२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

ए डिभिजन लिग : मनाङको तीन गोल

कान्तिपुर संवाददाता

काठमाडौँ — माथिल्लो श्रेणीमा आठ वर्षपछि फर्किएको ब्रिगेड ब्वाइज क्लबले शुक्रबार सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७५ मा सनसनीपूर्ण सुरुआत गर्‍यो ।

ए डिभिजन लिग : मनाङको तीन गोल

उसले रजत तिवारीको उत्कृष्ट गोलसँगै २८ औं मिनेटमै अग्रता लियो । तर, त्यो गोल डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदीलाई रोकेर स्तब्ध पार्न पर्याप्त भएन । दोस्रो हाफमा आक्रामक खेल्दै मनाङले तीन गोल गरेर ३ अंकसहित उपाधि रक्षाको अभियान थालेको छ ।


ब्रिगेड ब्वाइज राजधानीको ए डिभिजन लिगबाट २०६८ सालमा स्वयम्भू, युनाइटेड र कोइलापानीसँगै रेलिगेसनमा परेको थियो । चार वर्षपछि बढुवा हासिल गर्दै ब्रिगेड ब्वाइज ए डिभिजनमा फर्किएको थियो । तर, २०७० सालपछि ए डिभिजन लिग यसैपालि पुन: सुचारु भयो । त्यसैले मनाङलाई उपाधि रक्षाको अभियान थाल्न ५ वर्ष प्रतीक्षा गर्नुपर्‍यो भने ब्रिगेड ब्वाइजले पनि फेरि माथिल्लो श्रेणीको लिग खेल्न तीन वर्ष धैर्य गर्नुपर्‍यो ।


मिडफिल्डर रजतले करिब २८ यार्डबाट प्रहार गरेको बलले लोभलाग्दो गोलको रूप लिएपछि ब्रिगेड ब्वाइजले अविश्वसनीय अग्रता लिएको थियो । त्यसमा मनाङका गोलकिपर विशाल राईको केही सीप चलेन । पहिलो हाफमा ललितपुरे टिमले खुलेरै खेल्यो । केही अवसर पनि बनायो । तर गोल थप्न भने सकेन । स्टार खेलाडीले भरिएको र दुई अफ्रिकी फरवार्डको साथ पाएको मनाङले भने सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा स्वाभाविक खेल देखाउन सकेन । त्यसैले पहिलो हाफमा ब्रिगेड ब्वाइज १–० ले अगाडि रह्यो ।


दोस्रो हाफको पहिलो मिनेटमै मिडफिल्डर हेमन गुरुङ सफल रहे । उनले करिब ३८ यार्डबाट प्रहार गरेको बलले ‘डिफ्लेक्ट’ हुँदै जाली चुम्न पुगेपछि मनाङ १–१ को बराबरीमा पुगेको थियो । त्यसपछि ब्रिगेड ब्वाइजले रक्षात्मक रणनीति अंगाल्यो र मनाङ आक्रामक देखियो । हेमन, विशाल राईले नरन्तर अवसर पनि सिर्जना गरे । तर, अफ्रिकी मूलका फरवार्डद्वय ओलावाले आफिज र एडेलेजा सोमिडेको ‘फिनिसिङ’ सन्तोषजनक रहेन ।


विगतमा पनि सहिद स्मारक ए डिभिजन लिगमा प्रभावशाली प्रदर्शन गरिसकेका फरवार्ड आफिजले ५७ औं मिनेटमा डिफेन्डर प्रवेश कुँवरले क्लियर गरेको बललाई ‘सेकेन्ड बार’ च्याप्दै गोलमा परिणत गरेपछि मनाङले २–१ को अग्रता लियो ।


उनले इन्ज्युरी समयको तेस्रो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै मनाङको जित पक्का गरे । त्यो गोल ब्रिगेड ब्वाइजमा सब्स्टिच्युट गोलकिपर लक्की कार्कीको गम्भीर भूलमा सम्भव भएको थियो । हेमनको प्रहारमा बल पञ्च गर्दा पहिलो रोजाइका गोलकिपर सागर राय घाइते भएपछि लक्कीले गोलपोस्ट सम्हाल्ने अवसर पाएका थिए ।

‘प्रदर्शन सोचेअनुसार भएन,’ मनाङका प्रशिक्षक सुमन श्रेष्ठले भने, ‘अझै सेट (टिम) नमिलेजस्तो महसुस भयो । मनाङको पहिलो खेल यस्तै भइरहेको छ ।’


प्राविधिक कारण नाइजेरियाली प्रशिक्षक तोपे फुजाको अनुपस्थितिमा ‘टचलाइन’ सम्हाल्ने अवसर पाएका उनले थपे, ‘३–४ गोलले सजिलै जित्ने सोचेको थिएँ तर गाह्रै भयो । सेन्टर मिडफिल्डर चलेनन् । दुवै विदेशी फरवार्डले पनि सोचेजस्तो खेलेनन् । दोस्रो हाफमा ब्रिगेड ब्वाइजले रक्षात्मक खेल्दा हामीलाई सजिलो भयो ।’ विराज महर्जनसहित केही खेलाडी चोटग्रस्त भएकाले डिफेन्समा गाह्रो भएको पनि उनले बताए ।


ब्रिगेड ब्वाइजका प्रशिक्षक उज्जन श्रेष्ठले भने, पराजित भए पनि टिमको प्रशंसा गरे । ‘तीन–चार सिनियर खेलाडी भए पनि अरु सबै यू–१७ हुन् । यस्तो टिमले पनि मनाङसँग राम्रो खेल्यो । दोस्रो हाफमा १० मिनेट रोक्न सकेको भए अझ राम्रो हुन्थ्यो ।’ रक्षात्मक खेलमा जोड दिएका उनले खेलाडीमा अनुभवको कमी देखेको पनि बताए ।


दिनको पहिलो खेलमा हिमालयन शेर्पा र एपीएफ क्लबले गोलरहित बराबरी नतिजा निकाले । दुवै टिमको प्रदर्शन फितलो हुँदा खेल निरासाजनक बनेको थियो । मनाङ र ब्रिगेड ब्वाइजको खेलसँगै यो सिजन पहिलो चरणको खेल पूरा भयो । पहिलो खेल जिते पनि गोलअन्तरका आधारमा संकटा, थ्रीस्टार, पुलिसलाई उछिन्दै मनाङ शीर्षस्थानमा रह्यो । ‘दसैं ब्रेक’ पछि लिगको दोस्रो चरण सुचारु हुनेछ ।


हिमालयन शेर्पा ०–० एपीएफ

ब्रिगेड ब्वाइज १–३ मनाङ


प्रकाशित : आश्विन २६, २०७५ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?