मनकामना केबलकार कप माघमा

कान्तिपुर संवाददाता

लेखनाथ — तेस्रो संस्करणको मनकामना केबलकार कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघको दोस्रो सातादेखि पोखरा रंगशालामा हुने भएको छ । आयोजक कास्की जिल्ला फुटबल संघले प्रतियोगिताको तयारी थालिएको मंगलबार जनाएको हो ।

प्रतियोगिताका लागि मैदान स्तरोन्नतिको काम भइरहेको अध्यक्ष मिलन गुरुङले बताए । मैदानमा अहिले दैनिक १० जना मजदुरले काम गरिरहेका छन् । मैदान सम्याउने, झार उखेल्ने र दुबो रोप्ने काम अर्को हप्तासम्म सकिने उनले बताए । त्यसलगत्तै मैदानमा पानी हाल्ने र तारबार गरेर संरक्षण गरिने पनि उनले जनाए । यसका लागि झन्डै ५ लाख रुपैयाँ खर्च लाग्ने संघको अनुमान छ ।


मैदानको काम सकिएलगत्तै प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिने संघका उपाध्यक्ष विश्व तण्डुकारले बताए । मैदानको पश्चिमतर्फ प्यारापिट भत्काइएको स्थानमा दर्शक बस्न मिल्ने गरी उचित व्यवस्था गरिने पनि तण्डुकारले जानकारी दिए ।


मैदानको पूर्वतर्फ दर्शकका लागि अस्थायी प्यारापिट राख्ने संघको योजना छ । संघले यसपल्टको प्रतियोगितामा चार विदेशी टिम ल्याउने कोसिसमा छ । त्यसबाहेक नेपालका उत्कृष्ट ‘ए’ डिभिजन क्लब, विभागीय टिम तथा आयोजकसहित १२ टिमको प्रतियोतिगामा सहभागिता रहनेछ । संघले यसअघि मनकामना केबलकार कपका दुई संस्करण पूरा गरिसकेको छ ।

प्रकाशित : कार्तिक २८, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?