कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पीपीएल, पोखरा र पारस

पोखरामा क्रिकेट त्यति धेरै लोकप्रिय छैन । जसरी पीपीएल सुरु हुँदै गयो, पहिलो दिनदेखि दर्शक आउन लागे । यसले के देखायो भने यो स्तरको प्रतियोगिता नआएर नै पोखरामा क्रिकेट लोकप्रिय नभएको रहेछ ।
विनोद पाण्डे

पोखरा — नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को एउटा रहस्मय पाटो यससँग आबद्ध व्यक्तिहरू अझै पूर्ण रूपमा खुलेका छैनन्  । नेपाल क्रिकेट संघमा एक समय चिफ अपरेटिङ अफिसर छुम्बी लामा पीपीएलको आयोजक क्विन्स इभेन्टका प्रबन्ध निर्देशक छन्  ।

पीपीएल, पोखरा र पारस

तर नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्लको पनि यसमा संलग्नता खुलेको छ। फ्रेन्चाइज टोली होस् या प्रायोजक, पीपीएलमा अवसर दिएकोमा पारसप्रति आभारी रहेको प्रतिक्रिया दिन्छन् । पोखरा क्रिकेट मैदानको तयारी हेर्न पारस तीनपल्ट यहाँ आइपुगे ।


आधिकारिक रूपमा पारस र ज्ञानेन्द्रको नाम आयोजकमा कहीं आएको छैन । जबकि पीपीएलमा उनीहरूको सक्रियता अझ बढ्दो थियो । उनीहरू जसरी पीपीएलमा आबद्ध छन्, त्यसलाई जोडेर धेरैले यसलाई पारस प्रिमियर लिग, प्लेयर्स प्रिमियर लिग भनेर चर्चा गर्छन् । पारस र ज्ञानेन्द्र दुबै पीपीएलका मार्की खेलाडी पनि हुन् । पारसको कप्तानीमा चितवन राइनोज र ज्ञानेन्द्रको कप्तानीमा हुलास काठमाडौं रोयल्स पीपीएलमा प्रतिस्पर्धा गरिरहेका छन् । पीपीएल व्यवस्थापनमा पारसको आबद्धताबारे उनले कान्तिपुरसँग राखेको प्रतिक्रिया :


एउटा खेलाडीका रूपमा यो प्रतियोगिता निकै राम्रो भइरहेको छ । पोखरामा आएर खेल्न पाएका छौं । यति राम्रो मैदान र यस्तो वातावरणमा नेपाली क्रिकेट जसरी अगाडि बढिरहेको छ अर्को एउटा प्रिमियर लिग घरेलु क्रिकेटमा थपिएको छ । यसले गर्दा म निकै खुसी छु । आस गरौं यो प्रतियोगिताले आगामी वर्षमा अझ माथिल्लो स्थान हासिल गर्नेछ ।


पीपीएल आयोजकका प्रबन्ध निर्देशक छुम्बी लामासँग कुराकानी हुँदा हामी मिलेर एउटा प्रतियोगिता आयोजना गरौं भन्ने सोच आयो । त्यसपछि हामी पोखरा आएर मैदान स्थिति हेर्‍यौं । पोखरालाई पनि क्रिकेटको हब बनाउनुपर्छ भनेर लाग्यौं । लगभग ६(७ महिनाअगाडि यो मैदान हेरेका थियौं, त्यसको चार महिनामा तयारी गरेर यो स्थितिमा आयौं । अहिले प्रतियोगिता सम्पन्न हुनेक्रममा पुगेको छ ।


पोखरामा क्रिकेट धेरै लोकप्रिय छैन । जसरी यो प्रतियोगिता सुरु हँुदै गयो, पहिलो दिनदेखि दर्शक आउन लागे । यसले के देखायो भने यो स्तरको प्रतियोगिता नआएर नै क्रिकेट यहाँ लोकप्रिय नभएको रहेछ । खुसी लागेको छ एउटा नयाँ ठाउँमा क्रिकेट ल्याएर नयाँ संरचना तयार पारेका छौं । आउँदा दिनमा सबैको सहयोगले यसलाई अझ सफल बनाउन सकौं ।


