बिग बासमा सन्दीप

पारिश्रमिक कम्तीमा ७० लाख
विनोद पाण्डे

काठमाडौँ — नेपालका युवा सनसनी बलर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास क्रिकेट लिग खेल्ने भएका छन्  । उनलाई मेलबर्न स्टार्सले आउँदो सिजनका लागि लिएको हो  ।

बिग बासमा सन्दीप

(काठमाडौं)- नेपालका युवा सनसनी बलर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास क्रिकेट लिग खेल्ने भएका छन् । उनलाई मेलबर्न स्टार्सले आउँदो सिजनका लागि लिएको हो । सन्दीपले कीर्तिमानी रकममा बिग बास खेल्न लागेका हुन् । उनी बिग बास खेल्ने एसोसिएट राष्ट्रकै पहिलो क्रिकेटर हुनेछन् ।


१८ वर्षे लेग स्पिनर सन्दीप मेलबर्नबाट दुई सत्रमा खेल्नेछन् । उनी बिग बास खेल्न डिसेम्बर १० मा अस्ट्रेलिया पुग्नेछन् । बंगलादेश प्रिमियर लिग (बीपीएल) मा यसअघि नै अनुबन्धित भइसकेकाले उनी सिलेट सिक्सर्सबाट बीपीएल खेल्न जनवरी १५ मा बंगलादेश आउनेछन् । बीपीएल सकिएपछि उनी फेरि बिग बासका लागि अस्ट्रेलिया फर्कनेछन् ।


‘बीपीएलमा खेल्ने भएकाले सन्दीपले बिग बास पूरा खेल्ने छैनन्, त्यसैले पारिश्रमिकबारे सबै टुंगो लागेको छैन, प्रतिम्याचका हिसाबमा वा प्रतियोगिताभरिका लागि पनि हुन सक्छ । तर उनले कम्तीमा ६० हजार डलर पाउने छन्,’ सन्दीपका व्यवस्थापक एवं नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिस्ट रमन सिवाकोटीले कान्तिपुरसँग भने ।


सन्दीपले यसअघि क्यानडामा ग्लोबल टी–२० लिग खेल्दा ४० हजार डलर पाएका थिए । सन्दीपले बिग बासमा पाउन लागेको पारिश्रमिक अहिलेसम्मकै बढी हो । फ्रेन्चाइज लिगमा इन्डियन प्रिमियर लिग (आईपीएल) र बिग बास सबैभन्दा ठूला प्रतियोगिता हुन् । सन्दीपले बिग बासमा खेल्नु आफ्नो सपना रहेको बताउँदै आएका थिए । विश्वकप विजयी अस्ट्रेलियाका कप्तान माइकल क्लार्कले साढे दुई वर्षअघि बोलाएर सन्दीपलाई सिड्नीमा बेस्ट सबर्सबाट ग्रेड क्रिकेट खेल्ने मौका दिएका थिए ।


सन्दीपले दिल्ली डेयर डेभिल्सबाट मेमा आईपीएल खेल्दै फ्रेन्चाइज लिगको यात्रा सुरु गरेका थिए । २० हजार डलरमा अनुबन्धित सन्दीपले दिल्लीको अन्तिम ३ खेलमा खेल्दै ५ विकेट लिएर बलियो प्रभाव बनाएका थिए ।


फेब्रुअरीमा आईपीएलको अक्सनमा पर्नुअघि नै सन्दीपले बीपीएलमा खेल्ने निश्चित भइसके पनि राष्ट्रिय टोलीबाट खेल्नुपर्दा गत वर्ष खेल्न नपाएकाले यसपटक खेल्न लागेको सिवाकोटीले जनाए ।


अफगानिस्तान प्रिमियर लिग (एपीएल) खेलेर सन्दीप २ दिन अघिमात्र नेपाल फर्किएका छन् । उनले शुक्रबारदेखि पोखरामा सुरु हुने पोखरा प्रिमियर लिगमा विराटनगर टाइटन्सबाट खेल्दै छन् । पूर्वराष्ट्रिय खेलाडी पारस लुनियाको स्वामित्वमा रहेको विराटनगरमा सन्दीप मार्की खेलाडी हुन् । विराटनगरले अझै कप्तानबारे खुलाइनसके पनि सन्दीपले नै टोलीको नेतृत्व गर्ने निश्चित जस्तै छ ।


नान्गहरबाट सन्दीपले एपीएलमा केवल १ खेल खेलेका थिए, जहाँ उनको पारिश्रमिक १५ हजार डलर थियो । यसअघि उनले क्यारेबियन प्रिमियर लिगमा खेल्दा ५ हजार डलर पाएका थिए । नोभेम्बरमा यूएईको शारजहाँमा हुने टी–१० लिगको सिजन २ मा केरला किङसँग अनुबन्धित सन्दीपले त्यहाँ खेलेपछि ३० हजार डलर पारिश्रमिक पाउने छन् ।

प्रकाशित : कार्तिक ६, २०७५ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?