फुटसलमा युवासँगै पाकाको आकर्षण

घनश्याम गौतम

रुपन्देही — ५ देखि ७ जनासम्मको टिम बनाएर खेलिने फुटसल खेलमा युवासँगै पाका पुस्ताको समेत आकर्षण बढो छ  । युवामा फुटबल खेलप्रतिको अभ्यास र पाका पुस्तामा स्वास्थ्य र मनोरन्जनले खेलप्रतिको आकर्षण बढेको हो  ।

फुटसलमा युवासँगै पाकाको आकर्षण

रूपन्देहीका ४ युवाले झण्डै ९० लाख रुपैयाँको लगानीमा संचालनमा ल्याएको तिलोत्तमा ३, योगीकुटीको शान्तिचोकमा रहेको लुम्बिनी फुटसल एरिना प्रालिमा दैनिक ५० भन्दा बढी युवा र पाकाले खेल्ने गरेका छन् । संचालक स्वरूप सैंजुका अनुसार फुटसलमा १४ देखि ४० वर्ष उमेर समूहका नियमित जाने गरेका छन् । त्यसले पाकालाई स्वास्थ्यका लागि र युवालाई खेलप्रतिको उत्साह र अभ्यासका लागि सहज बनाएको छ ।

‘धेरै युवा भविष्यमा खेलाडी बन्ने गरी अभ्यास गर्न आउने गरेका छन्,’ उनले भने, ‘तर, स्वास्थ्यका लागि साँझ खेल्न आउनेको संख्या पनि दैनिक बढो छ ।’ लुम्बिनी फुटसल ०७१ देखि संचालनमा आएको हो । सुरुको वर्ष धेरै खेलाडी नआए पनि पछिल्ला वर्षमा नियमित खेल्ने र अभ्यास गर्नेको संख्या बढै गएको उनले बताए ।
४ कट्ठा जग्गामा ४० मिटर लम्बाइ र २० मिटर चौडाइसहितको इन्डोर मैदान निर्माण गरिएको छ । प्लास्टिक दूबो र रबरका टुक्रा राखिएको मैदानमा २०/२० मिनेटका दुई हाफ खेल खेल्ने गरिन्छ । फुटसल बल तुलनात्मक रूपमा कम उफ्रन्छ र आकार पनि सानो हुन्छ । एक घण्टा खेलेबापत एक टिमले संचालकलाई १ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । त्यसमा ४ बोतल पानी नि:शुल्क उपलब्ध हुन्छ । फुटबलका लागि रूपन्देही उर्वर भूमि मानिन्छ । त्यसले पनि फुटसल सञ्चालकलाई उत्साहित गराएको छ । तर, संचालक युवा भने आफैं खेलप्रति रुचि राख्ने भएकाले आम्दानीभन्दा पनि रमाइलोकै लागि खोलिएको बताउँछन् । फुटसलमा बिदाको दिन, शनिबार र बिहान साँझको समयमा नियमित भीड लाग्छ । त्यसबाट मासिक १ लाख २५ हजार रुपैयाँ आम्दानी हुन्छ । जग्गाको भाडा मासिक ३० हजार रुपैयाँ छ ।

विभिन्न स्कुल र क्याम्पसका विद्यार्थीबीच पनि फुटसल प्रतियोगिता हुने गरेको छ । प्रतियोगीका रूपमा खेल्दै गरेका सुनिल गौतमले फुटसल फुटवल खेलको विकास र स्वास्थ्य दुवैका लागि उपयोगी भएको बताए । शंकरनगर निवासी उनीसहित उनका ७ जना साथी बिदाको दिन नियमित फुटसल पुग्छन् । ‘हामीलाई सिक्न र रमाइलो दुवैका लागि उपयोगी भएको छ,’ उनले भने, ‘फुटसलमै खेलेर फुटबल सिकेका छौं ।’ फुटसल खेलाडीलाई छिटो सोच्ने र खेल्ने अभ्यासका लागि निकै उपयोगी छ । त्यसले पनि भविष्यमा फुटवल खेलमै करियर बनाउने लक्ष्य राखेका खेलाडीका लागि फुटसल उत्कृष्ट अभ्यास भएको उनले बताए ।

विश्वमा फुटसलको इतिहास पुरानो भए पनि नेपालमा भने सन् २०११ देखि खेल्न थालिएको हो । तर, छोटो समयमै फुटसलले औपचारिक मान्यता पाइसकेको छ । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटसल लिग सुरु गरेपछि यसको उपयोगिता र प्रयोग बढै गएको छ । हाल ब्राजिली राष्ट्रिय टोलीका महत्त्वपूर्ण खेलाडी कुनै समय फुटसल क्लबका सदस्य थिए । अहिलेका विश्व स्टार लियोनल मेसी, क्रिस्टियानो रोनाल्डोलगायत खेलाडीको खेलयात्रा पनि फुटसलबाटै भएको थियो ।

व्यवसायीबीच फुटसल प्रतियोगिता
रेस्टुरेन्ट व्यवसायीबीच भ्रातृत्व र एकता बढाउने उद्देश्यले बुटवलमा फुटसल प्रतियोगिताको आयोजना हुँदै छ । दसैंको अवसर पारेर गोर्खा ब्रुअरीको सहयोगमा प्रथम लाइम एन्ड लेमन अन्तर रेस्टुरेन्ट रनिङ सिल्ड फुटसल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता असोज २८ देखि ३१ गतेसम्म चल्नेछ ।लाइम एन्ड लेमनका संचालक सागर पौडेलले प्रतियोगिताको सबै तयारी पूरा भएको बताए । प्रतियोगिताको उपाधि विजेताले रनिङ सिल्डसहित नगद ५० हजार, प्रमाणपत्र, मेडल तथा उपविजेताले नगद २५ हजार नगदसहित प्रमाणपत्र, मेडल प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई कपसहित नगद ५ हजारका दरले पुरस्कृत गरिने उनले बताए ।

प्रतियोगिता योगीकुटीस्थित लुम्बिनी फुटसल एरिनामा हुने संयोजक शीत्तल शर्माले बताए । बुटवल उपमहानगरपालिका क्षेत्रका १४ रेस्टुरेन्ट व्यवसायीको टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । खेलको माध्यमबाट व्यवसायीमा भ्रातृत्व र एकता वृद्धि गर्ने प्रतियोगिताको उद्देश्य रहेको उनले बताए ।

प्रकाशित : आश्विन २८, २०७५ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?