कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

प्रशिक्षण दिन आए रोड्स

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटमा टेस्ट खेल्ने बलिया राष्ट्रलाई पराजित गरेको इतिहास छ । त्यसको प्रभाव अझै विश्व क्रिकेटमा देख्न पाइन्छ ।

प्रशिक्षण दिन आए रोड्स

विश्व क्रिकेटका उत्कृष्ट फिल्डर दक्षिण अफ्रिकाका जोन्टी रोड्सलाई नेपालसँग जोड्ने पुल पनि दशकअघि यू–१९ विश्वकपमा पाएको सनसनी नतिजाले गर्‍यो ।

इन्डियन प्रिमियर लिगमा नौ वर्षसम्म मुम्बई इन्डियनको सहायक र फिल्डिङ प्रशिक्षक रहेका रोड्स दुई साताका लागि आइतबार राति नेपाल आएका छन् । उनीसँगै वेस्ट इन्डिज र अफगानिस्तानका पूर्व फिल्डिङ प्रशिक्षक रयान मारोन पनि काठमाडौंमा छन् । यी दुईले नेपाली राष्ट्रिय टोलीसहित नेपाली यू–१६ र नेपाली यू–१९ टोलीलाई विभिन्न चरणमा प्रशिक्षण दिनेछन् ।

‘मेरो दृष्टिकोणमा नेपाल यू–१९ को स्तरको बलियो टोली हो । नेपालले यू–१९ को विश्वकपका खेलहरूमा दक्षिण अफ्रिका र पाकिस्तानलाई पराजित गरेको छ,’ ४९ वर्षको उमेरमा उस्तै फुर्तिला देखिएका रोड्सले भने, ‘मुख्य चिन्ता यू–१९ पछि यी क्रिकेटर के गर्छन् भन्ने हो । कम सुविधा, स्रोत र भौतिक पूर्वाधारले यस्तो भएको हो । रायन र मैले प्रशिक्षणमा आउनेलाई जे सिकाउँछौं त्यो उनीहरूको खेल जीवन भरिलाई हुनेछ ।’

यू–१९ विश्वकपमा नेपाल ‘जायन्ट किलर्स’ को उपनामले चिनिन्छ । नेपालले २००२ को विश्वकपमा पाकिस्तान र जिम्बावेलाई पराजित गरी सनसनी मच्चाएको थियो । त्यसलाई निरन्तरता दिँदै नेपालले २००४ मा दक्षिण अफ्रिका, २००६ को प्लेट सेमिफाइनलमा दक्षिण अफ्रिका तथा फाइनलमा न्युजिल्यान्ड र २००८ मा जिम्बावेलाई पराजित गरेको थियो ।

‘यो हाइपर्फोमेन्स क्याम्प १० दिनका लागि मात्र होइन । हामी त्यसलाई निरन्तरता दिँदै नेपाली क्रिकेट माथि उठेको हेर्न चाहन्छौं । हाम्रो ध्यान केवल खेलाडीमा मात्र होइन विभिन्न चरणमा गरी प्रशिक्षकहरूसँग प्रशिक्षण कोर्स सञ्चालन गर्नु पनि हो,’ नेपाल क्रिकेट स्कुलको प्रयासमा काठमाडौं आएका रोड्सले सोमबार पत्रकार सम्मेलनमा भने, ‘हामी ती प्रशिक्षकहरूसँग यो कोर्स गर्नेछौं जसलाई यस बारेमा थाहा छ ।’

उनीहरूको साथमा नेपाल क्रिकेट स्कुलका प्रशिक्षकद्वय विनोद दास र कलाम अली पनि हुनेछन् ।

आयोजकले नोभेम्बर १२ देखि २१ सम्म हाइपर्फमेन्सको अवधारणामा विकसित प्रशिक्षण शैलीमा आधारित भएर ‘राइज अफ द क्रिकेटिङ स्टार्स विथ जोन्टी रोड्स’ कार्यक्रम गर्ने निधो गरेको थियो । तिहार तथा छठका कारण आयोजकले कार्यक्रम दुई दिन सार्न पुगे । रोड्स र मारोन भने निर्धारित तालिका अनुसार नै काठमाडौं आइपुगे ।

नेपाल क्रिकेट स्कुलका अभिषेक केसीका अनुसार नेपाली टोली बाहिरका खेलाडीलाई भने हाइपर्फमेन्स क्याम्पमा सहभागी हुन शुल्क लाग्नेछ । निजी क्षेत्रबाट ४७ जना खेलाडीले क्याम्पमा सहभागी हुन नाम दर्ता गराइसकेका छन् । आयोजकको आशा क्याम्पमा सहभागी हुन आउनेको संख्या ८० पुग्नेछ । सहभागीले प्रतिव्यक्ति रु ५० हजार बुझाउनुपर्नेछ ।

नेपाल क्रिकेट स्कुलको टोलीले भारतको मुम्बईमा दुई पक्षीय शृंखला खेल्दै आएको छ । केसीका अनुसार त्यही क्रममा मुम्बई क्रिकेट संघका पदाधिकारीहरूसँगको हिमचिमपछि रोड्सलाई नेपाल ल्याउन सकिएको हो ।

१९९२ को विश्वकपमा पाकिस्तानका इन्जमाम उल हकलाई गरेको असाधारण रनआउटका कारण विशेष सम्झिने रोड्सले दक्षिण अफ्रिकाबाट ५२ टेस्ट र २ सय ४५ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेले ।

प्रकाशित : कार्तिक २७, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?