कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

कुस्ती खेललाई उपेक्षा

भूषण यादव

वीरगन्ज — वीरगन्ज सहरको उत्तरी भागमा रहेको राधेमाईस्थित रामजनकी मठमा सूर्य नउदाउँदै युवाहरू साइकल चलाउँदै आइपुग्छन्  । मठको पूर्वपट्टिको खाली भागमा कुस्तीका पूर्वर्राष्ट्रिय खेलाडी मोदनप्रसाद यादवले ‘अखडा’ निर्माण गरेका छन्  ।

कुस्ती खेललाई उपेक्षा

युवाहरू त्यही अखडामा कुस्तीको दाउपेच अभ्यास गर्न सबेरै भेला हुन्छन् । स्थानीय र मठको सहयोगमा यादवले भदौयता सञ्चालनमा ल्याएको अखडामा पहलमानहरूको बाक्लै उपस्थिति हुने गर्छ । पहलमानहरूको कसरत हेर्न वरिपरिका स्थानीय र ओहोरदोहोर गर्ने बटुवा पनि भेला हुन्छन् ।


उमेर र शरीरले कुस्ती खेल्न साथ नदिए पनि वीरगन्ज महानगरपालिका २३ निवासी ५४ वर्षीय सलाउद्दिन अन्सारी समय मिलाएर कुस्ती अभ्यासस्थलमा पुग्छन् । ‘पहिले आफूले पनि खेलेकाले कुस्तीप्रति मोह छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा देशलाई चिनाउने खेलमध्ये कुस्ती पनि हो ।’ उनका अनुसार केन्द्र सरकारको सहयोग कुर्नुभन्दा प्रदेश र स्थानीय सरकारले यो खेललाई प्रवद्र्धन र प्रोत्साहन गर्नुपर्छ ।

अखडा सञ्चालन गरेका कुस्तीका पूर्व अन्तर्राष्ट्रिय खेलाडी मोदन यादव पदक र प्रमाणपत्र देखाउँदै ।


प्रदेश २ का आठ जिल्लामा कुस्ती लोकप्रिय छ । हालै इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा सहभागी खेलाडी यसै प्रदेशका थिए । एसियाडमा इरानी खेलाडीसँग पराजित भागवत साह पनि यही अखडामा अभ्यास गर्छन् । उनी पर्साको बहोदरामाई नगरपालिका ८ रामनगरी निवासी हुन् ।


‘एसियाडमा ६ मिनेट खेल्दा सुरुआती तीन मिनेटसम्म राम्रो प्रतिस्पर्धा गरेको थिएँ, इरानी टेक्नीकली साउन्ड थिएँ,’ साहले सुनाए, ‘आउँदो १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्ने ल्याउने लक्ष्यसहित अभ्यास गरिरहेको छु ।’ अन्तर्राष्ट्रिय प्रतियोगिता आउनु तीन महिनाअगाडि मात्र खेलाडी बोलाउँछ । तर अन्य देशमा ठूला प्रतियोगितालाई वर्षौंदेखि क्लोज क्याम्पमा खेलाडीलाई प्रशिक्षण दिइन्छ ।


‘नेपालमा कुस्ती अभ्यास गर्ने स्थलको समेत अभाव छ,’ उनले भने, ‘देशभरमा जम्मा एउटा मात्र म्याट छ, कुस्ती हल छैन ।’ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर आएपछि आफ्नै खर्चमा अभ्यास जारी राख्नुपर्छ, आम्दानीको कुनै स्रोत छैन ।


हाल नि:शुल्क अखडा सञ्चालनमा ल्याएका ४० वर्षीय मोदन यादवले २०५१ सालमा भएको दोस्रो राष्ट्रिय कुस्ती प्रतियोगितामा रजत पदक जितेका थिए । त्यसपछि उनले पछाडि फर्केर हेरेनन् । ०५२ मा भारतमा सम्पन्न साफ गेम्समा चौथो भएका उनले श्रीलंकामा सम्पन्न साफमा तेस्रो स्थान हासिल गरेका थिए ।


पाकिस्तानमा भएको साफ गेम्स तथा थाइल्यान्ड र दिल्लीमा भएको एसियन गेम्समा पनि उनले सहभागिता जनाए । दुई दर्जनभन्दा बढी पदक र प्रमाणपत्र उनले बाकसमा जतनसाथ राखेका छन् । बिहान युवालाई निशुल्क अभ्यास गराएर उनी विन्दवासनी गाउँपालिकाको कार्यालयमा पुग्छन् ।


‘जीविकोपार्जनका लागि कार्यालय सहयोगीको काम गर्छु,’ उनले भने, ‘यसअघि जिल्ला विकासमा स्थानीय विकास अधिकारीको पीए थिएँ ।’ जिल्लावासी सूर्य सिलवाल गृहसचिव भएको समयमा उनकै सिफारिसमा जिल्ला विकास समितिमा उनले काम पाएका थिए । ‘तर, यो मैले गर्ने काम हैन, कुस्ती खेलका लागि नयाँ पहलमान तयार पार्न सक्छु,’ उनी भन्छन् । कुस्तीको प्रशिक्षक बन्न उनले ८ वर्षअघि राखेपाबाट तीन महिने प्रशिक्षण लिएका थिए झन्डै ७० हजार रुपैयाँ खर्चेर ।


