१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सूर्य नेपाल गल्फ टुर : शिवरामको उपाधि नम्बर ४२

राजु घिसिङ

काठमाडौँ — पहिलो दिन २, दोस्रोमा ७ र तेस्रो दिन १० स्ट्रोकको अग्रता । त्यसैले अन्तिम चरणको प्रतिस्पर्धा बाँकी छँदै शिवराम श्रेष्ठले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि जित्ने लगभग पक्का भइसकेको थियो । त्यसैले उनले बिहीबार गोकर्ण गल्फ क्लबमा औपचारिकता पूरा गर्दै करिअरको ४२ औं उपाधि हात पारे ।

सूर्य नेपाल गल्फ टुर : शिवरामको उपाधि नम्बर ४२

‘तेस्रो दिन नै उपाधि होड समाप्त भइसकेको थियो,’ सूर्य नेपाल गल्फ टुर २०१८–१९ को पहिलो प्रतियोगिताको अन्तिम दिन बिहीबार तीन अन्डर ६९ स्कोर गरेका शिवरामले भने, ‘त्यसैले अन्तिम चरणमा मलाई कुनै दबाब थिएन । र, ४–५ अन्डर खेल्ने लक्ष्य बनाएर कोर्समा उत्रिएँ । ब्याक नाइनमा राम्रो गर्न नसक्दा तीन अन्डरमात्र खेल्न सकें ।’ उनले ७२ होलको प्रतियोगितामा १५ अन्डर २ सय ७३ स्कोर गरे । पार ७२ को गोकर्ण गल्फ क्लबमा उनले पहिलो दिन ६८, दोस्रोमा ६७, तेस्रो र चौथो दिन समान ६९ स्ट्रोक खेलेका थिए ।


‘प्रतियोगिता १२–१३ अन्डरमा सिध्याउने लक्ष्य राखेको थिएँ । प्रदर्शन राम्रै भयो । र, १५ अन्डर खेले । खुसी लागेको छ,’ नवौंपल्ट सेन्ट्रल ओपनको ट्रफी चुमेपछि शिवरामले भने, ‘यस प्रतियोगिताको तयारीमा निकै मिहिनेत गरेको थिएँ । त्यसैले नतिजा पनि राम्रै भयो ।’ उनले सूर्य नेपाल गल्फ टुर सन् २००८–०९ मा सुरु भएयता दुईपल्ट (२००९–१० र २०१५–१६) मात्र सेन्ट्रल ओपनको ट्रफी गुमाएका छन् ।


रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) का उनले हरेक दिन सुरुका नौ होलमा उत्कृष्ट प्रदर्शन गरे । तर, उस्तै प्रदर्शन पछिल्ला ९ होलमा दोहोर्‍याउन सकेनन् । यस्तोक्रम अन्तिम चरणमा पनि कायमै रह्यो । उनले सुरुका नौ होलमा पाँच बर्डी गर्दै ५ अन्डर ३१ स्कोर गरे । होल १, ३, ५, ७ र ९ मा एक–एक शट जोगाएका उनी १२ र १५ औं होलमा भने बोगीमा परे । त्यसैले पछिल्ला ९ होलमा उनको स्कोर २ ओभर ३८ रह्यो ।


कुल ६ लाख ६६ हजार ४ सय ९८ रुपैयाँ पुरस्कारको प्रतियोगितामा शिवरामले १ लाख २० हजार हात पारे । सूर्य नेपाल मास्टर्स (२०१४) सहित व्यावसायिक गल्फमा ४२ औं उपाधि जितेका सर्वाधिक सफल यी नेपाली गल्फरले अघिल्लो सिजन (२०१७–१८) मा पाँच उपाधि (घनश्याम गोल्डेन जुब्ली, सेन्ट्रल ओपन, इस्टर्न ओपन, एनपीजीए म्याच प्ले र गल्फर पाइलट्स) जितेका थिए ।


भुवन उपविजेता

गोकर्णका प्रो भुवन नगरकोटीले उपाधि होडमा शिवरामलाई चुनौती दिन सकेनन् । तर, दोस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा उनले अरु गल्फरको कडा चुनौती पनि सामना गर्नुपरेन । उनले अन्तिम दिन १ ओभर ७१ खेल्दै कुल तीन अन्डर २ सय ८५ स्कोरमा प्रतियोगिता पूरा गरेर ७७ हजार रुपैयाँ प्राप्त गरे । उनले सुरुका नौ होलमा २ अन्डर ३४ र पछिल्ला ९ मा १ ओभर ३९ खेलेका थिए ।


अन्तिम चरणमा ३ ओभर ७५ खेलेका आर्मीका धनबहादर थापा (५ ओभर २९३) तेस्रोमा रहे । उनको भागमा ५५ हजार रह्यो । दुई ओभर ७४ को कार्ड बनाएका रामकृष्ण श्रेष्ठ (१२ ओभर ३ सय) ले व्यावसायिक गल्फ करिअरकै सबैभन्दा राम्रो नतिजा (चौथो स्थान) हासिल गर्दै ४३ हजार प्राप्त गरे । अन्तिम चरणमा ७० शट खेलेका भेट्रान प्रो दीपक मगर (१४ ओभर ३०२) शीर्ष पाँचमा अटाए । उनले ३५ हजार हात पारे ।


पार ३ को पाँचौं होलमा ‘होल इन वान’ गरेका कृष्णमान राजवाहकसहित रामे मगर, विकास अधिकारी (सबै १५ ओभर ३०३), रवि खड्का (१६ ओभर ३०४) र शिवकुमार माझी (१७ ओभर ३०५) शीर्ष दसमा रहे ।


‘फाइनल ग्रुप’ मा रहेर अन्तिम दिन चार ओभर ७६ खेलेका टासी छिरिङ एमेच्योरतर्फ पहिलो भए । उनको कुल स्कोर ४ ओभर २ सय ९२ रह्यो । एमेच्योरतर्फ उनका भाइ वान्चेन ढोन्डुप (८ ओभर २९६) उपविजेता भए । वान्चेनले अन्तिम चरणमा ३ ओभर ७५ खेलेका थिए ।


प्रोफेसनल गल्फर्स एसोसिएसन अफ नेपाल (एनपीजीए) ले सूर्य नेपाल गल्फ टुरको ११ औं सिजनमा ९ प्रतियोगिता आयोजना गर्नेछ, जसको पुरस्कार ५५ लाख रुपैयाँ बढी छ । यो सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन २८ अक्टोबरदेखि आरएनजीसीमा हुनेछ ।

प्रकाशित : आश्विन २६, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?