कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेपाल र थाइल्यान्ड भिड्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले बलियो मानिएको थाइल्यान्डको सामना गर्दै बुधबार एएफसी यू–१९ महिला च्याम्पियनसिप २०१९ को छनोट यात्रा थाल्दैछ  । नेपाली महिला फुटबल टोलीले थाइल्यान्डविरुद्ध पहिलोपल्ट प्रतिस्पर्धा गर्न लागेको हो र बैंककमा हुने खेलमा आयोजक टिमलाई निकै बलियो मानिएको छ  ।

नेपाल र थाइल्यान्ड भिड्दै

तर, सन् २०१९ को प्रतियोगिताको फाइनल चरण थाइल्यान्डमै हुनेछ । त्यसमा आयोजकको रूपमा थाइल्यान्डले प्रवेश पाइसकेकाले उसका लागि अनुभव र प्रतिष्ठाको खेलमै छनोट सीमित हुनेछ । त्यसैले पनि नेपाली यू–१९ टिमका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले आफ्नो टिमको लक्ष्य छनोटको दोस्रो चरणमा प्रवेश गर्ने भएको बताए ।


‘थाइल्यान्ड धेरै बलियो टिम हो । त्यसैले थाईविरुद्ध हामी बराबरीका लागि खेल्नेछौं,’ मंगलबार बैंककमा भएको पत्रकार सम्मेलनमा प्रशिक्षक श्रेष्ठले भने, ‘डिफेन्समा ध्यान दिएर काउन्टर अट्याकमा अगाडि बढ्ने छौं ।’


त्यसक्रममा एक्लो फरवार्डका रूपमा रेखा पौडेललाई मैदानमा उतार्ने योजना पनि उनले सुनाए, ‘छनोटको दोस्रो चरणमा पुग्ने लक्ष्य छ । हामीलाई थाइल्यान्ड आयोजकका रूपमा छनोट भइसकेकाले दोस्रो चरणमा पुग्ने राम्रो अवसर छ । त्यसका लागि भारतविरुद्धको खेल महत्त्वपूर्ण हुनेछ ।’ छनोटको समूह ‘बी’ मा थाइल्यान्ड, भारत, पाकिस्तान र नेपाल छन् । ६ समूहका विजेतासँगै दुई उपविजेता पनि दोस्रो चरणमा प्रवेश गर्नेछन् ।


साफ यू–१८ महिला च्याम्पियनसिपको उपविजेता रहेको नेपाली टोली चोटको समस्याबाट मुक्त रहेको पनि प्रशिक्षक श्रेष्ठले बताए । ‘हाम्रो सबैभन्दा बलियो पक्ष टिमवर्क हो,’ उनले भने । सन्तुलित मानिएको उनको टिमलाई राष्ट्रिय टोलीका तीन खेलाडी गोलकिपर अन्जना रानामगर, मिडफिल्डर मन्जली योन्जन र विंगर सरु लिम्बुको साथ छ ।


सरु यू–१९ की कप्तान पनि हुन् । अनुभवी यी तीन खेलाडीको प्रदर्शनको नेपालको भाग्य निर्भर हुनेछ । नेपाली टोलीको साफ यू–१८ को तयारीसँगै साढे दुई महिनायता निरन्तर अभ्यास गरिरहेको छ ।


प्रशिक्षक श्रेष्ठ पहिाले खेल भएकोले आयोजक थाइल्यान्डलाई पनि गाह्रो हुनसक्ने बताउँछन् । थाई प्रशिक्षक अरुण तुलवातानान्गुलका अनुसार डेढ महिना तयारी गर्ने क्रममा थाई टिमले चीनमा १० दिन अभ्यास गरेको थियो । त्यसक्रममा थाइल्यान्डले उत्तर कोरिया, मेक्सिको र चीनसँग खेलेको थियो । तीनै खेल हारे पनि नेपालसँगको तुलनामा थाई टिमलाई निकै बलियो मानिएको छ । उसका दुई मिडफिल्डर र एक डिफेन्डर राष्ट्रिय टिमका सदस्य पनि हुन् ।


साफ यू–१५ च्याम्पियनसिप: उत्कृष्ट प्रदर्शनको आस
काठमाडौं (कास)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोमा बिहीबार सुरु हुने साफ यू–१५ च्याम्पियनसिपमा नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्ने आस गरेको छ ।
‘नेपाली टिममा झन्डै दुई वर्षयता एन्फा एकेडेमीमा रहेर प्रशिक्षण गरेका खेलाडीको वर्चस्व छ,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहले भने, ‘खुला छनोटमार्फत दुई साताअघि एकेडेमीबाहिरका उत्कृष्ट ५ खेलाडी थपिएका छन् ।’


एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा देशबाहिर रहेको अवस्थामा हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहेका सिंहका अनुसार ४४ जिल्लाबाट ५–५ खेलाडीसहित राजधानीमा भएको खुला छनोटमा करिब ३ सय सहभागी भएका थिए । त्यसबाट टिममा ५ खेलाडी छनोट भए । २३ सदस्यीय टिमका बाँकी खेलाडी एकेडेमीमा रहेका २६ जनाबाट चयन गरिएको हो । सनोज श्रेष्ठ मुख्य प्रशिक्षक रहेको टिममा उनका सहायक छन् राकेश श्रेष्ठ । मनीष तिमल्सिना गोलकिपिङ प्रशिक्षकका रूपमा रहेका छन् ।


लिगकम नकआउटको आधारमा हुने च्याम्पियनसिपमा ६ देश सहभागी छन् । आयोजक नेपालसहित बंगलादेश र माल्दिभ्स समूह ‘ए’ मा छन् भने अर्को समूह ‘बी’ मा भारत, भुटान र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । समूहका विजेता र उपविजेता सेमिफाइनलमा छनोट हुनेछन् ।


एन्फाका महासचिव इन्द्रमान तुलाधरका अनुसार पाकिस्तान, भुटान, माल्दिभ्स र बंगलादेशको टिम काठमाडौं ओर्लिसकेका छन् भने भारतीय टिम बुधबार आउँदैछ । सहभागी टिमहरूले सशस्त्र प्रहरी बलको हल्चोक मैदान र मध्यपुर युथ एसोसिएसनको सानो ठिमीस्थित मैदानमा प्रशिक्षण गर्नेछन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले प्रतियोगिता आयोजनाका लागि एन्फालाई एक करोड ६५ लाख ५२ हजार रुपैयाँ (१ लाख ४० हजार अमेरिकी डलर) उपलब्ध गराएको जनाइएको छ ।

प्रकाशित : कार्तिक ७, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?