‘जापानी प्रशिक्षकसँग भारतको पटियालामा पनि तीन महिने तालिम लिएँ,’ विगत सम्झँदै उनी भन्छन्, ‘तर, सरकारले ०५१ सालदेखि कुस्ती प्रशिक्षकको भर्ना लिएको छैन । प्रशिक्षक भइदिएको भए दिनरात यसैमा लाग्थें, जीविकोपार्जनका लागि अन्यत्र धाउनु पर्दैनथ्यो ।’ अन्तराष्ट्रिय खेलाडी भएर कार्यालय सहयोगीको काम गर्दा कतिपयले जिस्काउने गरेको उनले सुनाए । यति हुँदा पनि उनले कक्षा ८ मा अध्ययनरत कान्छो छोरालाई पनि बिहान अखडामा कुस्ती सिकाउन छाडेका छैनन् । उनी भन्छन्, ‘छोरोलाई पनि देशका लागि तयार पार्दै छु ।’


लोप हुँदै कुस्ती
दसंै सकिनासाथ अहिले मधेसका विभिन्न ठाउँमा कुस्तीको दंगल प्रतियोगिता भइरहेका छन् । स्थानीय आयोजकले चन्दा संकलन गरेर दंगलको आयोजना गर्दै आएका छन् । नेपाल र भारतका पहलमानहरू अखडामा कुस्ती खेल्न आउँछन् ।


सबैलाई सीमित नगद पुरस्कारको व्यवस्था गरिएको हुन्छ । उद्घोषकले माइकमा नाम पुकार्नेबित्तिकै अखडामा प्रवेश गर्ने क्रममा पहलमानले तिघ्रालाई धाप मार्दै प्रतिस्पर्धीलाई स्वागत गर्छन् । उनीहरूको अभिप्राय चोट पुर्‍याउने हुँदैन । उनीहरूको उद्देश्य केवल आफ्नो शक्ति प्रदर्शन र दर्शकलाई आनन्दित पार्ने हुन्छ । उनीहरूमा विरोधी भावना हुँदैन । पहलमानको शक्तिसँगै साहस, आँट र सीपको प्रदर्शनले दर्शक रोमाञ्चित हुन्छन् ।


गाउँमा हुने पारम्परिक कुस्तीका अधिकांस दर्शक पुराना नै हुन्छन् । दंगल हेर्न गाउँका युवा आए पनि खेलप्रति भने उनीहरूको आर्कषण घट्दो छ । तराई मधेस र सीमावर्ती भारतमा राजा महाराजाको पालादेखि नै कुस्ती एउटा परम्पराझैं पुस्ता दर पुस्ता खेलिँदै आएको जनविश्वास छ । यो परम्परागत कुस्ती अहिले लोप हुने अवस्थामा पुगेको छ ।


कुस्तीका पुराना पहलमानका अनुसार २०/२५ वर्षअघिसम्म जुन अखडामा सयभन्दा बढी युवा अभ्यास गर्थे । ती अहिले बन्द छन् । सञ्चालनमा रहेका एकाध अखडामा सीमित खेलाडी मात्र अभ्यासरत देखिन्छन् । प्राचीनकालदेखि तराई मधेसको सानको रूपमा रहेको कुस्ती अहिले लोप हुँदै गएको छ । ‘नयाँ खेलाडी आउनै छाडेका छन्,’ कुस्ती प्रशिक्षक धर्मराज यादव भन्छन्, ‘राज्यले कुस्तीको संरक्षण गर्न सकेन । बढ्दो महँगीका कारण आफ्नै लगानीमा कुस्ती खेल्ने अवस्था छैन ।’


कुस्ती प्रशिक्षणका लागि आउने नवयुवकलाई पहलमान बनाउन कम्तीमा ३ वर्ष कडा मिहिनेत गर्नुपर्ने यादव बताउँछन् । ‘कडा अभ्यासले मात्र हुँदैन,’ उनले भने, ‘पहलमान बन्न खान्की पनि त्यहीअनुसार चाहिन्छ । बिहान/साँझ २–२ लिटर भैंसीको दूध, सय ग्राम बदाम र मिश्री, ५० ग्राम काजु–किसमिस, २ सय ग्राम मासु तथा शरीर मालिस गर्न २ सय ग्राम करुवा तेल आवश्यक पर्छ ।’


अन्य खेलका राम्रा खेलाडीलाई पछिल्लो समय सरकार र निजी क्षेत्रले केही प्रोत्साहन गरे पनि कुस्तीप्रति अझै बेवास्ता रहेको उनको गुनासो छ । १२ औं सागमा सहभागी ८ पुरुष खेलाडी सबै तराई मूलका थिए । तराई मधेसमा दंगल शैलीमा कुस्ती खेलिन्छ । ठूलो चौर वा खेतको बीच भागमा ‘अखडा’ खनिन्छ । त्यसमा खलिफाहरू शरीरमा कछाडमात्र लगाएर कुस्ती खेल्छन् । अखडा वरिपरि दर्शक हुन्छन् ।


मनपर्ने खलिफाले प्रतिस्पर्धीलाई अखडामा पछार्दा सबै हौसिन्छन् । जितको खलिफालाई नगद इनामसमेत दिन्छन् । चाडपर्व र कुनै धार्मिकस्थलमा मेला लागेको बेला कुस्ती आयोजना हुँदै आएको परम्परा छ । पहिले मनोकामना पूरा भए पूजासँगै दंगल गराउने भाकल गर्थे । साउनको नागपञ्चमीदेखि पुसको मध्यसम्म कुस्ती हुने सिजन हो ।

प्रकाशित : कार्तिक ७, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?