ओलम्पिक छनोट : नेपाल दोस्रो चरणमा

रासस

काठमाडौँ — ओलम्पिक महिला फुटबलको एशियन छनोटमा अपराजित रहँदै नेपाल दोस्रो स्थानमा पुग्न सफल भएको छ । मंगलबार भएको बङ्गलादेशसँगको तेस्रो खेल एक/एक गोलको बराबरीमा सकिएसँगै नेपाल दोस्रो चरणमा पुगेको हो । 

समूहको शीर्ष दुई टोली र तेस्रो हुने उत्कृष्ट दुई टोली अर्को चरणमा पुग्ने प्रावधान छ । यसका अनुसार नेपाल समूह विजेता वा उपविजेता नबने पनि उत्कृष्ट दुई घोषित हुँदै दोस्रो चरणमा पुगेको हो ।


म्यानमारको याङ्गोनस्थित थुनुवा रंगशालामा नेपालले १७औँ मिनेटमा कप्तान निरु थापाको गोलमा अग्रता लिएको हो तर दोस्रो हाफको ‘इन्ज्युरी’ समयमा नेपालले गोल खाएपछि लगातार तेस्रो खेल बराबरीमा चित्त बुझाउनुपर्यो । इन्ज्युरी समयको तेस्रो मिनेटमा बङ्गलादेशकी अखी खातुनले बराबरी गोल फर्काएकी थिइन् ।


सन् २०२० मा हुने टोकियो ओलम्पिक छनौटमा १८ देशको सहभागिता छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । भिएतनाम र उज्वेकिस्तान फिफा वरियताका आधारमा दोस्रो चरणका लागि छनौट भइसकेका छन् । हरेक समूहका शीर्ष दुई टोली र अन्य दुई उत्कृष्ट तेस्रो हुने टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणका खेलहरु आगामी अप्रिलमा हुनेछ ।


दोस्रो चरण छनौटबाट तीन टोली तेस्रो चरणमा प्रवेश गर्नेछन् । तेस्रो चरणमा आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणका तीन विजेतासँगै अस्ट्रेलिया, चीन, थाइल्याण्ड, दक्षिण कोरिया र उत्तर कोरियाले तेस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् ।


दुई समूहका उत्कृष्ट दुई टोलीले चौथो चरणमा स्थान बनाउने छन् । चौथो चरण प्रवेश गर्न सफल चार टोलीलाई दुई समूहमा विभाजन गरी ‘होम एण्ड अवे’का आधारमा प्रतिस्पर्धा गराइनेछ । जसबाट विजयी हुने दुई टोली ओलम्पिकका लागि छानिनेछन् ।

प्रकाशित : कार्तिक २७, २०७५ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?