दर्शकको आ(आफ्नै धारण हुन्छ । पारस प्रिमियर लिग वा प्लेयर्स प्रिमियर लिग केही होइन । यो पोखरा प्रिमियर लिग नै हो । एउटा खेलाडी र एउटा आयोजकका रूपमा यसमा आबद्ध छु । जब म्याच सुरु हुन्छ, आफ्नो टिमलाई जिताउने प्रयास गर्छु । प्रतियोगिता आयोजनाको पक्ष सुरु हुनु अगाडि धेरै गर्नुपर्छ । प्रतियोगिताअघि प्रायोजक ल्याउने, टिम जुटाउने विषय निकै चुनौतीपूर्ण थियो । जसोतसो हामी यसमा सफल रहयौं । प्रायोजक र टिम मालिकलाई यसमा धन्यवाद दिनैपर्छ । म नाम कमाएको मान्छे भएकाले सजिलै यो सब मिलाउन सक्यो भनेर अरुलाई लाग्नसक्छ । तर त्यति सजिलो थिएन यो सबै व्यवस्थापन गर्न । निरन्तर रूपमा लागेर आज प्रतियोगिता यो स्थितिमा आइपुगेको हो ।

पोखरा रंगशालाको क्रिकेट मैदानको पिच सफा गरिँदै ।


खेलाडी नै व्यवस्थापकमा लागेकाले स्वार्थ बाझिने होइन । आज क्रिकेट संघ अस्तित्वमा भएको भए संघले नै प्रतियोगिता आयोजना गथ्र्यो । संघ नभएकाले हामीले क्रिकेट लिग गराउने हो कि भनेर सोच्यौं । यो क्रिकेटकै लागि नै हो त्यसैले स्वार्थ बाझिने कुरा आउँदैन । यस प्रतियोगितामा आयोजकका रूपमा आबद्ध भएपछि क्रिकेटलाई एउटा राम्रो प्लेटफर्म बनाइदिनु हो । त्यो आफ्नो पनि र खेलाडीका लागि पनि हो । खेल सुरु भएपछि मेरो प्राथमिकता खेलाडी भएर नै हुन्छ ।


एउटा खेलाडीभन्दा पनि बाहिर क्षेत्रबाट क्रिकेटमा आउँदा व्यवस्थापन त्यति सजिलो छैन जति हामी भन्छौं । यस प्रतियोगिताले आगामी दिनमा के कसो गर्न सकिन्छ भनेर मलाई एउटा नयाँ आयाम दिएको छ । क्रिकेटका लागि यो सबै हो, जति सकिन्छ समय मिलाएर दिने प्रयास गरिरहने छु ।


व्यवस्थापनको हिसाबमा टिम मालिकलाई बुझाउन केही समय लाग्यो । किनभने टिम मालिकहरूमा दुईटा प्रिमियर लिग भइरहेको छ, हामी आबद्ध हुँदा फेरि कसरी गराउने भन्ने थियो । तर हामीलाई सबैभन्दा ठूलो फाइदा पोखरा भयो । नेपालको ठूलो सहर र पर्यटक आउने ठाउँ पोखरामा सबैभन्दा राम्रो मौसम पनि यही बेला हुन्छ । तपाईहरूले गरेको लगानी सिधै खेलाडीलाई जाने हो भनेर टिम मालिकलाई बुझायौं । यो बुझाउन सुरुमा निकै कठिन भयो । प्रायोजक, टिम मालिकले जिम्मेवारी लिइदिनु भएर पहिलो संस्करणमा हामी यो स्थितिमा आइपुगेका हौं ।


तीन(चार महिनाअगाडि हामी यहाँ आउँदा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसँग भेट भयो । उहाँले तपाईहरू क्रिकेट गराउनुहोस् हाम्रो तर्फबाट जे जति स्रोत हुन्छ त्यो उपलब्ध गराउँछु भनेर आश्वासन दिनुभएको थियो । त्यसले पनि हामीलाई थप उर्जा मिल्यो । स्थानीय सरकार र मुख्यमन्त्रीले त्यसरीभन्दा हामीमा जसोतसो भए पनि यो प्रतियोगिता आयोजना गर्न सक्छौं भनेर आत्मविश्वास बढेर आयो ।


व्यवस्थापन भनेको टिमभित्र र खेल्दाखेल्दै पनि गर्नुपर्ने हुन्छ । अहिलेका लागि व्यवस्थापनभन्दा पनि समय थियो त्यसलाई मिलाएर यो प्रतियोगिता आयोजना गर्न लागेका हौं । मेरो पहिलो जिम्मेवारी भनेको देशका लागि खेल्ने हो । आगामी दिनमा सबै मिल्यो भने व्यवस्थापनमा आउने सोच त छ । त्यो व्यवस्थापन भनेको क्रिकेट प्रतियोगिता आयोजना गरेर मात्र हुँदैन ।


