राष्ट्रिय महिला भलिबल आजदेखि
बागलुङ — बाइसौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता मंगलबारदेखि गलकोटमा हुँदै छ । प्रतियोगिताका लागि प्रदेश १ बाहेक ६ प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टिम गलकोट आइपुगेका छन् ।
यस प्रतियोगिताबाट १८ खेलाडी र ६ वैकल्पिक खेलाडी छनोट भएर बन्द प्रशिक्षणमा जानेछन् । त्यसबाट छनोट टोलीले सन् २०१९ मा हुने साग खेलकुदमा भाग लिने नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङले बताए । प्रतियोगिता सकिएर छनोटमा खेलाडीलाई संघले आठौं राष्ट्रिय खेलकुद अवधिभर मात्र सम्बन्धित क्षेत्रमा छाड्ने उनले बताए । त्यसपछि फेरि बन्द प्रशिक्षणमै लैजाने तयारी छ ।
प्रतियोगिताका लागि गलकोट बहुमुखी क्याम्पसको मैदानमा दुईवटा कोर्ट बनाइएको छ । खेलाडी, प्रशिक्षक र पदाधिकारीलगायत दुई सय बढी पाहुना नगरमा प्रवेश गरिसकेको नगरप्रमुख भरत शर्मा गैरेले बताए । नगरपालिकाले यो प्रतियोगिताका लागि ८ लाख रुपैयाँ विनियोजन गरेको छ । ‘खेलको विकास गर्नैपर्छ भनेर केही सहयोग गरेका हौं,’ उनले भने, ‘वडा तहमा हुने अभियानका लागि पनि पहल गर्छौं ।’
पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमश: ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा उत्कृष्ट डिफेन्ड, सर्भर, सेटर, स्पाइकर र ब्लकरले जनही ५ हजार पुरस्कार पाउने छन् । बागलुङ जिल्ला भलिबल संघले स्थानीय आयोजकका रूपमा रहेको छ । यो प्रतियोगिताबाट जिल्ला र प्रदेशकै नाम रहने गरी काम गर्ने अध्यक्ष यामबहादुर श्रीसले बताए ।
लक्ष्य साग
नेपाल भलिबल संघले अर्को वर्ष हुने भनिएको साग खेलकुदलक्षित गरेर कार्यक्रम बनाएको छ । सागमा महिला भलिबलले कांस्य पदकमा जितेको इतिहास छ । ‘हामीले अबको साग जित्ने लक्ष्यले प्रशिक्षण रणनीति बनाएका छौं,’ गुरुङले भने, ‘लामो समय जनप्रतिनिधिविहीन हुँदा खेल क्षेत्र बढी प्रभावित भएको थियो, अब केही सुधार हुनेछ ।’ उनले हरेक स्थानीय तहबाट खेलमा केही बजेट विनियोजन हुन थालेकाले सुधारको अपेक्षा व्यक्ति गरे ।
हरेक वर्ष मन्त्री र पदाधिकारी फेरिँदा खेलको विकासले गति लिन नसकेको उनको टिप्पणी थियो । हरेकपल्ट सागमा आफूहरू भारत र श्रीलंकासँग पराजित भएको घटना अब दोहोरिन नदिने उपाध्यक्ष गुरुङले प्रतिवद्धता जनाए । ‘बारीको पाटामा खेलेर हामीले सागको उचाल्ने प्रयास गरिरहेका छौं,’ उनले भने, ‘अब हरेक प्रदेशमा बन्द प्रशिक्षण केन्द्र र हरेक जिल्ला तथा स्थानीय तहमा खुला प्रशिक्षण केन्द्र बनाउने अभियानपछि सुरु गर्दैछौं ।’
राज्यका हरेक तहले खेलकुदलाई प्राथमिकता राख्न सकेमा साग खेलकुदलगायत अन्तर्राष्टिय प्रतिस्पर्धामा नेपालले राम्रो उपलब्धि हासिल गर्ने उनको तर्क थियो ।
हाल पोखरामा निर्माण हुन लागेको आधुनिक रंगशाला र प्रशिक्षण केन्द्र निर्माणमा ढिलाइ भएकामा गुरुङले आक्रोश पोखे । ‘समयमा काम सक्ने भन्दा कमिशनका लागि ठेकेदार फेर्ने प्रवृत्ति अन्त्य नभए खेलको विकास र पूर्वाधार बन्दैन,’ उनले भने, ‘अब सबैको चासो खेलकुद विकासमा हुनुपर्छ ।’