बंगलादेशसँग निर्णायक खेल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली महिला टिमले ओलम्पिक २०२० एसियाली छनोटको दोस्रो चरणमा पुग्ने लक्ष्यसहित मंगलबार चिरपरिचित प्रतिद्वन्द्वी बंगलादेशविरुद्ध यांगुनस्थित थुवुन्ना रंगशालामा प्रतिस्पर्धा गर्दै छ ।

दोस्रो चरणको यात्रा तय गर्नको लागि नेपालले बंगलादेशलाई अघिल्ला खेलहरूको तुलनामा अझ राम्रो नतिजा निकाल्नुपर्ने आवश्यकता छ । तर, हार वा बराबरी नतिजाले भने नेपाली टिमको चुनौती समूह ‘सी’मा नै समाप्त हुनेछ ।


समूह चरणमा अन्तिम चरणका खेल मात्र बाँकी रहेको अवस्थामा आयोजक म्यान्मार र भारत ४–४ अंकसहित अगाडि छन् भने नेपाल दुई अंकसहित तेस्रोमा रहेको छ । सुरुका दुई खेलमा गोलको खाता पनि खोल्न नसकेको बंगलादेश म्यान्मारविरुद्ध ५–० र भारतविरुद्ध ७–० को हारसहित चौथोमा छ । नेपालले भारत र म्यान्मारसँग समान १–१ को नतिजा निकालेको थियो ।


नेपाल र बंगलादेशको खेलपछि म्यान्मार र भारतवीच प्रतिस्पर्धा हुनेछ । बंगलादेशविरुद्धको जितमात्र नेपालको लागि समूह विजेता भएर दोस्रो चरणमा छनोट हुन पर्याप्त हुने छैन, त्यसको लागि अर्को खेलमा अनुकूल नतिजा पनि आवश्यक हुनेछ । भारत र म्यान्मारको खेलमा विजयी हुने टिम समूह विजेताको रूपमा स्वत: दोस्रो चरणमा पुग्नेछ । तर, भारत र म्यान्मारले बराबरी खेलेमा नेपाल जितसहित समूह विजेता बन्नसक्छ ।


‘छनोटको दोस्रो चरणमा प्रवेश गर्न हाम्रो लागि बंगलादेशविरुद्धको खेल महत्त्वपूर्ण छ,’ नेपाली टिमका मुख्य प्रशिक्षक हरि खड्काले भने, ‘छनोटको सम्भावना बलियो बनाउन तीन अंकको लागि खेल्नेछौं ।’ उनको टिमले यसअघि बंगलादेशविरुद्ध भएका चारै खेल जितेको थियो ।

प्रकाशित : कार्तिक २७, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?