पोखरा प्रिमियर लिग: चर्को प्रतिस्पर्धा

विनोद पाण्डे

पोखरा — दीपेन्द्रसिंह ऐरीले सानदार इनिङ्स खेलेपछि एक्सपर्ट धनगढी ब्लुजले नमस्ते पोखरा प्रिमियर लिग क्रिकेटमा पोखरा पल्टनमाथि ८ विकेटको सनसनी जित हात पार्‍यो  । यस जितले धनगढीको शीर्ष ३ मा पर्ने सम्भावना कायमै राखेको छ  ।

पोखरा प्रिमियर लिग: चर्को प्रतिस्पर्धा

धनगढीले जस्तै हुलास काठमाडौं रोयल्सले पनि तेस्रो जित हात पारेको छ । ज्ञानेन्द्र मल्लको टोलीले बुटवल ब्लास्टर्सलाई ३७ रनले हरायो । शुक्रबार खेल हुनुअघिसम्म अंकतालिकाको शीर्षस्थानमा रहेको बुटवल प्रतियोगिताबाट बाहिरिनेक्रममा पुगेको छ ।


काठमाडौंले ४ खेलमा ३ र धनगढीले ५ खेलमा ३ जित पाए । चितवन, बुटवल र पोखराको ४–४ अंक छ । विराटनगर २ अंकसाथ पुछारमा छ । राउन्ड रोबिन लिगको शीर्षस्थानमा रहने टोली फाइनल पुग्ने प्रावधान छ भने दोस्रो र तेस्रो टोली प्लेअफ खेलेर फाइनल पुग्नेछ । शनिबार विराटनगरसँग चितवन र काठमाडौंसँग पोखरा पराजित भएमात्र बुटवलको शीर्ष तीनमा पर्ने सम्भावना रहन्छ । अन्तिम दिनको खेलअघिसम्म कुनै पनि टोली छनोट भएका पनि छैनन् र बाहिरिएका पनि छैनन् ।

दीपेन्द्रको आक्रामक इनिङ्स
धनगढीलाई विजयनिम्ति अन्तिम २ ओभरमा २७ रन आवश्यक थियो र टोलीसँग २ विकेटमात्र बाँकी थियो । मोहम्मद नाभेदको दोस्रो अन्तिम ओभरमा कप्तान दीपेन्द्रले २ छक्कासहित १३ रन प्रहार गरे । महबुब आलमको अन्तिम ओभरमा दीपेन्द्रले २ चौका र १ छक्का प्रहार गर्दै १७ रन जोडेपछि धनगढीले १ सय ४५ रनको लक्ष्य एक बलअगाडि १ सय ४८ रन बनाउँदै पूरा गर्‍यो ।


म्यान अफ द म्याच दीपेन्द्रले पोखरा रंगशालाको क्रिकेट मैदानमा २६ बल खेल्दै ४ चौका र ४ छक्का प्रहार गर्दै अविजित ४९ रन बनाए । ‘मैदानको एक भाग अर्को भागको तुलनामा सानो थियो । अन्तिम ओभरमा मेरो दिमागमा त्यही खेलिरहयो,’ दीपेन्द्रले भने, ‘खेल जिताउने आत्मविश्वास मभित्र पहिलादेखि नै थियो । १५ र १६ ओभरमा विकेट झरिरहँदा केही अप्ठयारो भएको हो । अर्को भाइ (रोबिन क्षेत्री) लाई मलाई साथ देउ म हानिहाल्छु भनेको थिएँ ।’


ओपनर दिलीप नाथ फेरि सस्तैमा आउट भए । उनले ४ रनमात्र बनाउन सके । सुवेन्दु पाण्डेले २२ र पिटर ट्रेगोले ५३ रन बनाएपछि धनगढी राम्रै स्थितिमा देखिएको थियो । इंग्लिस खेलाडी ट्रेगोले ३४ बल खेलेर ५ चौका र ४ छक्का प्रहार गरे । तर डानियल लरेन्स ३, सन्दीप जोरा ९, सौरभ खनाल ३, मन्जित श्रेष्ठ १ र कमलसिंह ऐरी शून्यमा आउट भएपछि धनगढी दबाबमा आयो ।


पोखराका रशिद खानले ४ विकेट लिए । उनले ४ ओभरमा २४ रन खर्चे । ललितनारायण राजवंशी र कुशल भुर्तेलले २–२ विकेट लिए । यसअघि पावर प्लेमा दबिएको पोखराको इनिङ्स अन्तिममा मात्र उक्सेको थियो । टोलीले ६ ओभर पावर प्लेमा २४ रनमात्र बनाउन सकेको थियो । त्यसमा कुशललाई ३ रनमा गुमाइसकेको थियो । चितवनले बुटवलसँग आफ्नो पहिलो खेलमा बनाएको २२/६ को स्कोर यस प्रतियोगितामा पावर प्लेको कम स्कोर हो ।


आशिफ शेखले २३ बलमा २६, रविइन्दर सिंहले २६ बलमा २८, कप्तान शरद भेषावकरले ११ बलमा १४ र रोहित पौडेलले २१ बलमा ३१ रन बनाएपछि पोखराको स्कोर हेर्नलायक बन्यो । महबुब आलम शून्य, विनोद भण्डारी ७, नाभेद ११ रनमा आउट भए । रशिद ८ बलमा १५ र विक्रम ३ बलमा ८ रन बनाई अविजित रहे ।

काठमाडौंको महत्त्वपूर्ण जित
नरेश बुढाएरको अर्धशतकमा काठमाडौंले बुटवलसँगको खेलमा महत्त्वपूर्ण जित हात पार्‍यो । पोखरासँग शनिबार हुने खेलमा विजय हात पारे काठमाडौं शीर्षस्थानमा रहँदै फाइनल पुग्नेछ । नरेश र कप्तान ज्ञानेन्द्रले २९ बलमा पाँचौं विकेटमा अविजित ६७ रन जोडेपछि काठमाडौंले टस जितेर १७२/४ को स्कोर बनायो । नरेशले २८ बलमा ५८ रन बनाए । म्यान अफ द म्याच उनले ३ चौका र ५ छक्का प्रहार गरे । ज्ञानेन्द्रले १२ बलमा २५ रन बनाउनेक्रममा २ चौका र १ छक्का प्रहार गरे ।


जयकृष्णन कोल्शावाला ३५ बलमा ४५, अमित श्रेष्ठ ४, पवन सर्राफ २२ र गौरव तोमार ११ रनमा आउट भए । बुटवलका विपिन खत्रीले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । रोहन मुस्ताफा र सम्शाद शेखले १–१ विकेट लिए ।


यूएईका कप्तान मुस्ताफाले ५१ बलमा ६१ रन बनाए पनि बुटवलले ९ विकेट गुमाई १ सय ३५ रनमात्र बनाउन सक्यो । उनले ५ चौका र ४ छक्का प्रहार गरे । सागर पुन १, चिराग सुरी ११, भीम सार्की १२, सिद्धान्त लोहनी १३, कप्तान सोमपाल कामी ४, प्रकाश केसी ९, विपिन ४ रनमा आउट भए ।


काठमाडौंबाट अमरसिंह राउटेलाले ३ विकेट लिए । उनले ४ ओभरमा २३ रन खर्चे । नन्दन यादवले ४ ओभरमा १५ र वसन्त रेग्मीले ४ ओभरमा २० रन खर्चेर २–२ विकेट लिए । तोमारको नाममा १ विकेट रहयो ।

प्रकाशित : कार्तिक १७, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?