कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

एपीएफ राष्ट्रिय च्याम्पियन

प्रकाश बराल

बाग्लुङ — एपीएफ क्लबले बाइसौं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ  । गलकोट बहुमुखी क्याम्पसको कोर्टमा शनिबार सम्पन्न फाइनलमा सशस्त्र प्रहरीको एपीएफ विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै राष्ट्रिय च्याम्पियन भएको हो  ।

एपीएफ राष्ट्रिय च्याम्पियन

एपीएफले २५–२०, २५–१५, २५–२३ को सेटमा नतिजा निकालेको थियो । घरेलु प्रतियोगितामा लामो समयपछि फाइनल पुगेको पुलिसले कडा चुनौती पेस गरे पनि उपाधि हत्याउन भने सकेन ।

च्याम्पियन एपीएफले ७० हजार र उपविजेताले पुलिसले ५० हजार रुपैयाँ पुरस्कार पाए । शनिबारै तेस्रो स्थानको खेलमा त्रिभुवन आर्मीले प्रदेश ५ लाई सोझो सेटमा हरायो । आर्मीले २५–१२, २५–९, २५–१२ को नतिजा निकाल्यो । आर्मीले ३० हजार पुरस्कार पायो ।

प्रतियोगितामा एपीएफकी सरस्वती चौधरी सर्वोकृष्ट खेलाडी घोषित भइन् । उनले नियमित प्रशिक्षण र सबैको मिहिनेतका कारण उपाधि जित्न सकेको बताइन् । सर्वोकृष्ट बन्नुमा पनि आफ्नो उत्तिकै मिहिनेत रहेको बताइन् । ‘हामीले खेलमात्र नभई आफ्नो टिमलाई सधैं अनुशासित र चलायमान बनाउन जरुरी छ,’ उनले भनिन्, ‘अब यो उत्कृष्टताको परिणाम साग प्रतियोगितामा पनि देखाउने बेला आएको छ ।’

उनले १० हजार नगद पुरस्कार पाइन् । डिफेन्समा एपीएफकी मनीषा तामाङ, ब्लकरमा एपीएफकै हीरा केसी, सेटरमा पुलिसकी कमला पुन र सर्भरमा पुलिसकै कोपिला राना तथा स्पाइकरमा आर्मीकी निरुता ठगुन्ना उत्कृष्ट खेलाडी घोषित भए । सबैले जनही ५ हजार रुपैयाँ पाए ।

नेपाल भलिबल संघको सहयोगमा बागलुङ जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिताबाट राष्ट्रिय टोलीका लागि खेलाडी छनोट गरिने संघका वरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङले बताए । ‘सदरमुकामदेखि ५० किमि पश्चिमको गलकोटमा भएको प्रतियोगिता गलकोट नगरपालिका, जिल्ला भलिबल संघ र स्थानीय खेलाडीले गरेको सहयोगबाट सफलतापूर्वक सम्पन्न भयो,’ उनले भने, ‘ग्रामीण क्षेत्रमा भए पनि खेललाई माया गर्ने साथीहरू पाइयो, यो नै हाम्रो सफलता हो ।’ ग्रामीण क्षेत्रमा यस प्रतियोगिताले खेल पर्यटनको विकासमा थोरै भए पनि योगदान गरेको उनको ठम्याइ छ । फाइनल खेल हेर्न झन्डै १० हजार दर्शक उपस्थित थिए ।

प्रकाशित : आश्विन २८, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?