कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

क्यानडाका करीको ह्याट्रिक

याक अट्याक २०१८
आश गुरुङ

लमजुङ — क्यानडाका करी वालेसले चक्रीय अन्नपूर्ण पदमार्गमा यस वर्ष आयोजित ‘याक अट्याक २०१८’ साइकल दौड प्रतियोगिता जितेका छन् । याक अट्याक उच्च हिमाली भेगमा गरिने अन्तर्राष्ट्रिय स्तरको साइकल दौड प्रतियोगिता हो ।

क्यानडाका करीको ह्याट्रिक

अन्नपूर्ण पदमार्गमा पर्ने संसारकै अग्लो हिमाली भन्ज्याङ थोराङ्ला (५,४१६ मिटर) पास गरेर ३४ वर्षे उनले यसपटक पनि याक अट्याकको बाजी मारे । ५ दिने दौडको १ सय ८५ किलोमिटर दूरीलाई उनले १२ घण्टा ३० मिनेट ५० सेकेन्डमा पूरा गरे ।


याक अट्याकमा यो उनको तेस्रो सफलता थियो । यसअघि उनले सन् २०१६ र १७ मा याक अट्याक जितेका थिए । ‘लगातार तेस्रो पटक जित्दा गर्वले छाती फुलेको छ,’ आइतबार साँझ पोखरामा आयोजित पुरस्कार तथा प्रमाणपत्र पाएपछि उनले खुसी व्यक्त गरे । यसपटक उनी १४ देशका ३२ प्रतियोगीलाई पछि पार्दै पहिलो बनेका हुन् । प्रतियोगितामा सहभागी ३३ मध्ये ९ जना नेपाली थिए । अरू सबै विदेशी थिए ।


लमजुङको बेंसीसहरबाट सुरु भएको उक्त प्रतियोगिता ताल, माथिल्लो मनाङ गाउँ, थोराङफेदी, मुस्ताङको कागबेनी हुँदै कालोपानीमा पुगेर टुंगिएको थियो । प्रतियोगितामा निर्धारित दूरी १३ घण्टा ३१ मिनेट ४६ सेकेन्डमा पार गर्दै नेपाली साइकल रेसलर २४ वर्षे रोअन भनिने बुद्धिबहादुर तामाङ दोस्रा भए ।


२ महिने तालिमको उत्तराद्र्धमा साइकलबाट लडेर घाइते भए पनि उनले प्रतियोगितामा सहभागिता जनाएका थिए । उनलाई पछ्याउँदै नेपालकै ओकेश बज्राचार्यले १३ घण्टा ३५ मिनेट १ सेकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो भए ।


‘याक अट्याक हुनुभन्दा १२/१३ दिन अघिमात्रै म लडें । ८ दिन त झोलमात्रै खाएँ । मलाई शक्ति पुगेन,’ रोअनले भने । सबैभन्दा हाइअल्टिच्युट थोराङ्लाफेदीदेखि थोराङपास हुँदै कागबेनीसम्मको २७ किलोमिटरमा करीले रोअनलाई मात्र एक सेकेन्डले जिते ।


करीले निर्धारित दूरी २ घण्टा २१ मिनेट ३ सेकेन्डमा पार गरे भने रोअनले २ घण्टा २१ मिनेट ४ सेकेन्डमा पार गरे । ‘प्रतियोगिताको चौथो दिन दुई भाइबीच निकै प्रतिस्पर्धा भयो । प्रतियोगिताको यो सबैभन्दा अप्ठ्यारो ठाउँ मानिन्छ,’ व्यवस्थापक माउन्टेन बाइक (एमटीबी) नेपालका निर्देशक अजय पण्डित क्षत्रीले भने । ११ औं पटकसम्म लगातार याक अट्याकमा भाग लिएका अजय यसपटक व्यवस्थापनमा खटिएका थिए ।


महिलातर्फ अस्ट्रेलियाकी ३१ वर्षीया करेन हिलले बाजी मारिन् । ८ प्रतियोगीलाई पछि पार्दै उनले निर्धारित दूरी १७ घण्टा ५९.२१ मिनेटमा सकिन् । पहिलोपटक नेपाल आएर याक अट्याकमा सहभागी उनको यो रेकर्डलाई उनका साथीहरूले प्रशंसा गरे । ‘मैले अन्तर्राष्ट्रिय प्रतियोगितामा खासै भाग लिएको छैन भन्दा पनि हुन्छ । भारत, इस्टटिमोरमा गएँ । नेपालमा पहिलोपटक । पहिलो हुँदा खुसी छु,’ उनले सुनाइन् ।


