‘क्रिकेटबाट चितवन चिनाउँछौं’

रमेशकुमार पौडेल

चितवन — पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा भाग लिने चितवन राइनोजलाई भरतपुर महानगरपालिकाले बिदाइ गरेको छ  । पोखरामा शुक्रबार पीपीएल सुरु हुँदै छ  ।

‘क्रिकेटबाट चितवन चिनाउँछौं’

चितवन राइनोजले आफ्नो पहिलो खेल शनिबार बुटवल ब्लास्टर्ससँग खेल्नेछ । राइनोजका मार्की प्लेयर पारस खड्कालाई भरतपुरकी मेयर रेणु दाहालले जितको शुभकामनासहित बिदाइ गरिन् ।


सोमबार साँझ आयोजित कार्यक्रममा मेयर दाहालले चितवनमा क्रिकेटको विकासका लागि आफूले मिहिनेत गरिरहेको पनि बताइन् । उनले रामपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनेरै छाड्ने कुरा राखिन् । ‘रामपुरमा कृषि विश्वविद्यालयले उपभोग गरेको जग्गामा क्रिकेट स्टेडियम बनेरै छाड्छौं । यसका लागि महानगर, त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच समझदारी नै भएको छ,’ दाहालले भनिन् ।


राइनोजका मार्की खेलाडी तथा राष्ट्रिय टोलीका कप्तान पारसले चितवनसँग पीपीएलजस्तै प्रतियोगिता गर्ने क्षमता रहेको बताए । यसका लागि वातावरण बनाउन उनले सबैसँग अपिल गरे । ‘क्रिकेटले देशलाई केही पहिचान दिएको छ । खासै लगानी नभए पनि अहिलेसम्म यो खेलले राम्रो उचाइ बनायो । अब लगानी गरे नेपाली क्रिकेट झनै उत्कृष्ट हुनेछ । सबैले लगानी गरौं,’ पारसले भने ।


चितवन राइनोजका अध्यक्ष राहुल महराले आफ्नो टिमको खेलले चितवनको क्रिकेट विकासमा भूमिका खेल्ने बताए । ‘चितवन पर्यटनका लागि त्यसै प्रख्यात छ । अब चितवनसँग क्रिकेट पनि जोडिएको छ । हाम्रो टिम बलियो छ । पीपीएलमा हाम्रो टिमको खेलले जिल्लाको क्रिकेट विकासमा पक्कै फडो मार्नेछ,’ महराले अपेक्षा व्यक्त गरे । ३५ वर्षभन्दा कम उमेरका १० जनाको टिम मिलेर चितवन राइनोज बनाएको उनले सुनाए ।


उनले आफ्नो टिमले दुई विदेशी खेलाडी राख्न बाँकी रहेको बताए । अरु १५ खेलाडीलाई कार्यक्रममा परिचय गराइएको थियो । त्यसमा राष्ट्रिय टोलीका खेलाडीको बाहुल्य छ । राष्ट्रिय कप्तान पारससहित शक्ति गौचन, अनिलकुमार शाह, करण केसी, आरिफ शेख टोलीमा छन् ।


त्यस्तै टिममा रामनरेश गिरी, भुवन कार्की, विनोद लामा, सोनु तामाङ, सुमित महर्जन, हरिशंकर शाह छन् । स्थानीय आइकनका रूपमा आकाश थापा र स्वप्निल अधिकारी छन् । चितवनकै प्रशान्त आचार्य र गौतम केसीलाई समावेश गरेर चितवन राइनोजले स्वदेशी खेलाडीको संख्या १५ पुर्‍याएको हो । प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्व कप्तान राजु खड्का छन् ।


पोखरा रंगशालामा कात्तिक २० सम्म चल्ने प्रतियोगितामा ६ फ्रेन्चाइज टोली सहगाभी हुनेछन् । चितवन राइनोज र बुटबल ब्लास्टर्ससहित विराटनगर टाइटन्स, पोखरा पल्टन, काठमाडौं रोयल्स र धनगढी ब्लुजले पीपीएलमा प्रतिस्पर्धा गर्नेछन् ।


प्रकाशित : कार्तिक ७, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?