कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

बंगबन्धु कप फुटबल: स्पष्ट जितको खाँचो

चोटको समस्यामा नेपाल
सुबास हुमागाईं

काठमाडौँ — बंगबन्धु कप फुटबलको डिफेन्डिङ च्याम्पियन नेपाल शनिबार प्यालेस्टाइनविरुद्ध समूहको अन्तिम खेलमा मैदान उत्रँदा प्रतियोगितामा टिक्न टोलीसामु जितको विकल्प रहने छैन । समूहको पहिलो खेलमा ताजकिस्तानसँग २–० ले पराजित भएपछि नेपालको सुरुआत कमजोर भयो ।

बंगबन्धु कप फुटबल: स्पष्ट जितको खाँचो

बिहीबार प्यालेस्टाइनले ताजकिस्तानलाई २–० ले नै हराएपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना कठिन बनेको हो ।


पहिलो खेलमा नतिजा त नेपालको पक्षमा रहेन नै, चोटका कारण टोली थप समस्यामा परेको छ । ताजकिस्तानविरुद्धको खेलमा नेपालको पहिलो रोजाइका चार खेलाडी घाइते भए । तीन डिफेन्डरलाई त परिवर्तन नै गर्नुपरेको थियो । मिडफिल्डर नीराजन खड्का काँधको चोटका बाबजुद अन्तिम मिनेटसम्म पनि मैदानमा डटिरहे । त्यसबाहेक डिफेन्डरत्रय विराज महर्जन, अनन्त तामाङ र आदित्य चौधरी चोटका कारण मैदान छाड्न बाध्य भएका थिए ।


पहिलो हाफमा कप्तान विराजको घुँडाको चोट लागेपछि सुमन अर्याल उनको स्थानमा मैदान छिरेका थिए । दोस्रो हाफमा आदित्य पनि घाइते भए र देवेन्द्र तामाङले उनको स्थान लिए । लगत्तै अनन्तको ह्यामस्ट्रिङमा समस्या आएपछि प्रशिक्षक बालगोपाल महर्जनले फरवार्ड भरत खवासलाई मैदानमा पठाए । नेपालले अन्तिम २० मिनेट दिनेश राजवंशीलाई सेन्टर डिफेन्स र मिडफिल्डर तेज तामाङलाई राइट ब्याक पोजिसनमा खेलाएको थियो ।


प्रशिक्षक बालगोपाल महर्जनले दुई डिफेन्डरको फिटनेसबारे निर्णय हुन बाँकी रहे पनि अन्य खेलाडी तयार रहेको बताए । ‘हामीले तयारी राम्रो गरेका छौं । दुई डिफेन्डर चोटका कारण केही समस्यामा छन् । बेन्चमा उचित विकल्प तयार रहेकाले चिन्ता लिनुपर्ने देख्दिनँ,’ उनले भने, ‘हामी सक्दो राम्रो प्रदर्शन गर्दै अर्को चरण पुग्ने प्रयासमा हुनेछौं ।’


टोलीका एथलेटिक ट्रेनर विवेक अधिकारीले चोटमा लगातार सुधार भइरहेको बताए । आदित्यको चोट त्यति जटिल नभएकाले उनले पहिलो रोजाइमै खेल्नेछन् । अनन्त र विराजको हकमा भने प्रशिक्षकले खेलअघि फिटनेसको स्थिति हेरेर निर्णय लिनेछन् । नेपालले प्यालेस्टाइनविरुद्ध दिनेश, आदित्य, देवेन्द्र र सुमनको युवा समूहलाई रक्षापंक्तिको जिम्मेवारी दिने सम्भावना बढी छ ।


पहिलो खेलमा ताजकिस्तान हावी भए पनि कप्तान विराज प्यालेस्टाइनविरुद्ध सुधारिएको खेल प्रदर्शन गर्ने बताउँछन् । ‘हामीले प्यालेस्टाइनको खेल हेर्‍यौं र शारीरिक रूपमा टोली हामीभन्दा बलियो छ । हामीले पहिलो खेलपछि राम्रो तयारी गरेका छौं । उपाधि रक्षा गर्न जोसका साथ मैदानमा उत्रन्छौं,’ उनले भने ।


यस्तै प्यालेस्टाइनविरुद्ध गोलरक्षकमा पनि डेब्युको सम्भावना रहन सक्छ । पछिल्लो खेलमा विकेश कुथुले अपेक्षित प्रदर्शन गर्न नसक्दा टोलीमा केही परिवर्तन हुने सम्भावना रहेको छ । वैकल्पिक खेलाडीका रूपमा रहेका एलन न्यौपाने र विशाल श्रेष्ठ दुवैले अहिलेसम्म सिनियर टोलीबाट खेलेका छैनन् । घरेलु फुटबलमा एलन थ्रीस्टार र विशाल मनाङसँग आबद्ध छन् ।


नेपाली राष्ट्रिय फुटबल टोली डिफेन्डिङ च्याम्पियनको हैसियतमा बंगबन्धु कपमा सहभागिता जनाउन गत साता बंगलादेश गएको थियो । जाने अघिल्लो दिनसम्म पनि खेलाडी क्लबबाटै खेलिरहेका थिए । अधिकांस खेलाडी बिहान क्लबको प्रशिक्षण गर्थें भने दिउँसो राष्ट्रिय टोलीको । ५ वर्षपछि सुरु भएको राष्ट्रिय लिगलाई दोस्रो खेलमा रोक्दै एन्फाले टोलीलाई उपाधि रक्षाको लागि ढाका पठाएको हो । यसक्रममा टोलीका सबै २० खेलाडी सामेल गरेर प्रशिक्षण गर्ने वातावरण बनेको थिएन ।


उपाधि दाबेदारका रूपमा प्रतियोगितामा प्रवेश गरेको टोली समूह चरणबाट बाहिरिने डर उत्तिकै छ । नेपाललाई अर्को चरणमा पुग्ने सम्भावना जीवित राख्न प्यालेस्टाइनविरुद्ध २ गोल अन्तरले जित दर्ता गर्नुपर्नेछ । हार, बराबरी वा एक गोल अन्तरले जित हात पारे पनि नेपाल प्रतियोगिताबाट बाहिरिने छ । २–० को जित दर्ता गरे प्रतियोगिता नियमावलीअनुसार सेमिफाइनल पुग्ने टोलीको निर्णय हुनेछ ।

प्रकाशित : आश्विन २०, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?