२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बार्सिलोना नकआउट चरणमा

च्याम्पियन्स लिग
एएफपी

पेरिस — बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिग फुटबलको नकआउट चरण यात्रा मंगलबार निश्चित गरेको छ । बार्सिलेनाले इन्टर मिलानको घरमा १–१ को बराबरी खेलेपछि यो उपलब्धि हात पारेको हो ।

बार्सिलोना नकआउट चरणमा

यस्तै ह्यारी केनले टोटेनहमको सम्भावना जीवन्त पारेको छ भने लिभरपुलले भने स्तब्धपूर्ण हार बेहोरेको छ । गत वर्षको उपविजेता लिभरपुल रेडस्टार बेलग्रेडको हातबाट पराजित भएको छ । तर दिनको खेलमा सबैभन्दा ठूलो पराजित टिम रह्यो, थिएरी हेनरीको मोनाको । मोनाको क्लब ब्रुगसँग घरमै ४–० ले पराजित रह्यो ।


यता सान सिएरोमा भएको खेलमा बार्सिलोना लियोनल मेसीबिना मैदान उत्रेको थियो । बैकल्पिक खेलाडी माल्कमले स्पेनी च्याम्पियनलाई खेलको अन्त्यतिर अग्रता दिलाएका थिए । लगत्तै माउरो इकार्डीले ८७ औं मिनेटमा बराबरी गोल फर्काए । यो बराबरी नतिजाले तीनपल्टको पूर्वविजेता इन्टर मिलान पनि समूह ‘बी’ बाट अन्तिम १६ को चरणमा पुग्ने सम्भावना बलियो पारेको छ ।


टोटेनहम पनि नकआउट चरण प्रवेशका लागि प्रयासरत छ । केनले खेलको अन्त्यतिर गोल गरेपछि टोटेनहमले पीएसभी आइन्डहोभनलाई २–१ ले पन्छायो । वेम्बलीमा भएको खेलमा डच टिमले ल्युक डी जङको गोलको माध्यमबाट दोस्रो मिनेटमै अग्रता लिएको थियो । कप्तान केनले खेलमा १२ मिनेट बाँकी छँदा बराबरी गोल गरे । उनको निर्णायक गोल भने ८९ औं मिनेटमा सम्भव भएको थियो । यसपल्टको प्रतियोगितामा टोटेनहमको यो पहिलो जित हो ।


‘हामीले आजको खेलमा निकै मिहिनेत गर्नुपर्‍यो,’ केनले भने, ‘यसपल्टको सिजनमा हामी उतारचढावपूर्ण यात्राबाट गुज्रिरहेका छौं ।’ सर्बियामा भएको खेलमा लिरभपुल जितका लागि बलियो प्रत्याशी रहेको थियो । तर योर्गन क्लोपको टिम सन् १९९१ को युरोपेली कप विजेता रेडस्टारको हातबाट २–० ले पराजित रह्यो । मिलान पाभ्कोभले पहिलो हाफ ( २२ र २९ औं मिनेट) मा सात मिनेटको अन्तरमा दुई गोल गरे । यस जितसँगै घरेलु दर्शकमा अपार खुसीयाली छाएको थियो ।


‘आज हाम्रो प्रदर्शन निकै निराशाजनक रह्यो । म आफै स्तब्ध छु । अब हामीसामु आफ्नो खेलमा सुधार्नेबाहेक अर्को विकल्प छैन,’


क्लोपले भने । सोही समूहको अर्को खेलमा नेपोलीले पेरिस सेन्ट जर्मेनलाई १–१ को बराबरीमा रोक्यो । नेपोलीले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर बराबरी गरेको हो । केलियन एमबाप्पेको पासमा जुवान बर्नाटले पीएसजीका लागि पहिलो गोल गरे । दोस्रो हाफमा लोरेन्जो इसिग्ने पेनाल्टीबाट बराबरी गोल फर्काए ।


‘यो समूह निकै कठिन छ । लिभरपुल पनि पराजित भएपछि यो समूहमा सबै प्रकारको सम्भावना खुला छ,’ पीएसजीका जुलियन ड्राक्सलरले भने । लिभरपुल र नेपोलीको समान ६ अंक छ । पीएसजी एक अंक पछाडि छ । अर्को खेलका लागि लिभरपुलले फ्रान्सेली राजधानीको यात्रा गर्नेछ । दिनको अरु खेलमा एट्लेटिको म्याड्रिडले बोरुसिया डर्टमन्डलाई ४–० ले हरायो । ब्रुगसँगको हारपछि सन् २०१७ को सेमिफाइनल खेलेको मोनाको यसपल्ट अभाग्यशाली रह्यो ।


‘टिमले अहिले जसरी खेलिरहेको छ, त्यसमा म निकै चिन्तित छु,’ प्रशिक्षक हेनरीले माने, ‘हामीसामु अब पूरा सिजन निकै ठूलो चुनौती छ । टिमले चाँडै आफ्नो स्थिति सुधार्नुपर्नेछ ।’ एफसी पोर्टोले समूह ‘डी’ को खेलमा लोकोमोटिभ मस्कोलाई सजिलै ४–१ ले हरायो । यस जितपछि पोर्टोको नकआउट चरण पुग्ने सम्भावना बलियो भएको छ । जर्मन टिम साल्के ०४ यो समूहको शीर्षस्थानमा छ । उसले अर्को खेलमा टर्कीको गालाटासारेलाई २–० ले हरायो ।

प्रकाशित : कार्तिक २२, २०७५ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?