कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

नेदरल्यान्ड्सविरुद्धको हारले लोमाथि दबाब

एएफपी

आम्सटर्डम — नेदरल्यान्ड्सविरुद्ध लज्जास्पद रूपमा ३–० ले हारेपछि शनिबार जर्मनीका प्रशिक्षक जोचिम लो राष्ट्रिय टिमसँगको १२ वर्षयताको करिअरमै सबभन्दा ठूलो संकटमा परेका छन्  । लिभरपुलका डिफेन्डर भिरभिजल भान डिकले डच टिमलाई पहिलो हाफमै अग्रता दिलाएका थिए  ।

नेदरल्यान्ड्सविरुद्धको हारले लोमाथि दबाब

अन्त्यतिर मेम्फिस डिपाय र जोर्जिनियो विज्नाल्डमले पनि गोल गर्दै आम्सटर्डमको योहान क्रुफ एरिनालाई डच टिमका लागि स्वर्णिम रात बनाएका थिए । विश्वकपमा खराब प्रदर्शन गरेर समूहको अन्तिम स्थानमा रहँदै बाहिरिएयता उठ्ने प्रयासमा रहेको जर्मनीका लागि यो कालो रात नै बन्यो ।


अब जर्मनी नेसन्स लिगको पनि समूह १ को पुछारमा रह्यो र प्रशिक्षक लोसामु मंगलबार विश्वकप विजेता फ्रान्सविरुद्ध पेरिसमा हार टार्ने मुख्य चुनौती हुनेछ । उनको भवियबारे पनि स्वदेशमा वादविवाद सुरु भएको छ ।


‘हो, म बुझछु त्यहाँ वादविवाद हुन्छ । यसलाई व्यवस्थापन गर्नुपर्छ,’ लोले भने, ‘अबका दुई दिन सार्वजनिक रूपमा वादविवाद गर्नुमा होइन, पेरिसमा फ्रान्सविरुद्ध हुने खेलको तयारीमा केन्द्रित गर्नेछु । यस्ता वादविवाद सामान्य हुन् । धेरै सामान्य ।’ उनले थपे, ‘हामीले फ्रान्सविरुद्ध आफ्नो विशेषता देखाउनुपर्छ । र, फर्केर घरेलु मैदानमा डच टिमविरुद्ध खेल जित्नुपर्छ अथवा हामी पछाडि परिनेछ ।’


प्रशिक्षक लोले नेदरल्यान्ड्सविरुद्धको खेलबारे भने, ‘हामीले राम्रा अवसर पाएका थियौं । तर, ती अवसरलाई उपयोग गर्न सकेनौं । त्यसलाई आत्मविश्वासका लागि राम्रोका रूपमा लिनुपर्छ । अन्त्यमा एकसाथ रहन सकेनौं र त्यो नै खराब रह्यो ।’


जर्मनीका पूर्वकप्तान माइकल बालाकले विश्वकपको पीडादायी प्रदर्शनपछि पनि लोको जागिर कायमै रहनुलाई आश्चर्य मान्दै डच टिमविरुद्धको हारले दबाब बढाएको बताएका छन् । फेरि एकपल्ट लोले सिनियर खेलाडीमा जित निकाल्ने विश्वास गरे । तर बायर्न म्युनिकका म्यानुएल नोय, जेरोमे बोएटेङ, म्याट ह्युमेल्स र थोमस मुलर असफल रहे । मुलर र दोस्रो हाफमा उनको स्थान लिएका म्यानचेस्टर सिटीका स्टार लेरोय साने स्पष्ट अवसरमै पनि असफल रहे ।


ह्युमेल्सले हारपछि पनि जर्मन जनताको समर्थन पाउने आशा व्यक्त गरे । ‘हामीलाई घाँटीसम्मै आइपुगेको छ । तर, हामी कसैलाई पनि दोष लगाउँदैनौं । हामी नै हौं,’ उनले भने, ‘वास्तवमै खेल जित्न सक्ने अवस्थाबाट पनि हामी ३–० ले हार्‍यौं । हामी धेरै दुर्भागी रह्यौं । यसमा कुनै एउटा खेलाडीलाई भन्न (दोष) मिल्दैन ।’


जर्मनीले पछिल्ला १९ खेलमै गोल बेहोरेको छ । ‘हामीले थोरै मात्र अवसर बनायौं । तैपनि हामी चाँडै अगाडि बढ्न सक्थ्यौं ।’ गोलकिपर तथा कप्तान म्यानुएल नोयले भने, ‘अन्त्यमा हामी धेरै नै खुला भयौं र गल्ती गर्न पुग्यौं ।’ उनले दोष खेलाडीमाथि नै थोपरे, ‘खेल्नुअघि हरेक खेलाडीले आफू खेल्नको लागि तयार भएको संकेत प्रशिक्षकलाई दिएका थिए ।’


रियल म्याड्रिडका मिडफिल्डर टोनी क्रुजले जर्मन टिमले पछाडि परेपछि आफ्नो संरचना नै गुमाएको बताए । ‘पहिलो ३० मिनेटपछि हामीले संरचना नै गुमायौं । तर, गोल नगरी घर फर्कनु गाह्रो हुन्छ,’ क्रुजले भने, ‘राम्रो काम गरेकोमा सम्मान पाउनुपर्छ र त्यस्तो भएन । हामी कायमै रहनुपर्छ । अर्को अवसर मंगलबार छ र त्यसमा राम्रो गर्ने पक्षमा केन्द्रित हुनुपर्छ ।’


डच टिमले जर्मनीमाथि १६ वर्षयता पहिलो जित रचेको हो । ‘कहिलेकाहीं भाग्यको पनि साथ चाहिन्छ । तर, हामी जितको हकदार थियौं । धेरै नजिकबाट प्रतिस्पर्धा गरेका थियौं र रक्षा पनि राम्रो गरेका थियौं,’ डच प्रशिक्षक रोनाल्ड कोएम्यानले भने, ‘यो नतिजा अविश्वसनीय रह्यो । विशेषत: जर्मनी त्यस्तो खराब पनि थिएन । जर्मनीलाई हराएको १६ वर्षपछि हामी प्रतिभावान युवा टिमको साथमा सही लयमा छौं ।’

यूईएफए नेसन्स लिग
शनिबारको नतिजा
लिग ए
समूह १
नेदरल्यान्ड्स ३–० जर्मनी
लिग बी
समूह १
स्लोभाकिया १–२ चेक रिपब्लिक
समूह ४
आयरल्यान्ड ०–० डेनमार्क
लिग सी
समूह ३
नर्वे १–० स्लोभेनिया
बुल्गेरिया २–१ साइप्रस
लिग डी
समूह १
लात्भिया १–१ कजाकिस्तान
जर्जिया ३–० एन्डोरा
सूमह ४
आर्मेनिया ०–१ ज्रिब्राल्टर
मेसेडोनिया ४–१ लिच्टेस्टाइन

प्रकाशित : आश्विन २९, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?