पीपीएलको उपाधि पोखरालाई

विनोद पाण्डे

पोखरा — भारतीय खेलाडी रवि इन्दर सिंहको सानदार ब्याटिङमा पोखरा पल्टनले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको पहिलो संस्करण जितेको छ। मंगलबार भएको फाइनलमा चितवन राइनोजलाई ४ विकेटले पराजित गर्‍यो ।

पीपीएलको उपाधि पोखरालाई

पोखरा रंगशालाको क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको चितवनले कप्तान पारस खड्काको अर्धशतकमा ५ विकेट गुमाई १ सय ६० रनको दरिलो स्कोर बनायो । सिंहले ५८ बलमा ९० रन बनाएपछि स्थानीय टोली पोखराले ४ बल अगाडि लक्ष्य पुरा गर्‍यो।


म्यान अफ द फाइनल सिंहले ५८ बलको इनिङ्समा १३ चौका र ३ छक्का प्रहार गरे। फाइनलमा खेलेको इनिङ्सले सिंहलाई प्रतियोगिताको सर्वाधिक रन स्कोरमा उभ्यायो। उनले कुल २ सय ६० रन बनाए। प्रतियोगितामा यो उनको दोस्रो अर्धशतक हो। राउन्ड रोबिनको खेलमा पनि उनले चितवनविरुद्ध ६५ रन बनाएका थिए।


‘निश्चय पनि फाइनलमा लक्ष्य पछ्याउदा गारो हुन्छ। तर रविले अद्भुत इनिङ्स खेल्दै प्रतियोगितामा दोस्रो पटक खेलमा भिन्नता ल्याउने काम गरे। जुन हिसाबले उसले सुरुआत दिलाए त्यसले हामीलाई सजिलो बनायो,’पोखराका कप्तान शरद भेषावकरले सिंहको बारेमा भने,‘हामीले आफै खेललाई रोमाञ्चक बनायौं जस्तो लाग्छ।पारसको टिमलाई पनि फाइनल यति रोचक बनाउनको श्रेय दिनुपर्छ । उनीहरुले राम्रो पुनरागमन गरेर फाइनललाई रोमाञ्चक बनाए।’


फ्रेन्चाइज लिगमा ३ पटक उपाधि उठाउने शरद पहिलो कप्तान हुन्। उनको नेतृत्वमा पञ्चकन्या तेजले २०१४ मा धनगढीमा एकदिवसीय संरचनाको नेपाल प्रिमियर लिग र २०१६ मा काठमाडौंमा एभरेष्ट प्रिमियर लिग ९ईपीएल० ट्वान्टी २० जितेको थियो। पारसको नेतृत्वमा टिम चौराह धनगढीले २०१६ धनगढी प्रिमियर लिग र गत वर्ष इपीएलको उपाधि जितेको थियो।


लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेलले करण केसीको पहिलो बलमा चौका प्रहार गरे। तर अर्को बलमा शर्ट पिच बल फाल्दै करणले कुशललाई आउट गरेपछि सिंह क्रिजमा आएका थिए । आठौं ओभरमा कृष्ण कार्कीको बलमा चौका प्रहार गर्दै सिंहले ३० बलमै अर्धशतक पुरा गरेका थिए । ओपनर आशिफ शेख १२ रन बनाइ रन आउट भए।


त्यसपछि सिंह र मोहम्मद नाबिदले तेस्रो विकेटमा ३३ रन जोडे । युएईका तीब्र बलर नाबिदले तीन छक्का प्रहार गर्दै १४ बलमा २५ रन बनाए। सिंह र शरदले अर्को विकेटमा ५० रन जोडेपछि पोखराको विजय निश्चित भएको थियो । तर ९ रनको अन्तरमा पोखराले ४ विकेट गुमाएपछि खेल रोमाञ्चक बन्न पुगेको थियो।