एउटा क्रिकेटरका रूपमा हामी सबैलाई आ(आफ्नो क्षेत्रमा क्रिकेट प्रवद्धन गर्नुपर्ने जिम्मेवारी छ । युवा खेलाडीलाई ग्रुम गरेर क्रिकेटमार्फत त्यो समुदाय माथि उठाउनुपर्छ । व्यवस्थापनको यस्ता अरु धेरै पक्ष पनि छ । पीपीएलमा आबद्ध भएर यसलाई यो स्थितिमा ल्याउँदा खुसी लागेको छ ।


पीपीएल आयोजना गर्न सबैभन्दा ठूलो चुनौती यहाँको पिच थियो । कीर्तिपुरबाहेक काठमाडौंबाहिर स्पाइक लगाएर खेल्न पाउने पिच कहीं थिएन । त्यसैले हामीले भारतबाट क्युरेटर ३(४ दिनका लागि मगाएका थियौं । उनलाई स्थानीय क्युरेटरसँग राखेर पिचको स्थितिबारे जानकारी गराएका थियौं । भारतीय क्युरेटरलाई पिचबारे के गर्ने कसो गर्ने रिपोर्ट गइरहेको थियो । अहिले मलाई लाग्छ यो प्रतियोगिताको सबैभन्दा ठूलो उपलब्धि पिच हो । खेलाडीहरू सबैले अनुभव गरेको यो नेपालको सबैभन्दा राम्रो पिच हो ।


अहिले पीपीएल, धनगढी प्रिमियर लिग, एभरेस्ट प्रिमियर लिग भइरहेको छ । जब नेपाल क्रिकेट बोर्ड वा संघ आउँछ उसले नेपाल प्रिमियर लिग भनेर ठूलो प्रतियोगिता आयोजना गराउनैपर्छ । जति धेरै प्रतियोगिता भयो उति राम्रो हो । आबद्धता कसले लिनेभन्दा संघ आएपछि उनीहरूको छहारीमा बसेर काम गर्नुपर्छ । व्यवस्थापनको हिसाबमा हेर्ने हो भने हामीले खेलाडीलाई कसरी अवसर दिने र क्रिकेटलाई कसरी व्यावसायिक बनाउने भन्ने हो ।


लिगहरूले खेलाडीलाई व्यावसायिक बनाउन ठूलो भूमिका खेलेको छ । जुन ठाउँमा लिग भएको छ त्यो ठाउँ पूरै खेलप्रति समर्पित भएको छ । त्यहाँका होटल, रेस्टुरेन्टका मान्छे त्यसमा दत्तचित्त भएर लागेका छन् । त्यसले रोजगारी सिर्जना भएको छ । त्यसैले घरेलु क्रिकेटको संरचनामा नेपाल प्रिमियर लिग हुनुपर्छ, त्यो नेपाल क्रिकेट बोर्डले गराउनुपर्छ । त्यसबाहेक पनि यी लिगहरूलाई एउटा स्थान दिएर क्यालेन्डरमा समावेश गरेर अगाडि बढ्ने हो भने खेलाडीहरू पनि निरन्तर व्यस्त रहन्छन् । यसले क्रिकेटलाई व्यावसायिक दिन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।


एकदिवसीय संरचनामा पनि यस्ता खाले प्रतियोगिता गर्नुपर्छ भन्ने हो । तर टिम मालिक र प्रायोजकमा यसप्रति बुझाउन गाह्रो छ । धेरैजसोले टान्टी–२० अलिकति ग्ल्यामर्स भएकाले छोटो भर्सनलाई नै प्राथमिकता दिनुभएको छ । जब क्रिकेट संघ अस्तित्वमा आउँछ त्यसपछि एकदिवसीय, दुईदिवसीय र तीनदिवसीय खेलमा केन्द्रित हुनुपर्छ । टान्टी–२० निजी क्षेत्रले पनि आयोजना गरिसकेको छ । म पनि चाहन्छु एकदिवसीय खेलहरू बढी हुनुपर्छ । तर त्यसका लागि प्रायोजकहरू छैनन् । सही प्रायोजक भेट्टाउने हो भने एकदिवसीय क्रिकेट गराउनु निकै जरुरी छ ।

प्रकाशित : कार्तिक १७, २०७५ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?