१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पाराग्लाइडिङको विश्वकप भोलिदेखि

३० देशका पाराग्लाइडर आउने
प्रतीक्षा काफ्ले

स्याङजा — भीरकोटको स्वरेकमा बिहीबारदेखि पाराग्लाइडिङको एक्युरेसी विश्वकप हुने भएको छ ।

पाराग्लाइडिङको विश्वकप भोलिदेखि

नेपाल पाराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था र बाबु एड्भेन्चर क्लबको संयुक्त आयोजनामा प्रतियोगिता हुने लागेको हो ।

हालै इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा पाराग्लाइडिङमा नेपालले रजत पदक जितेको थियो । स्याङजामा प्रथम नेपाल प्याराग्लाइडिङ एकुरेसी विश्वकप आयोजना गर्न लागिएको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले बताए । भीरकोट नगरपालिका–५ स्वरेक महापुर मैदान र वालिङ नगरपालिका–११ डौवाफाँटमा हुने प्रतियोगिता कात्तिक १९ सम्म चल्नेछ ।

मैदानबाट उडेको ग्लाइडरले डौवाफाँटमा ल्यान्डिङ गर्नेछन् । पुरुष र महिला एकल र टिम एक्युरेसी गरी चार इभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपालसहित क्यानडा, फ्रान्स, टर्की, बेलायत, जापान, दक्षिण्न कोरिया, साउदी अरेबिया, सिंगापुर, इन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान र इरानका खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले यसअघि नै जनाएको थियो ।

‘हामीले ३० देशका १ सय ५० पाराग्लाइडरको सहभागिता रहने अनुमान गरेका छौं,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘हालसम्म २० देशका ९४ खेलाडीले नाम दर्ता गराएका छन् ।’ विश्वकपका लागि प्रमुख जज बेलग्रेड र इन्डोनेसियाबाट आउने छन् ।

आयोजकका अनुसार खेल ६ चरणको हुनेछ । तोकिएको घेराभित्र ल्यान्डिङ गर्नुपर्ने हुन्छ । सबै चरणको प्रदर्शनपछि विजेता चयन हुनेछ ।

व्यक्तिगतर्फ विजेताले एक हजार युरो, दोस्रोले ७ सय ५० युरो र तेस्रो हुनेले ५ सय युरो जित्नेछन् । टिमतर्फ विजेताले १५ सय युरो, दोस्रोले १२ सय र तेस्रो हुनेले ७ सय युरो पाउने आयोजकले जनाएको छ ।

खेलाडीका लागि खानेबस्ने व्यवस्था आयोजकले नै गर्नेछ । पहिलो दिन उद्घाटन हुनेछ भने शुक्रबारदेखि तीन दिन प्रतिस्पर्धाको तालिका छ ।

प्रतियोगिता आयोजना र व्यवस्थापनका लागि जिल्लाका एघारवटै स्थानीय तह, सरकारी कार्यालय र विभिन्न संघसंस्थाको समन्वयकारी भूमिका रहने आयोजकले जनाएका छन् । विश्वभरका हवाई खेलाडी आउने प्रतियोगिताबाट १ करोड ७७ लाख ९० हजार रुपैयाँ आम्दानी र १ करोड ५७ लाख ७ हजार ८ सय खर्च हुने अनुमान आयोजकको छ ।

स्वरेक मैदान पाराग्लाइडिङको ट्रेनिङ सेन्टरका रूपमा समेत विकास भइरहेको श्रेष्ठले बताए । गत वर्ष पनि नेपालले यसै स्थानमा एक्युरेसीको अन्तर्राष्ट्रिय प्रतियोगिता गरिसकेको छ । नेपाल भ्रमण वर्ष २०२० मा हवाई साहसिक पर्यटकको संख्यामा वृद्धि गर्ने सरकारको लक्ष्यअनुरुप प्रतियोगिता गर्न लागिएको उपाध्यक्ष श्रेष्ठले बताए ।

आयोजक पुग्न ढिलाइ
स्वरेकमा हुने एक्युरेसी विश्वकपका लागि प्याराग्लाइडिङ स्कुल सञ्चालन गरेकाले बाबु एड्भेन्चरका पदाधिकारी तयारीमा जुटेका छन् । तर अरु तीन संस्थाका पदाधिकारी मंगलबारसम्म स्वरेक पुगिसकेका छैनन् । क्लबका प्रमुख सानोबाबु सुनुवारले आयोजक समितिका पदाधिकारी आइपुग्न ढिला गरेकाले एक्लै खटिनुपरेको गुनासो गरेका छन् ।

खेल सञ्चालनमा सघाउने जिम्मेवारी जिल्ला समन्वय समितिको छ । प्रमुख सीता सुन्दास आयोजक पदाधिकारी आगमनको ढिलाइले अन्योल भइरहेको बताउँछिन् । सहभागी खेलाडीका लागि खाना, सवारी र एम्बुलेन्स लगायत व्यवस्थापन भइसकेको पाराग्लाइडर सुनुवारले बताए ।

उद्घाटन समारोह गर्न स्टेज, खेलाडीको आकस्मिक उपचार र दर्शक सुविधाका लागि स्टेज व्यवस्थापन हुन बाँकी छ । प्रतियोगिता आयोजनामा सघाउने भनेर गठित समिति र उपसमितिको जिम्मा लिएका पदाधिकारी निस्क्रिय भइदिँदा समस्या भएको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँडले बताएका छन् ।

प्रकाशित : कार्तिक १४, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?