१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कनेरियाले स्विकारे स्पट फिक्सिङ

एएफपी

कराँची — अन्तत: पाकिस्तानका पूर्व क्रिकेट खेलाडी डेनिस कनेरियाले स्विकारेका छन्, आफू स्पट फिक्सिङमा संलग्न भएको  । उनलाई यो स्विकार्न आखिरमा ६ वर्ष लाग्यो  ।

कनेरियाले स्विकारे स्पट फिक्सिङ

उनले यसैक्रममा एसेक्सका साथी मार्वन वेस्टफिल्डसँग पनि माफी मागेका छन् । वेस्टफिल्ड तिनै पूर्व खेलाडी हुन्, जसलाई कनेरियाले स्पट फिक्सिङ गर्न उक्साएका थिए । पछि वेस्टफिल्ड जेल जान पनि बाध्य रहे । कनेरियाको यो भनाइपछि एसेक्स प्रहरीले पूरा घटनाक्रमलाई नयाँ दृष्टिकोणबाट हेरिने पनि बताएको छ ।


इंग्ल्यान्ड र वेल्समा क्रिकेटका सबै खाले गतिविधिबाट आजीवन प्रतिबन्ध बेहोरिरहेको कनेरियाले माने, ‘झुटकै सहारामा पूरा जीवन जिउन सकिन्न ।’ पूरा कथा सुरु हुन्छ, ६ वर्ष अगाडि, जति बेला उनकै भाषामा उनले आफ्नो जीवनमा सबथोक गुमाए । उनको लामो अन्तर्वार्ता अल जजिराले लिएको छ । उनले भनेका छन्, ‘मैले साथी गुमाएँ, मैले समर्थकको विश्वास गुमाएँ । सबैभन्दा पहिले म वेस्टफिल्ड, एसेक्सका साथी, समर्थक तथा क्लब स्वयंसँग माफी माग्न चाहन्छु ।’


यस्तै उनले पाकिस्तान र पूरा विश्वभरका प्रशंसकसँग पनि माफी मागेका छन् । उनले आफ्नै परिवार र श्रीमतीसँग माफीका लागि आग्रह गरेका छन् । कनेरियाले वेस्टफिल्डलाई एसेक्स र डरहमबीच सन् २००९ मा भएको एक वान डे खेलका क्रममा एकै ओभरमा १२ रन दिन दबाब दिएका थिए । यसैक्रममा वेस्टफिल्डले चार महिना जेल सजाय पनि काटे । इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले वेस्टफिल्डलाई ५ वर्ष प्रतिबन्ध लगाएको थियो ।


बोर्डले भने कनेरियालाई आजीवन प्रतिबन्ध लगाउने क्रममा उनलाई ‘क्रिकेट खेलको भावनामा सबैभन्दा ठूलो खतरा’ भनेको थियो । सन् २०१४ मा बीबीसीसँगको कुराकानीमा कनेरियाले वेस्टफिल्डलाई कुनै दबाब नदिएको दाबी गर्दै उनैले आफ्नो खेलजीवन ध्वस्त पारेको बताएका थिए । तर अहिले उनले वेस्टफिल्डलाई दबाब दिएर ६ हजार पाउन्ड पाएको स्विकार्दै त्यति बेला आफूमा विश्वकै सबैभन्दा धनी क्रिकेट खेलाडी बन्ने सपना रहेको बताए ।


कनेरियाले अहिले आफ्नो भनाइ फेर्दै त्यस अगाडि आफूले गलत बोल्नु पछाडि त्यति बेला आफ्ना बुवाको स्वास्थ्य निकै नाजुक रहेको कारण प्रमुख रहेको बताए । ‘बुवाको स्वास्थ्य झन् झन् खराब भइरहेको थियो । मसँग उहाँका सामु आफूले गलत गरेको भन्ने हिम्मत् थिएन । उहाँ मेरो खेलजीवनलाई लिएर निकै गर्व गर्नु हुन्थ्यो । यस्तोमा म उहाँको भावनामा चोट पुर्‍याउन चाहन्न थिएँ ।’ कनेरियाले पाकिस्तानका लागि २ सय ६१ टेस्ट विकेट लिएका छन् ।


उनी वसिम अक्रम, वकार युनिस र इमरान खानपछि पाकिस्तानका लागि सबैभन्दा बढी टेस्ट विकेट लिने बलरमा पर्छन् । यसअघि आफूमाथि लागेको आजीवन प्रतिबन्ध फुकुवा गर्न सबै प्रकारको कानुनी प्रक्रिया चाल्ने दाबी गरेका कनेरियाले अब भने सबैसँग माफी माग्दै त्यसको बदलामा क्रिकेटमा कुनै न कुनै प्रकारको योगदान दिन चाहेको बताए । ‘मैले मौका पाएँ भने क्रिकेटमा हुनसक्ने स्पट फिक्सिङका खराबीबारे युवा खेलाडीलाई बताउने थिएँ,’ उनले थपेका छन् ।

प्रकाशित : कार्तिक ६, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?