२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

पीपीएलको प्रतीक्षा

दीपक परियार

लेखनाथ — सुनसानप्राय: हुने पोखरा रंगशालाको क्रिकेट मैदानमा यतिखेर हराभरा छ । पिचमा केही कामदार रोलर लगाइरहेछन् । कोही आउटफिल्डको लेभल मिलाइरहेका भेटिन्छन् । दर्शक बस्ने अस्थायी प्यारापिट थपक्क राखिएको छ । पोखरा प्रिमियर लिग (पीपीएल) को स्वागतमा पोखरा तम्तयार छ ।

पीपीएलको प्रतीक्षा

पोखरावासी कात्तिक ९ देखि २० सम्म हुने क्रिकेट कुम्भको प्रतीक्षामा छन् । आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले पनि पीपीएल तयारीलाई अन्तिम रूप दिँदै छ । अन्तर्राष्ट्रिय मापदण्डको मैदानमा चारवटा पिच निर्माण कार्य अन्तिम चरणमा छ । आउटफिल्डको डिजाइन मात्रै बाँकी छ । डिजाइन तयार गर्न सोमबार विज्ञ टोली पोखरा आउँदै छ ।


क्विन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बी लामा डिजाइन गरेपछि मात्रै मैदानको अन्तिम स्वरुप आउने बताउँछन् । उनका अनुसार तीन अस्थायी प्यारापिटमा ४ हजार ५ सय दर्शक अट्छन् । स्कोर बोर्ड, प्लेयर बक्स, वनर्स लाउन्ज, मिडिया र अन्य आवश्यक बक्स बुधबारसम्म बनाएर सक्ने आयोजकको लक्ष्य छ । दर्शकको सुविधाका लागि छुट्टै स्क्रिन पनि राखिँदै छ ।


प्रबन्ध निर्देशक लामा पोखराको पिच अन्तर्राष्ट्रियस्तरको बनाएको बताउँछन् । ‘हामीले बनाएको पिचमा स्पाइक जुत्ता लगाएर खेल्न मिल्छ,’ उनको दाबी छ, ‘राजधानीबाहिर यस्तो पिच पहिलो हो ।’ तीन महिनाअघि र अहिलेको मैदानमा पूरै परिवर्तन भएको उनको दाबी छ । क्रिकेटका अन्य लिगमा देखिएका कमजोरी नदोहोर्‍याउने गरी तयारी गरेको उनले बताए ।


‘आईसीसीका म्याच अफिसियल्स र स्टाफलाई दिने खर्च मेनटेन गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘फ्रेन्चाइजलाई दिने होटलको व्यवस्थापन हामी आफैंले गरेका छौं ।’ क्रिकेटरका फ्यानलाई प्रतियोगितामा संलग्न गराइराख्न फेन्टासी प्रिमियर लिग गर्ने भएकोले अन्यभन्दा पीपीएल फरक भएको उनी बताउँछन् ।


आइतबार मैदान अवलोकन गर्न पुगेका राष्ट्रिय टोलीका कप्तान पारस खड्का सन्तुष्ट देखिए । उनले मैदानको तयारी देखेपछि खुसी र उत्साहित भएको बताए । ‘खेलाडीलाई सबैभन्दा महत्त्वपूर्ण आउटफिल्ड र पिच हो,’ उनले भने, ‘जुन तरिकाले तयारी भइरहेको छ, एकदमै उत्साहित छु ।’ तीन महिनाको अवधिमा तीनपल्ट मैदान अवलोकन गरिसकेका उनले मैदानको ‘आउटलुक’ राम्रो भएको प्रतिक्रिया दिए । ‘काठमाडौंबाहिर सबैभन्दा राम्रो क्रिकेट विकेट पोखराको हुनसक्छ,’ उनले भने, ‘अझैं पनि दुई दिनपछि टेस्ट गर्नेछौं । क्रिकेट यस्तो खेल हो नखेलीकन थाहा हुँदैन ।’ नेपालभरि नै यत्तिको राम्रो मैदान पाउन गाह्रो भएको उनले सुनाए ।


बुधबारसम्म सबै टिम पोखरा आइसक्नेछन् । पीपीएलका दर्शकले टिकटका आधारमा ओयो अन्तर्गतका होटलमा बस्दा ५० प्रतिशत छुट पाउँनेछन् । राउन्ड रोविन लिगका आधारमा खेलाइने प्रतियोगितामा प्लेअफ हुँदैन । लिगमा पहिलो हुने टिम फाइनलमा पुग्छ । दोस्रो र तेस्रो हुने टिमबीच हुने खेलको विजेता पनि फाइनल पुग्छ ।


पीपीएलको खेल तालिका सार्वजनिक भइसकेको छ । प्रतियोगितामा ६ टिम सहभागी छन् । पहिलो खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुँदै छ । चितवन राइनोज, बुटवल ब्लास्टर्स, काठमाडौं रोयल्स र एक्सपर्ट धनगढीले पनि प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।


पीपीएलमा एउटा टिमले न्यूनतम १५ देखि अधिकतम १८ खेलाडी राख्न पाउने प्रावधान छ । प्रत्येक क्लबले अक्सनबाट १० खेलाडी आफ्नो टिममा आबद्ध गरिसकेका छन् । टिमले दुई स्थानीय र दुई विदेशी खेलाडी राख्नैपर्छ । विदेशी खेलाडीको अन्तिम टुंगो लाग्न बाँकी छ । बुधबारसम्म सबै टिमले खेलाडी घोषणा गरिसक्नेछन् ।


पोखरेली क्रिकेटमा पुनर्जागरण
पोखरामा सुस्ताएको क्रिकेट पीपीएलपछि पुन: ब्युँतिने सरोकारवालाले आशा गरेका छन् । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल पीपीएलले पोखराको क्रिकेट पुनर्जागरणमा सहयोग पुग्ने धारणा राख्छन् । पीपीएलपछि पोखरामा क्रिेकट क्रेज बढ्ने उनको अनुमान छ । ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी पोखरामा खेल्ने भएकोले यहाँको पर्यटन विकासमा महत्त्वपूर्ण टेवा पुग्छ,’ उनी भन्छन्, ‘एसोसियट ६ टिमले विदेशी टिमबाट खेलाडी ल्याउँछन् । ती खेलाडीले पनि पोखरामा आएर खेलेपछि पोखराको आफैं प्रचार हुन्छ ।’


राष्ट्रिय टोलीका कप्तान पारस खड्का घरेलु प्रतियोगिता भइरहँदा स्थानीयले अवसर पाउने बताउँछन् । ‘पीपीएलले गर्दा नै मैले पाँच वर्षपछि पोखरा आएर क्रिकेट खेल्दै छु,’ चितवन राइनोजका मार्की प्लेयर उनले भने, ‘यसले आगामी वर्षमा पनि यहाँ आएर खेल्ने ढोका खुल्छ ।’


क्विन्सका प्रबन्ध निर्देशक छुम्बी लामा पीपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नै अवलोकन गर्ने भएकोले महत्त्वपूर्ण रहेको बताउँछन् । उनले पीपीएल पछि अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हुन सक्ने सम्भावना औंल्याए । ‘माछापुच्छ्ेर र अन्नपूर्ण हिमशृंखलालाई पृष्ठभूमि राखेर क्रिकेट खेल्न पाउनु चानचुने कुरा होइन,’ उनले भने, ‘यसपछि यहाँका खेलाडीले पनि गुणस्तरीय मैदान पाउनेछन् ।’

प्रकाशित : कार्तिक ५, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?