२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

‘हाइअल्टिच्युड’ खेलस्थलका लागि अध्ययन

प्रकाश बराल

बागलुङ — ढोरपाटन शिकार आरक्ष नजिकैको ठूलो मैदानमा ‘हाइअल्टिच्युड ट्रेनिङ सेन्टर’ निर्माण गरिने भएको छ । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले उक्त क्षेत्रमा सबै प्रकारका खेलकुदको प्रशिक्षण गर्न मिल्ने गरेर केन्द्र बनाउन अध्ययन थालेको हो ।

जिल्ला खेलकुद विकास समिति र पश्चिमाञ्चल खेलकुद विकास समितिका पदाधिकारी समेतको सहभागितामा परिषदले प्रारम्भिक अध्ययन गरेको छ ।


कम्तीमा एक सय रोपनी जमिन उपलब्ध गराउने कामका लागि मन्त्रालय र परिषद्ले जिल्ला खेलकुद विकास समितिलाई आग्रह गरेको छ । त्यसका लागि समितिले अध्ययन गरेर सरोकारवालासँग छलफल गरिसकेको अध्यक्ष धनबहादुर परियारले बताए । अवलोकनका लागि परिषदले इन्जिनियर प्रनिश ताम्राकारको नेतृत्वमा प्राविधिक पनि खटाएको थियो । ‘हामीले पहिलो अध्ययनमा आवश्यक जग्गा उपलब्ध गर्न दुई ठाउँ छनोट गरिसकेका छौं,’ अध्यक्ष परियारले भने, ‘आवश्यक पूर्वाधार बनाउन सकियो भने नेपालकै उत्कृष्ट खेलगन्तव्य हुनेछ ।’ यहाँ अन्तर्राष्ट्रिय मापदण्डअनुसारको फुटबल मैदान र सुविधासम्पन्न कभर्डहल निर्माण गर्ने मन्त्रालयको योजना छ ।


कभर्डहलमा ‘इन्डोर’ खेलहरू सञ्चालन हुनेछन् भने मैदानमा क्रिकेट, फुटबल र अन्य खेलको अभ्यास र राष्ट्रिय प्रतियोगिता गर्न सकिन्छ । विस्तृत अध्ययनका लागि मन्त्रालयले चालु वर्ष ३० लाख रुपैयाँको बजेट पनि विनियोजन गरेको छ । केही वर्षअघि महावीर पुनले पनि यो क्षेत्रको अध्ययन गरेर शीतकालीन ओलम्पिकका लागि मैदान निर्माण गर्न सकिने प्रतिवेदन सरकारलाई पेश गरेका थिए । समितिले पनि उत्तरगंगा नजिकैको एक स्थान र छेन्टुङको अर्को मैदानलाई सिफारिस गरेको हो ।


केही भाग आरक्षभित्र पर्छ भने केही स्थान सार्वजनिक जमिन छन् । ‘राष्ट्रिय महत्त्वकै काम गर्ने हो भने सार्वजनिक जमिन उपयोग गर्न सकिन्छ,’ पश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष सम्पन्न श्रेष्ठले भने, ‘यो मैदान बनाउन सक्दा देशकै पहिचान बढ्नेछ ।’ ढोरपाटनमा अहिलेसम्म शिकारका लागि विदेशी शिकारी आउने गर्छन् । खेल मैदान बनाएमा संसारभरका खेलाडीले अभ्यासका लागि आउने वातावरण बन्ने उनले बताए ।


जग्गा छनोट गरेपछि मैदानका लागि डीपीआर बनाउने काम सुरु हुने जिल्ला खेलकुद अध्यक्ष परियारले बताए । त्यसका लागि प्राविधिक रूपमा माटो परीक्षण गर्ने काम समेत गरिने छ । ढोरपाटन सालझण्डी सडक निर्माणाधीन भएकाले ढोरपाटन पुग्न अझै सहज छैन । यो सडक छिटो निर्माण गरेर सहज आउजाउ बनाएपछि निर्माणले गति लिने उनले बताए । यो क्षेत्रलाई संघीय सरकारले पर्यटकीय गन्तव्य निर्माण गर्ने सूचीमा पनि सूचीकृत गरेको छ । हाल आन्तरिक पर्यटक समेत बढ्न थालेकाले सहज सडक र होटल निर्माण भएमा आकर्षक खेल र पर्यटकको गन्तव्य हुने उनले बताए ।


हाल ढोरपाटन नगरपालिका क्षेत्रमा पर्ने यो भागको विकासका लागि नगरपालिका तहबाट पनि पहल थालिएको छ । उक्त स्थानका धार्मिक र पर्यटकीय गन्तव्यको पुनर्निर्माण, मर्मत र व्यवस्थापनका लागि नगरपालिकाले १ करोड बढी लगानी गरिसकेको प्रमुख देवकुमार नेपालीले बताए । यहाँ निर्माण गरिने उत्तरगंगा जलविद्युत आयोजनाले पनि यो क्षेत्रको महत्त्व अझै बढाउने उनले बताए ।

प्रकाशित : कार्तिक २२, २०७५ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?