३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

आईसीसी क्रिकेट विश्वकप ट्रफी शुक्रबार नेपाल आइपुग्ने

स्वयम्भूदेखि पोखरा हुँदै बेसक्याम्पसम्म ट्रफी पुर्‍याइने
कान्तिपुर संवाददाता

काठमाडौँ — आईसीसी क्रिकेट विश्वकप ट्रफी शुक्रबार नेपाल आइपुग्ने भएको छ । क्रिकेटका शक्तिशाली राष्ट्रहरू भारत र पाकिस्तानसहित बंगलादेश भ्रमण गरिसकेको विश्वकप ट्रफीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल ल्याउन लागेको हो । नेपालमा क्रिकेटको विश्वकप ट्रफी पहिलोपल्ट आउँदै छ ।

आईसीसी क्रिकेट विश्वकप ट्रफी शुक्रबार नेपाल आइपुग्ने

यसको प्रायोजक निसानमाफर्त पाँच महादेशको २१ राष्ट्रमा पुर्‍याइँदा नेपालमा पनि ल्याउन लागिएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मुख्यालय दुबईबाट अगस्ट २७ बाट सुरु विश्वकप ट्रफी टुर नेपालमा ४ दिन रहने छ । २०१९ को जुलाई १४ मा लन्डनको लर्डस क्रिकेट मैदानमा विश्वकप विजेतालाई उक्त ट्रफी प्रदान गरिनेछ ।


नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेको अवस्थामा आईसीसीका लागि नेपाली क्रिकेटको समन्वयकारी भूमिका खेलिरहेकी क्यानकी पूर्व सीईओ भावना घिमिरेका अनुसार शुक्रबार दिउँसो ३ बजेर ४० मिनेटमा यूएईबाट नेपाल आइपुग्नेछ । सोही दिन साँझ ६ बजे स्वयम्भू मन्दिरमा विश्वकप ट्रफी प्रदर्शन गर्ने कार्यक्रम छ । उनका अनुसार नेपाल भ्रमणको अन्तिम दिन सोमबार ट्रफीलाई सगरमाथाको आधारसिविर बेसक्याम्प पनि पुर्‍याइने कार्यक्रम छ, तर त्यो सबै मौसमको स्थितिमा भरपर्नेछ ।


यस बीचमा नेपाल भ्रमणको दोस्रो दिन विश्वकप ट्रफी पोखरा पुर्‍याइने छ । पोखरा प्रिमियर लिगको आयोजनास्थल पोखरा क्रिकेट रंगशालामा शनिबार बिहान ८ बजे प्रदर्शनीमा राखिने छ । दिउँसो २ बजे फेवातालमा ट्रफीको प्रदर्शनी हुनेछ । काठमाडौं फिर्ता भएपछि आइतबार विश्वकप ट्रफी केबलकारबाट चन्द्रागिरि डाँडामा प्रदर्शनीलाई पुर्‍याइने छ । त्यहाँ खेलाडी पनि उपस्थिति हुने आईसीसीको तालिका छ ।


आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा पनि विश्वकप ट्रफी पुर्‍याइने छ, तर त्यो अझै निश्चित भएको छैन । सोही दिन विश्वकप प्रायोजकमध्ये एक हुब्लोटले दरबारमार्गस्थित एक रेस्टुरेन्टमा आफ्ना ग्राहकसँग ट्रफीलाई साक्षात्कार गराउने छ । त्यसमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार, राष्ट्रिय खेलकुद परिषदा सदस्य–सचिव केशवकुमार विष्ट, पूर्व कप्तानहरू, क्यानका पूर्व अध्यक्षहरू कार्यक्रममा संलग्न हुने जनाइएको छ ।


नेपाल भ्रमणको अन्तिम दिन सोमबार ट्रफीलाई बेसक्याम्प पुर्‍याउने कार्यक्रम छ भने त्यसै दिन बसन्तपुरमा सर्वसाधारणका लागि प्रदर्शनीमा राखिने छ । ट्रफी टुरको अवधि ९ महिनाको हुनेछ । विश्वकप इंग्ल्यान्ड र वेल्सले २०१९ को मे ३० देखि जुलाई १४ सम्म आयोजना गर्दै छ । विश्वकप खेल्ने राष्ट्रमा मात्र लैजाने यसअघिको परम्परालाई तोडै यसपालि क्रिकेटका उदाउँदा ११ राष्ट्रमा विश्वकप ट्रफी टुर गर्न लागिएको हो ।


यूएईबाट सुरु विश्वकप ट्रफी टुर ओमान, अमेरिका, वेस्ट इन्डिज, श्रीलंका, पाकिस्तान, बंगलादेश, नेपाल भारत, न्युजिल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नदेरल्यान्ड्स, जर्मनी हुँदै १ सय दिन लगाएर फेब्रुअरी १९ मा वेल्स र इंग्ल्यान्ड पुग्नेछ ।


नेपालले मार्चमा जिम्बावेमा भएको विश्वकप छनोटमा सहभागिता जनाएको थियो । विश्वकपमा पुग्न नसकेको नेपाल जिम्बावेको प्रतियोगितामा आठौं स्थान हात पार्दै वान–डे अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र बनेको थियो ।

प्रकाशित : कार्तिक ७, २०७५ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?