बंगलादेशको बलियो प्रदर्शन

एएफपी

ढाका — मोमिनुल हक र मुसफकिर रहिमले शतक प्रहार गर्दै कीर्तिमानी साझेदारी गरेपछि बंगलादेशले जिम्बावेविरुद्धको दोस्रो टेस्टको पहिलो दिन आइतबार बलियो प्रदर्शन गरेको छ । मोमिनुलले १ सय ६१ रन बनाए । मुसफकिर १ सय ११ रन बनाएर नटआउट छन् । 

बंगलादेशको बलियो प्रदर्शन

सेर ए बंगला स्टेडियममा पहिलो दिनको खेल समाप्त हुँदा बंगलादेश पाँच विकेट गुमाएर ३ सय ३ रनको स्थितिमा छ । मोनिनुल र मुसफकिरले चौथो विकेटका लागि २ सय ६६ रनको साझेदारी गरे । बंगलादेश एक समय तीन विकेट गुमाएर २६ रनको खराब स्थितिमा थियो । बंगलादेशले पछिल्ला नौ टेस्ट इनिङ्समा दुई सय रन पार गरेको यो पहिलोपल्ट हो ।


मोनिमुलले २ सय ४२ बलको सामना गरेर १९ चौका प्रहार गरेका छन् । उनको यो सातौं टेस्ट शतक हो । मुसफकिरले भने छैटौं शतकका लागि नौ चौका प्रहार गरिसकेका छन् । साझेदारीका क्रममा उनीहरूले मोमिनुल र लिप्टन दासको नाममा रहेको चौथो विकेटको कीर्तिमानलाई पनि उछिने । गत वर्ष यो जोडीले चौथो विकेटका लागि १ सय ८० रन जोडेका थिए । यो प्रदर्शन श्रीलंकाविरुद्ध थियो ।


जिम्बावेले सुरुआती केही सफलतापछि साझेदारी तोड्न नयाँ बलको आवश्यकता परेको थियो । टेनदाइ चटाराको बलमा मोमिनुलले गलीमा ब्रायन चारीलाई क्याच दिए । केली जार्भिसले नाइटवाच म्यानको भूमिमा रहेका तइजुल इस्लामलाई चार रनमा आउट पारे । स्टम्प हुन अगाडि अन्तिम दोस्रो बलमा उनले यो विकेट लिएका हुन् ।


सिलेटमा भएको पहिलो टेस्ट १ सय ५१ रनले जितेको जिम्बावेले यसक्रममा पाँच वर्षयता पहिलो सफलता चाखेको थियो । यसले यही प्रदर्शनलाई कायम राख्दै पहिलो घण्टाको खेलमा बंगलादेशी ब्याट्सम्यानलाई निरन्तर दबाबमा राख्यो ।


तीव्र बलर जाभिएसले प्रारम्भिक ब्याट्सम्यान इमरुल केयस र लिप्टनलाई आउट पारे । डोनाल्ड टिरिपिानोले भने डेब्यु गरिरहेका मोहम्मद मिथुनलाई पेभेलियनको बाटो देखाए । मिथुनले खाता पनि खोल्न सकेनन् ।

प्रकाशित : कार्तिक २६, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?