कुस्ती संरक्षणमा युवा

नवीन पौडेल

परासी — लोपोन्मुख कुस्ती (दंगल) खेलको संरक्षणमा पश्चिम नवलपरासीका युवा जुटेका छन्  । विशेष गरी नेपालको तराई भागमा खेलिने प्राचीन खेल पछिल्लो समय ओझेलमा परेको भन्दै परासी क्षेत्रका युवाले बर्सेनि प्रतियोगिता गर्दै आएका छन्  ।

कुस्ती संरक्षणमा युवा

दसैं तिहारजस्ता ठूला पर्वको अवसर पारेर परासी र आसपासका क्षेत्रमा भारतीय तथा नेपाली पहलवानबीच कुस्ती प्रतिस्पर्धा हुने गर्छ ।


जिल्लाको परासीका युवाले विराट दगंल (कुस्ती) व्यवस्थापन समिति रामग्राम नामक संस्था नै खोलेर हरेक वर्ष कुस्ती आयोजना गर्दै आएको संस्थाका अध्यक्ष शैलेन्द्रकुमार गुप्ताले बताए । ‘यो मधेसको प्राचीन खेल हो । सांस्कृतिक, सामाजिक र शारीरिक पक्षबाट यो खेलको संरक्षण गर्न आवश्यक छ,’ उनले भने, ‘नियमित रूपमा चलाउन नसके पनि वर्षमा एकपल्ट भारत र नेपाली खेलाडीबीच प्रतिस्पर्धा हुने गरेको छ ।’ बर्सेनि प्रतिस्पर्धा हुने भएपछि यस क्षेत्रका पहलवान र यसमा रुचि भएका युवाले वर्षभरि खेलको तयारी गर्ने तथा भारतका विभिन्न प्रतियोगितामा गएर सहभागितासमेत जनाउने गरेका छन् ।


आपसी सद्भाव, शारीरिक स्वस्थता र मनोरन्जनका दृष्टिकोणले खेल महत्त्वपूर्ण भए पनि औपचारिक प्रतियोगिता र सम्बन्धित निकायले समेत यसको संरक्षणमा ध्यान नदिँदा नियमित कुस्ती खेल्दै आएका खेलाडीले खेल खेल्न छाडेपछि संरक्षणमा स्थानीय युवाले चासो दिएका हुन् । कुस्ती खेल झट्ट हेर्दा शारीरिक बलको तागतमा खेलिने खेलजस्तो देखिए पनि दिमागको चलाखी र यसको छुट्टै विशिष्ट नियम हुने गर्छ । खेलकुद मन्त्रालयबाट सहयोग भएमा अन्तर्राष्ट्रिय रूपमा प्रतियोगिता आयोजना गर्ने तथा जिल्लामा प्रशिक्षण केन्द्रको समेत स्थापना गर्ने यहाँका युवाको धोको छ । विभिन्न उमेर र तौल समूहमा खेल खेलाइने गरिन्छ । प्रतियोगिताका लागि तयारी स्वरूप तीन/चार महिना अगाडिदेखि नेपाल तथा भारतका युवाले अभ्यास गर्ने गर्छन् ।


नागेन्द्रलाई उपाधि
यस वर्षको दुईदिने दंगल प्रतियोगिताको उपाधि भारतले जितेको छ । शनिबार परासीमा सम्पन्न प्रतियोगितामा भारत अयोध्याका नागेन्द्र पहलवानले उपाधि जितेका हुन् । विजेता नागेन्द्रले १८ हजार र उपविजेता भएका भारत, महाराजगन्जका गुड्डु पहलवानले ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । नेपाल र भारतका ३० पहलवानले प्रतियोगितामा भाग लिएका थिए ।

प्रकाशित : कार्तिक ६, २०७५ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?