खुला प्रतिस्पर्धामा उनी नवौं स्थानमा रहिन् । नेपाली साइकल रेसलर ३० वर्षीया लक्ष्मी मगरले निर्धारित दूरी १९ घण्टा १८ मिनेट २५ सेकेन्डमा पार गरिन् । गत वर्षकी विजेता उनले यो समेत गरी ६ पटक याक अट्याकमा भाग लिएको बताइन् । गत वर्ष श्रीलंकामा आयोजित एसियन च्याम्पियनसिपमा महिलातर्फ पहिलो भएर आएकी उनी याक अट्याक २०१८ मा सहभागी एकमात्रै नेपाली महिला थिइन् । अन्य ३ जना महिला विदेशी थिए । खुला प्रतिस्पर्धामा उनी १४ औं स्थानमा छिन् ।


महिलातर्फ नेदरल्यानडकी निन्के उस्ट्रा तेस्रो भइन् । उनले २६ घण्टा ३६.५८ मिनेटमा निर्धारित दूरी पार गरिन् । उनी खुलातर्फ २६ औं स्थानमा रहिन् । पुरुष र महिला दुवैका विजयी पहिलो, दोस्रो र तेस्रोलाई क्रमश: १ हजार अमेरिकी डलर, ५ सय डलर र तेस्रोलाई २ सय ५० डलर प्रदान गरिएको आयोजक बेलायतस्थित माउन्टेन बाइकिङ वल्र्ड वाइडका निर्देशक फिल इभान्सले बताए ।


४० वर्षमाथिका प्रतियोगीमध्ये १५ घण्टा ३८ मिनेट र १८ सेकेन्डमा निर्धारित दूरी पार गर्दै नेपालका हर्क लामा पहिलो भए । पोर्चुगलका जोसे टेक्सेरियाले १८ घण्टामा निर्धारित दूरी पार गर्दै दोस्रो भए । स्पेनका जोसे मारिया अर्डेजोनले १८ घण्टा ५ मिनेट ३६ सेकेन्डमा उक्त दूरी पार गर्दै तेस्रो भए ।


५० वर्षमाथिका ६ जनामध्ये १६ घण्टा २५ मिनेट ३२ सेकेन्डमा निर्धारित दूरी पार गर्दै बेल्जियमका पिर्रे कस्टाग्ने प्रथम भए । बेल्जियमकै सर्ज भ्यान भौचेलनले १९ घण्टा ४७ मिनेट ४७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रा र बेल्जियमकै भिसेन्ट गौभरनियरले २० घण्टा १२ मिनेट १३ सेकेन्डमा दौड पूरा गरी तेस्रो भए । उनीहरूले मेडल र प्रमाणपत्र पाए ।


विजयीलाई आइतबार साँझ पोखरामा पश्मिाञ्चल खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ, जिल्ला खेलकुद विकास समिति कास्कीका कोषाध्यक्ष तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक गोदार, साइक्लिङ संघ कास्कीका अध्यक्ष शंकर भण्डारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष राजन पौडेल लगायतले पुरस्कार वितरण गरे ।


प्रतियोगिताका व्यवस्थापक मुखिया गोतामे (स्नोमङकी) का अनुसार नोभेम्बर ५ तारिखमा बेंसीसहरबाट सुरु भएको याक अट्याकको १२ औं संस्करण मनाङ हुँदै मुस्ताङको कालोपानीमा १० तारिख (शनिबार) सकिएको हो । समापन समारोह आइतबार साँझ पोखरामा गरिएको हो ।


प्रतियोगितामा नेपाल साथै बेलायत, अस्ट्रिया, क्यानडा, कोष्टारिका, स्विट्जरल्यान्ड, अमेरिका, फ्रान्स, इटाली, स्पेन, पोर्चुगल, बेल्जियम, इक्वेडर र अस्ट्रेलियाका प्रतियोगी सहभागी थिए । ५ दिनसम्म साइकल दौडाएका उनीहरूले दोस्रो दिनपछि मनाङमा एक दिन थकाइ मारेका थिए ।


यसअघि काठमाडौंको शिवपुरीदेखि सुरु भएर नुवाकोट, गोरखा हुँदै लमजुङ आएर चक्रीय अन्नपूर्ण पदमार्गमा प्रवेश हुने गरेको उक्त साइकल रेस १० औं संस्करणयता लमजुङबाट हुँदै आएको छ । १० औं संस्करण सार्कभिलेज घलेगाउँलगायत ग्रामीण क्षेत्रमा पुगेर फर्किएपछि चक्रीय अन्नपूर्ण पदमार्गमा गएको थियो । गएको वर्ष बेंसीसहरबाटै सुरु भएको थियो ।


बीबीसी, सीएनएन जस्ता अन्तर्राष्ट्रिय मिडियाले समेत प्रसारण गर्ने गरेको उक्त प्रतियोगिताले नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुगेको दाबी इभान्सले गरे । ‘यस्ता प्रतियोगिता नेपाल आफैंले गर्नुपर्छ । सरकारले पनि गर्नुपर्छ । हामीले त सहयोग गर्नेमात्रै हो,’ उनले भने ।

प्रकाशित : कार्तिक २७, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?