२२ रन बनाएका शरदलाई भुवन कार्कीले एलबीडब्लु आउट गरे। दुई बलपछि भुवनले रोहित पौडेललाई शुन्यमा पेभेलियन फर्काए । १९ औं ओभरमा पारसले सिंहको उत्कृष्ट इनिङ्सलाई बाउन्ड्री लाइनमा क्याच गराई अन्त्य गरिदिए। अर्कौ बलमा कृष्णलाई सन्नीले सिधा थ्रोमा रनआउट गरेपछि नाटकीय खेल अन्तिम ओभर पुगेको थियो।


अन्तिम ओभरको पहिलो बलमा भुवनले विनोद भण्डारीलाई डट खेलाए । दोस्रो बलमा विनोदले फाइन लेगमा चौका प्रहार गर्दै पोखरालाई च्याम्पियन बनाए । नेपालको सर्वाधिक पुरस्कार राशीको पीपीएल जितेर पोखराले २७ लाख पायो । चितवनको भागमा १० लाख पर्‍यो । पारसले पोखराले फिल्डिङ पनि उत्कृष्ट गर्दै उपाधिको हकदर बनेको बताए ।


यसअघि पारसले प्रतियोगितामा पहिलो अर्धशतक बनाएका थिए । उनले ५१ रन जोडे । हरिशंकर साह ८ रनमा आउट भएपछि पारस र ओपनर अनिल साहले दोस्रो विकेटमा ७६ रन जोडे । अनिलले स्ट्रेट प्रहार गरेको शट बलर रसिद खानको हातमा लाग्दै स्टम्पमा लागेपछि पारस रनआउट भए । ३७ बल खेलेका पारस ९ चौका प्रहार गरे ।


अनिलले ३८ बल खेली ३ चौका र १ छक्का प्रहार गरी ३७ रन बनाए । सन्नी पटेलले अर्को उपयोगी इनिङ्स खेले । उनले २१ बलमा ३ चौका र ४ छक्का प्रहार गरी ४३ रन बनाए । आरिफ शेख ११ बलमा १४ रनमा नटआउट रहे । पोखराका नाबिद र ललितनारायण राजवंशीले ४ ओभरमा १८ रनमात्र खर्चेर समान १,१ विकेट लिए ।


पटेल उत्कृष्ट:

चितवनका अलराउन्डर सन्नी पटेल उत्कृष्ट खेलाडी बने । उनले प्रतियोगितामा कुल १ सय ९४ रन बनाए । जसमा स्ट्राइक १ सय ७३ रनभन्दा माथी थियो । उनले बलिङमा ३।५८ को इकोनोमीमा १० विकेट लिए । राउन्ड रोबिनको अन्तिम खेलमा विराटनगरविरुद्व र इलिमिनेटरमा काठमाडौंविरुद्ध पटेलले म्यान अफ द म्याच प्रर्दशन गरेका थिए ।


राउन्ड रोबिनको खेलसम्मलाई आधार मानेर दिइएको उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरको उपाधि क्रमशस् काठमाडौं रोयल्सका गौरव तोमार र चितवनका करण केसीले पाए । तोमारले राउन्ड रोबिन लिगमा सर्वाधिक २ सय १२ रन बनाएका थिए । स्थानीय खेलाडी करणले फाइनलको १ विकेटसँगैं कुल १२ विकेट लिए । तीनै विधाको उत्कृष्टलाई सुजुकीको जिक्सर मोटरसाइकल प्रदान गरिएको थियो ।


पोखराका ललितनारायण राजवंशले मोस्ट भ्यालुएवलको पुरस्कार पाए । उनले कुल १० विकेट लिए । उनले प्रति ओभर ६ रनको मुनिमा खर्चेका थिए । पोखराकै रशिद खानले इमर्जिङ खेलाडीको पुरस्कार पाए । उनले ७ विकेट लिएका थिए ।

प्रकाशित : कार्तिक २०, २०७५ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?