बंगलादेश जित नजिक

रोयटर्स

ढाका — महमुदुल्लाह रियादले आठ वर्षयता टेस्ट क्रिकेटमा पहिलो शतक बनाएपछि बंगलादेशले बुधबार जिम्बावेविरुद्ध ढाकामा भइरहेको दोस्रो टेस्टमा जितका लागि ४ सय ४३ रनको चुनौती दिएको छ ।

घरेलु टिम चौथो दिन जिम्बाबेलाई ७६–२ मा धकेल्दै जित उन्मुख भएको छ । महमुदुल्लाहले १ सय २२ बलमा १ सय १ रन जोडेपछि बंगलादेशले दोस्रो इनिङ्स २२४–६ मा समाप्तिको घोषणा गरेको थियो ।


अफ स्पिनर मेहिदी हसनले ह्यामिल्टन मासाकाट्जालाई २५ रनमा आउट गर्दै जिम्बाबेको ६८ रनको प्राराम्भिक जोडीको साझेदारी तोडेका थिए । उनी टेस्टमा डेब्यू गरेका तीव्र गतिका बलर खालिद अहमदको बलमा ५ रनमै क्याचआउट हुनबाट जोगिएका थिए ।


मेहिदीले ब्रायन चारीको क्याच पनि तैजुल इस्लामको बलमा गुमाएका थिए । त्यस बेला उनी ४३ रनमा थिए । ब्रेन्डन टेलर र सिन विलियम्सन क्रिजमा छन् । जिम्बावे अझै ३ सय ६७ रनले पछाडि रहेको अवस्थामा यी दुईमै जित, बराबरी वा हार गर्ने भन्ने निर्भर हुनसक्छ । जिम्बावेले १७ वर्षयता पहिलोपल्ट विदेशमा टेस्ट जित्ने क्रममा गत साता सिलेटमा सफलता हात पारेपछि शृंखलामा १–० को अग्रता लिएको छ । यसमा बराबरीले उसलाई सात वर्षयता पहिलोपल्ट टेस्ट शृंखलाको उपाधि दिलाउन सक्नेछ ।


बंगलादेशलाई शृंखला जोगाउन जित अनिवार्य छ । उसले महमुदुल्लाहले लेग स्पिनर ब्रान्डन माभुलाको बलमा दुई रन जोड्दै शतक पूरा गरेपछि इनिङ्स समाप्तिको घोषणा गरेको थियो । महमुदुल्लाहले यसअघि आफ्नो एकमात्र टेस्ट शतक न्युजिल्यान्डविरुद्ध ह्यामिल्टनमा सन् २०१० मा बनाएका थिए । चौथो दिनको सुरुमा जिम्बावेका सिमरको दबाबमा परेको अवस्थामा उनले २५–४ बाट बंगलादेशलाई उकासेका थिए ।


महमुदुल्लाहले छैटौं विकेटमा डेब्यू गरेका मोहमद मिथुनसँग १ सय १८ रनको साझेदारी गरे । पहिलो इनिङ्समा शून्यमै आउट भएका उनले १ सय १० बलमा ६७ रन बनाए । महमुदुल्लाहले आफ्नो आकर्षक इनिङ्समा चार चौका र एक छक्का प्रहार गरे । उनले अन्तिम ५१ रन ५२ बलमा जोडेका थिए । पहिलो इनिङ्समा बंगलादेशले २ सय १८ रनको अग्रता लिएको थियो ।

प्रकाशित : कार्तिक २९, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?