कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतको क्लिन स्विप

रोयटर्स

हैदराबाद — भारतले वेस्ट–इन्डिजलाई दोस्रो टेस्टमा तीन दिनभित्र १० विकेटले पराजित गर्दै दुई खेलको सिरिजमा ‘क्लिन स्विप’ गरेको छ  । उमेश यादवले घातक बलिङ गर्दै भारतको सजिलो जित निश्चित गरेका हुन्  ।

भारतको क्लिन स्विप

वेस्ट–इन्डिज कप्तान जेसन होल्डरले ५६ रनमा ५ विकेट लिएर भारतलाई पहिलो इनिङ्समा घरेलु टिमलाई एक समय ५६ रनको मात्र अग्रता दिएका थिए । त्यसयता खेल भारतको पक्षमा मोडियो र उसलाई जितका लागि ७२ रनको लक्ष्य मात्र तोकियो ।


प्रारम्भिक ब्याट्सम्यानद्वय पृथ्वी सव र लोकेश राहुल दुवै समान ३३ रन बनाएर नटआउट रहे । भारतको जित १६.१ ओभरभित्र सम्भव भएको थियो ।


वेस्ट–इन्डिज भारतको हातबाट टेस्टमा तीन दिनभित्र पराजित भएको यो लगातार दोस्रोपल्ट हो । उमेश दुईपल्ट ह्याट्रिकको अवसरमा पुगेर पनि चुके । उनले ४५ रन खर्चेर चार विकेट लिए । उनी एकै घरेलु टेस्टमा १० विकेट लिने कपिल देव र जवागल श्रीनाथपछि पहिलो भारतीय पेसम्यान भएका छन् ।


‘म उमेशका लागि निकै खुसी छु,’ भारतीय प्रशिक्षक रवि शास्त्रीले भने । उत्कृष्ट बलिङ गर्दै आएका उमेश अधिकांश समय भारतीय टिमका लागि ‘बेन्च’ को खेलाडी साबित भइरहेका छन् । ‘इंग्ल्यान्डविरुद्ध चारै खेलमा उनले खेल्न पाएनन् । कम्तीमा उमेश जत्तिको खेलाडीलाई यसले पक्कै पनि निराश पार्दो हो । यसपल्ट भने उनले घरेलु पिचमा अवसर पाए र आफूलाई सिद्ध गरे । उनले छनोटकर्तालाई तनावमा पुर्‍याएका छन् र यो राम्रो हो,’ शास्त्रीले थपे ।


भारतले तेस्रो दिनको खेल चार विकेट गुमाएर ३ सय ८ रनबाट सुरु गरेको थियो । रिसव पन्त ९२ रन बनाएर आउट भए । उनी लगातार दोस्रोपल्ट शतक बनाउनबाट चुके । अजिंक्या रहाने पनि शतक बनाउन असफल रहे । होल्डर र सनन ग्याब्रिएलले भारतलाई ३ सय ६७ रनमा सीमित पारेका थिए । रहानेले ८० रन बनाए र उनी होल्डरको सिकार बने । उनले नै रवीन्द्र जडेजालाई शून्यमा आउट पारे । रहानेले पन्तसँग मिलेर १ सय ५२ रनको साझेदारी गरे ।


बलरले जस्तो प्रदर्शन गरेका थिए, त्यस्तै मिल्दो प्रदर्शन वेस्ट–इन्डिजका ब्याट्सम्यानले गर्न सकेनन् । पाहुना टिमले निकै खराब सुरुआत लिएको थियो र प्रारम्भिक ब्याट्सम्यान जोडी क्रेग ब्राथवाइट र किरन पावेल दुवै शून्यमा आउट भए । पाहुना टिमका लागि सुनील एबब्रिसको ३८ रन नै सर्वाधिक रह्यो । ‘पक्कै पनि हाम्रो प्रदर्शन निराशाजनक रह्यो । हामीले सक्दो त प्रयास गरेका थियौं, तर भारतले उत्कृष्ट प्रदर्शन गरेको तथ्यलाई भुल्नुहुन्न,’ कप्तान होल्डरले भने ।

प्रकाशित : आश्विन २९, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?