१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

सरस्वती र एपीएफको लय

प्रकाश बराल

बागलुङ — महिला भलिबलको घरेलु प्रतियोगिता हुनासाथ फाइनल यात्रा तय गर्ने सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सरस्वती चौधरी परिचित नाम हो  । बाइसौं राष्ट्रिय भलिबल प्रतियोगितामा पनि उनले आफ्नो टिमलाई फाइनल पुर्‍याएरै छाडिन्  ।

सरस्वती र एपीएफको लय

शुक्रबार सम्पन्न सेमिफाइनलमा एपीएफले प्रदेश ५ लाई सोझो सेटमा पराजित गर्‍यो । रोमाञ्चक खेल भए पनि प्रदेश ५ एपीएफसामु टिक्न सकेन ।


सरस्वतीको उचाइ र टिमको अग्लो कदले एपीएफको फाइनल यात्रा सहज भएको हो । ‘हामीले अझै धेरै कुरा सुधार गर्नुपर्छ । घरेलु मैदान र राष्ट्रिय खेलको सफलतामा ढुक्क हुने अवस्था छैन,’ उनले भनिन्, ‘अन्तर्राष्ट्रिय टुर्नामेन्टमा हामीले ब्लक र साइटमा सुधार गर्न जरुरी छ ।’ ६ फिट अग्ली सरस्वतीले विदेशी खेलाडीमाझ नेपालीहरू अझै होचो भएको बताइन् ।


मुख्य स्पाइकर सरस्वतीसहितको टिमले गलकोटमा पनि उत्कृष्ट खेल प्रर्दशन गरेको छ । सदरमुकामदेखि ५० किमी पश्चिमको हटियास्थित गलकोट बहुमुखी क्याम्पसको कोर्टमा एपीएफले लगातार जित कायम राख्यो । अपराजित यात्रामा एपीएफ फाइनलको सशक्त दाबेदार बनेको हो । शुक्रबारै अर्को खेलमा आर्मीले पुलिसको सामना गरेको थियो । फाइनल जित्ने लक्ष्य राखेकी सरस्वती सातपल्ट उत्कृष्ट खेलाडी घोषित भइसकेकी छन् । उनले २०७० को पल्सर स्पोर्ट्स अवार्ड, ढोरपाटन डबल लिगलगायतमा अवार्ड जितेकी छन् ।


घरेलु प्रतियोगितामा उत्कृष्ट भएर फुर्कने बेला नभएको उनको टिप्पणी थियो । ‘अब हामी लामो समयसम्म बन्द प्रशिक्षणमा बस्नैपर्छ,’ उनले भनिन्, ‘साग जित्ने प्रमुख लक्ष्यसाथ हामी होमिने बेला आएको छ ।’ सशक्त प्रतिद्वन्द्वी भारतलाई जित्न मनोवैज्ञानिक र शारीरिक तन्दुरुस्ती चाहिने उनले सुनाइन् । ‘हामी अझै पनि खेतबारीमा अभ्यास गर्छौं । उनीहरू सुविधासम्पन्न हलमा प्रशिक्षण गरिरहेका छन्,’ उनले भनिन्, ‘खेलाडी आफैं पनि अनुशासित हुन सक्रिय हुनुपर्छ ।’ एपीएफ तुलनात्मक अनुशासित टिम भएको उनले दाबी गरिन् ।


धनगढीकी सरस्वतीले २०६४ सालदेखि पश्चिमाञ्चल र पोखराका विभिन्न रहेरमा खेलेकी थिइन् । ५ वर्षयता एपीएफमा अनुबन्धित भएपछि उनले आफ्नो टिमलाई सधैं अब्बल साबित गराएकी छन् । ‘मेरो मात्र योगदान होइन, एपीएफ टिमका सबै खेलाडीको अनुशासन र नियमित अभ्यासले यो सफलता मिलेको हो,’ उनले भनिन्, ‘नेपालका सबै टिममा यस्तै अनुशासन आवश्यक छ ।’

उनको खेलबाट प्रशिक्षक, राष्ट्रिय र जिल्ला भलिबल सघका पदाधिकारीसमेत प्रभावित छन् । ‘सरस्वती नेपालकी प्रतिभाशाली खेलाडी हुन्,’ राष्ट्रिय भलिबल संघका वरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङले भने, ‘राज्यले खेलमा लगानी बढाएर गाउँगाउँबाट खेल जागरण थाल्नुपर्छ ।’ गलकोटमा भएको प्रतियोगितामा आएका खेलाडीले नियमित खेलबाहेक यहाँका ऐतिहासिक, पर्यटकीय र धार्मिकस्थलको भ्रमणसमेत गरेका थिए ।


एपीएफको प्रतिद्वन्द्वी पुलिस
एपीएफको प्रतिद्वन्द्वीमा नेपाल पुलिस क्लब रहेको छ । शनिबार फाइनल हुनेछ । शुक्रबार पहिलो सेमिफाइनलमा एपीएफले प्रदेश ५ लाई २५–१०, २५–१५, २५–१९ को सोझो सेटमा हराएको थियो ।


दोस्रो खेलमा नेपाल पुलिसले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई पनि सोझो सेटमै हराएको हो । पुलिसले २८–२६, २५–१५, २५–१४ को सेटमा सफललता पायो । विगतको सशक्त टोली पुलिस घरेलु भलिबलमा लामो समयपछि राष्ट्रिय प्रतियोगिताको फाइनल पुगेको हो ।


शनिबारै तेस्रो स्थानका लागि आर्मी र प्रदेश ५ भिड्ने छन् ।

प्रकाशित : आश्विन २७, २०७५ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?