१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पीपीएलले बढायो क्रिकेट क्रेज

कान्तिपुर संवाददाता

लेखनाथ — पोखरा पस्र्याङका अशोक पौडेल धान काटेपछिको खेतमा ब्याट लिएर क्रिकेट खेलेको अझैं सम्झन्छन् । उच्च शिक्षाका लागि जर्मनी पुगेका उनले नेपाली क्रिकेटलाई पछयाउन छोडेनन् ।

तीन वर्षपछि घरबिदामा आउँदा क्रिकेट हेर्ने मेसो मिल्यो । गृहमैदानमा चलिरहेको पोखरा प्रिमियर लिग (पीपीएल) हेर्न छुटाउने कुरै भएन । आºनै सहरमा चलिरहेको खेल हेर्न उनी हरेक दिन पोखरा

रंगशाला पुगे ।


‘सुरुको दिनमा दर्शकले एउटा प्यारापिट मात्रै भरिएको थियो,’ उनले भने, ‘तेस्रो दिनसम्म चारवटै प्यारापिट भरिए ।’ खेतमा नाम लिँदै क्रिकेट खेलेका पारस खड्कालाई आँखै अघि देख्दा उनी मख्ख छन् । अहिले युवा खेलाडी सन्दीप लामिछाने उनको मन पर्ने खेलाडी हुन् । क्रिकेटप्रति पोखरेली दर्शकको क्रेज पीपीएलले बढाएको उनी बताउँछन् । भन्छन्, ‘प्रतियोगिता निरन्तर हुने हो भने फुटबलको जस्तै ‘क्रेज’ क्रिकेटको पनि हुनेछ ।’ पीपीएलको व्यवस्थापकीय पक्षले पनि उनलाई लोभ्यायो ।


पोखरा छोरेपाटनकी हिमाल शर्मालाई पनि पीपीएलको उत्कृष्ट लागेको पक्ष यहाँको व्यवस्थापन नै हो । आयोजकले दर्शक, खेलाडीलाई प्रदान गरेको आतिथ्यता देखेर उनी प्रभावित भइन् । ‘यत्तिको स्तरीय खेल हुन्छ जस्तो लागेको थिएन,’ उनले भनिन्, ‘पहिलो भएपछि आशा गरेभन्दा राम्रो भयो ।’ जनप्रिय बहुमुखी क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत उनी लगातार पाँच दिनदेखि रंगशालामा पीपीएल हेर्न आइरहेकी छन् ।


नेपाल आईसीसीमा छनोट भएपछि क्रिकेटप्रतिको चासो बढेको उनले सुनाइन् । ‘पहिले अन्तर्राष्ट्रिय टुर्नामेन्टहरू हेरिरहन्थें,’ कान्तिपुरसँग उनले भनिन्, ‘नेपाल आईसीसीमा छानिएपछि अलि बढी चासो बढ्यो ।’ क्रिकेट मैदानबाट देखिने हिमशृंखलाको रमणीय दृश्यले पनि दर्शकलाई पीपीएलसम्म तानेको उनले बताइन् । ‘पीपीएलले यहाँको स्थानीय खेलाडीलाई उत्प्रेरणा मिल्छ,’ उनी भन्छिन्, ‘क्रिकेटमा आइडिया नभएकालाई पनि हेर्न प्रोत्साहन मिल्छ ।’


पोखरा अमरसिंहका किशोर शर्मा जागिरे हुन् । फुर्सद मिलाएर पीपीएल हेर्न पुग्छन् । उनले चार दिन मैदानमा आएर क्रिकेट हेरे । अरु बेला युटयुबमै प्रत्यक्ष प्रसारण हेरे । विदेशी खेलाडीसहितको प्रतियोगिता पोखरामै बसेर हेर्न पाउँदा आनन्दित भएको उनी बताउँछन् । क्रिकेट क्रेज बढाउन आयोजकले दर्शकलाई टिकटको व्यवस्था नगर्नुलाई उनी सकारात्मक मान्छन् ।


