तर्राष्ट्रिय स्तरमा भने नेपालको यू–१६ टोलीले गरेको फितलो प्रदर्शनले सोच्न बाध्य बनाएको छ ।


बंगलादेशले पछिल्लो समय महिला फुटबलमा गरेको लगानी टोलीको सुधारिएको प्रदर्शनले स्पष्ट पार्छ । सिनियर टोलीमा लगातार सुधार गरेको बंगलादेशले उमेर समूहमा यू–१६ तर्फ एएफसी च्याम्पियनसिपमा छनोट हुन सफल रह्यो । सोही टोलीका एक दर्जन बढी खेलाडी सामेल गर्दै यू–१८ मा पनि बंगलादेशले सोही किसिमको तयारी गरेको छ । उद्घाटन खेलमा नेपालले शुक्रबार पाकिस्तानविरुद्ध खेल्नेछ भने दोस्रो खेलमा मंगलबार बंगलादेशको सामना गर्नेछ ।

प्रकाशित : आश्विन ११, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?