१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नवयुग र अनुले साटे अनुभव

कान्तिपुर संवाददाता

काँकडभिट्टा — नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ र पूर्व महिला राष्ट्रिय खेलाडी अनु लामाले बुधबार झापाको काँकडभिट्टामा जुनियर खेलाडीसँग अनुभव साटे । यो अवसर युवा तथा खेलकुद मन्त्रालयले जुराएको थियो ।

नवयुग र अनुले साटे अनुभव

जिल्ला खेलकुद विकास समिति झापाले संयोजन गरेको कार्यक्रममा जुनियर खेलाडीले नवयुग र अनुसंग प्रत्यक्ष साक्षात्कार गरे । नवयुगले आफ्नो अन्र्तराष्ट्रिय खेलको अनुभव सुनाउने क्रममा खासगरी बंगबन्धु कप र साफ च्याम्पियनसिपमा नेपालले हात पारेको जितले फुटबल खेल्न हौस्याएको सुनाए । इलामका नवयुग त्रिभुवन आर्मी क्लबमा अनुबन्धित छन् । उनी छोटो समयमा चर्चामा आउने खेलाडीमा पर्छन् ।


‘अन्तर्राष्ट्रिय खेलमा पराजित हँुदा कस्तो महसुस हुन्छ,’ भन्ने झापाका जुनियर फुटबलर अभिषेक श्रेष्ठको प्रश्नमा नवयुगले भने, ‘कमजोर ठानिएको टोलीसँग पनि पराजय भोग्नुपर्दा चाहिँ ज्यादै दु:खलाग्दो रहेछ ।’


महिला फुटबलर अनुले निरन्तरको अभ्यास र मिहिनेतबाट मात्रै खेलकुदमा सफलता पाउन सकिने सुनाइन् । उनले महिला र पुरुष फुटबलवीच अझै विभेद कायमै रहेको पनि बताइन् । पुरुष फुटबललाई एन्फाले जति महत्त्व र लगानी गरेको छ, महिला फुटवलमा त्यति लगानी भएकै छैन । उनले महिला फुटबलमा लगानी वढाउन सक्ने हो भने अन्र्तराष्ट्रिय खेलमा थप पदक जित्न सक्ने दाबी गरिन् । रौतहटकी अनुले फुटबल खेलाडी बन्न आफूले गरेका दु:ख र संघर्षका कथा पनि सहभागीलाई सुनाउन भ्याइन् ।

युवा तथा खेलकुद मन्त्रालयका सहसचिव अरुणप्रसाद न्यौपानेले फुटबल लगायतका खेलमा युवापुस्तालाई थप प्रोत्साहन गर्न र पुराना खेलाडीलाई सम्मान गर्न मन्त्रालयले सातवटै प्रदेशमा यस किसिमको कार्यक्रम आयोजना गरेको सुनाए ।


प्रदेश १ का सांसद श्रीप्रसाद मैनालीले अन्तर्राष्ट्रिय स्तरमा देशको नाम स्थापित गर्ने मुख्य माध्यम खेलकुद भएकाले यसको प्रवद्र्धनमा सबै क्षेत्रबाट जुट्न जरुरी रहेको बताए । उनले संघसहित प्रदेश र स्थानीय तहमा खेलकुद विकासका लागि विशेष व्यवस्था गरिनुपर्ने बताए ।


जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापाले खेलकुद क्षेत्रलाई उपेक्षा नगर्न प्रदेश सरकार र स्थानीय निकायलाई आग्रह गरे । उनले जिल्लाको खेलकुद विकासका लागि लगानीको खाँचो औंल्याए । कार्यक्रममा झापासहित मोरङ, सुनसरी, धनकुटा, इलाम र उदयपुरका खेलाडी तथा प्रशिक्षक सहभागी थिए ।

प्रकाशित : कार्तिक २९, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?