‘पोखरामा अरु ठाउँभन्दा क्रिकेटको क्रेज कम थियो,’ उनले भने, ‘प्रतियोगिताले गर्दा क्रिकेटलाई माया गर्ने दर्शकको उपस्थिति राम्रै देखियो ।’ पोखरामा भएका अन्य प्रतियोगिताभन्दा पीपीएलको व्यवस्थापन राम्रो भएको उनको अनुभव छ ।


पोखरा कुँडहरका कुशल सिग्देल पीपीएल हेर्दा अन्तर्राष्ट्रिय प्रतियोगिताकै झल्को लागेको बताउँछन् । ‘क्रिकेटलाई त्यति साह्रै फलो गर्दिनँ तर आºनै सहरमा भएकाले लगातार एक सातादेखि आएर खेल हेरिरहेको छु,’ उनले सुनाए । पोखरामा अन्तर्राष्ट्रियस्स्तरको क्रिकेट मैदान बन्न सके सबैको चासो क्रिकेटमा बढ्दै जाने उनको तर्क छ ।


पोखराबाट मात्रै होइन, नजिकका सहर दमौली, खैरेनीटार, स्याङजा, कुश्मा, बागलुङबाट पनि पीपीएल हेर्न दर्शक आए । पीपीएलले चितवन र बुटवलबाट पनि दर्शकलाई पोखरासम्म तान्यो । चितवन टाँडीका गौरव मल्ल अन्य पाँच साथीसहित मोटरसाइकल लिएर पोखरा आइपुगे ।


उनीहरूले खेल अवधिभर चितवन राइनोजको समर्थन गरे । ‘फेसबुकमा पोखरा क्रिकेट मैदानको फोटो देखेपछि नआइरहन सकेनौं,’ उनले भने, ‘पीपीएल हेर्न आउँदा पोखरा घुम्ने उद्देश्य पनि पूरा भयो ।’ उनीहरूमध्ये चारजना पहिले नै पोखरा घुमिसके पनि बाँकी दुई पहिलोपल्ट आएको उनले जनाए ।


पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले आन्तरिक पर्यटक बढी आउने मौसममा पीपीएलले थप पाहुना तानेको बताउँछन् । ‘अहिले आन्तरिक पर्यटकले होटल भरिभराउ छन्,’ उनले भने, ‘पीपीएल हेर्न टाढा–टाढाबाट आएका दर्शकले पनि होटलको व्यापारलाई सघाएका छन् ।’


आयोजक क्विन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बी लामा अपेक्षाअनुरुप नै दर्शकको आगमन भएकोमा सन्तुष्ट छन् । ‘हाम्रो उद्देश्य पोखरामा क्रिकेट क्रेज बढाउनु नै थियो,’ कान्तिपुरसँग उनले भने, ‘एकहदसम्म त्यो प्रयास सफल भएको छ ।’ पीपीएलले पोखरेली क्रिकेटमा दूरगामी असर पुग्ने उनको ठम्याइ छ । भन्छन्, ‘अहिले दर्शकको क्रेज बढेको मात्रै देखिन्छ तर पोखरेली क्रिकेटको भविष्यमा यसले धेरै ठूलो परिवर्तन ल्याउनेवाला छ ।’


जिल्ला क्रिकेट संघ कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देल पीपीएलको सिधा प्रभाव स्थानीय खेलाडीमा पर्ने बताउँछन् । ‘मुख्य त यहाँका खेलाडीले राष्ट्रिय र विदेशी खेलाडीको खेल अवलोकन गर्न पाएका छन्,’ उनी भन्छन्, ‘उनीहरूको खेलकौशल हेरेरै धेरै सिक्न सकिन्छ ।’ नयाँ खेलाडीलाई क्रिकेटमा भविष्य देख्न पनि पीपीएलले सहयोग पुर्‍याउने उनको आस छ ।

प्रकाशित : कार्तिक २२, २०७५ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?