कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

पीपीएल अक्सन: पारस र शरदको अनुभवी टोली

७ खेलाडीलाई सर्वाधिक रकम

काठमाडौँ — राष्ट्रिय टोलीका कप्तान पारस खड्का र शरद भेषावकरले आफ्नो अनुभवको पोखरा प्रिमियर लिग (पीपीएल) को अक्सनमा भरपूर सदुपयोग गरेका छन् ।

पीपीएल अक्सन: पारस र शरदको अनुभवी टोली

जसले मार्की खेलाडी रहेका यी दुईको टोलीलाई क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा कात्तिक ९ गतेदेखि २० सम्म पोखरामा हुने फ्रेन्चाइज लिग क्रिकेटमा बलियो बनाएको छ ।


आइतबार अक्सनमा शरद मार्की खेलाडी रहेको पोखरा पल्टनले विनोद भण्डारी, रोहितकुमार पौडेललाई अधिकतम २ लाख ५० हजार रुपैयाँ भाउ लगाएको थियो । विनोदले १ लाख ५० हजार र रोहितले १ लाख आफ्नो बेस प्राइस राखेका थिए । विनोदलाई ४ र रोहितलाई सबै ६ टोलीले भाउ लगाएपछि गोलाप्रथामा उनीहरू पोखरामा पुगेका थिए । नेपालमा पहिलो पटक अक्सनमा खेलाडीले आफ्नो भाउ आफंै राख्न पाउने नियम बनाइएको थियो ।


पोखराले अक्सनबाट लिएका खेलाडीमा ललितनारायण राजवंशी, महबुब आलम, कुशल भुर्तेल, विक्रम भुसाल, कृष्ण कार्की, रसिद खान, आसिफ शेख, दिव्यांशु मलिक र इशान पाण्डे छन् । पोखरा पल्टनका मार्की खेलाडी शरद भेषावकर अक्सनपछि सन्तुष्ट थिए । ‘हामीले चाहेको ६०–७० प्रतिशत खेलाडी लिन सफल भयौं, त्यसैले अक्सनले हामीलाई खुसी बनाएको छ,’ शरदले कान्तिपुरसँग भने ।


अक्सनमा खेलाडीको न्यूनतम भाउ ३० र अधिकतम २ लाख ५० हजार राखिएको थियो । ७ खेलाडीलाई अधिकतम २ लाख ५० हजारको भाउ लागेको थियो । त्यसमा अनिलकुमार शाह, करण केसी, आरिफ शेख र शक्ति गौचन गरी ४ खेलाडी पारस सम्मिलित चितवन राइनोजले लिएको थियो । चितवनको टोलीमा भुवन कार्की, रामनरेश गिरी, सुमित महर्जन, सोनु तामाङ, विनोद लामा, हरिशंकर शाहलगायत खेलाडी छन् ।

खेलाडीमाथि बोली लगाउँदै काठमाडौं रोयल्सका मालिक युक्ति गोल्छा ।तस्बिर : हेमन्त श्रेष्ठ


९ खेलाडी लिने क्रममै १२ लाख ८० हजार रुपैयाँ सकाएपछि चितवनले पेनाल्टी तिर्नुपरेको थियो । एउटा टोलीले अधिकतम १३ लाख खर्च गरेर अक्सनबाट कम्तीमा १० खेलाडी र बढीमा १३ खेलाडी लिनैपर्ने थियो । शक्ति गौचनले आफ्नो बेस प्राइस २ लाख १० हजार राखेका थिए । उनीमाथि कुनै टोलीको भाउ लागेन । त्यसपछि लिलामी नभएका खेलाडीबाट चितवनले २५ प्रतिशत पेनाल्टी तिर्दै शक्तिलाई लिँदा २ लाख ६२ हजार ५ सय तिर्नुपरेको थियो । चितवनले अक्सनमा सबैभन्दा बढी १४ लाख ९० हजार खर्च गरेको थियो ।


सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगर टाइटन्सले दीपेश श्रेष्ठ, साहव आलम, जितेन्द्र मुखिया, राजेश पुलामी, किशोर महतो, पुष्प थापा, प्रदीप ऐरी, राजु रिजाल, जितेन्द्रसिंह ठकुरी, सुनील धमला, रविन जोशी र हिमांशु दत्तलाई लिएको छ । उपलब्ध सबै १३ लाख खर्च गरेको विराटनगरले प्रदीप ऐरीमाथि २ लाख ४० हजार र सुनील धमलामाथि २ लाख २० हजार भाउ लगाएको थियो ।


पोखरासँगै बुटवल ब्लास्टर्सले १२ लाख ९० हजार खर्च गर्‍यो । बुटवलमा मोहम्मद सम्साद शेख, सिद्धान्त लोहनी, हरिबहादुर चौहान, ललितसिंह भण्डारी, शंकर राना, पुरन विक, सागर पुन, हासिम अन्सारी, भीम सार्की, प्रकाश केसी, अविनाश बोहरा, नितेश थापा र विपिन खत्री छन् । सोमपाल कामी मार्की खेलाडी रहेको बुटवलले सागर पुनलाई २ लाख ५० हजार, ललितसिंह भण्डारीलाई २ लाख र सिद्धान्त लोहनीलाई १ लाख ६० हजारमा लिएको थियो ।


हुलास काठमाडौं रोयल्सले वसन्त रेग्मीलाई अधिकतम २ लाख ५० हजार भाउ लगाउँदै आफ्नो टिममा लियो । ज्ञानेन्द्र मल्ल उपकप्तान रहेको काठमाडौंमा पवन सर्राफ, सुसन भारी, पृथु बाँस्कोटा, अमरसिंह राउटेला, आदिल खान, नरेश बुढाऐर, नन्दन यादव, अमित श्रेष्ठ र सुमित झालगायत खेलाडी छन् । नरेशमाथि २ लाख ३० तथा पवन, सुसन र अमितमाथि १ लाख ५० हजार भाउ लागेको थियो ।


दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको धनगढी ब्लुजले मञ्जित श्रेष्ठ, योगेन्द्रसिंह कार्की, सन्तोष भट्ट, रोविन क्षेत्री, सन्दीप सुनार, कमलसिंह ऐरी, दिलीप नाथ, सागर ढकाल, सन्दीप जोरा, फिर्दोस अन्सारी, सौरभ खनाल, विक्रम ठगुन्ना र सन्दीप रजालीलाई लिएको छ । टोलीले दिलीपलाई २ लाख ४० र कमललाई लिन १ लाख ५० हजार तिरेको थियो ।


अक्सनलाई १ सय ७८ खेलाडीले आवेदन दिएका थिए । खेलाडीलाई तीन समूहमा विभाजित गरी अक्सन गराइएको थियो । राष्ट्रिय टोली, नेपाली युवा टोली र अनक्याप्ड गरी तीन समूहमा छुट्याइएको थियो । राष्ट्रिय टोलीका अनुभवी मञ्जित श्रेष्ठ र महबुबले आफ्नो बेस प्राइस ५० हजार राखेका थिए । महबुब १ लाख ६० हजारमा लिलामी भएका थिए ।

प्रकाशित : आश्विन १५, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?