कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

सुदूरको पुरानो क्रिकेट मैदान अलपत्र

डीआर पन्त

डडेलधुरा — आर्थिक अनियमितता, राष्ट्रिय खेलकुद परिषद र निर्माण कम्पनीको विवादका कारण सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो बैतडी दशरथचन्द नगरपालिकामा रहेको क्रिकेट मैदान चार वर्षदेखि अलपत्र अवस्थामा छ ।

सुदूरको पुरानो क्रिकेट मैदान अलपत्र

उक्त क्रिकेट मैदान निर्माणका लागि १ करोड ४० लाख लागतमा ठेक्का सम्झौता भएको थियो । त्यसको जिम्मा पाएको चन्द्रा एन्ड वसन्त कन्सट्रक्सन र राष्ट्रिय खेलकुद परिषदबीचको विवादका कारण निर्माणाधीन मैदान अलपत्र परेको हो । ‘अनियमितता पनि भयो, अख्तियारले छानबिन पनि गर्‍यो तर मैदान निर्माण कार्य अलपत्र अवस्थामा छ,’ स्थानीय देवबहादुर ठगुन्नाले भने, ‘देशका लागि एक दर्जन बढी चर्चित खेलाडी जन्माइसकेको मैदान अलपत्र हुनु दुर्भाग्य हो ।’


परिषदका पदाधिकारी र निर्माण कम्पनीबीच कमिशन लेनदेन नमिलेका कारण निर्माण कार्य अलपत्र रहेको ठगुन्नाको आरोप लगाए । ‘खेलकुद परिषद क्रिकेट मैदान निर्माण कार्य स्वीकृत डिजाइन, इस्टमेट र लगानीअनुरुप काम नभएको बताउँछ भने निर्माण कम्पनी आफ्नो ५० लाख भुक्तानी हुन बाँकी भएका कारण काम अगाडि नबढेको दाबी गर्छ,’ ठगुन्नाले भने, ‘दुवै पक्षबीचको विवादका कारण झगडाले ती वर्षअघि बनिसक्नुपर्ने मैदान गौचरनमा परिणत हुन थालेको छ ।’


‘बलिङ वा ब्याटिङ गर्दा होस् वा चौका, छक्का प्रहार गर्दा डाँडामाथिको मैदानबाट बल भिरमा खस्थ्यो,’ महिला क्रिकेटर मन्जु बोगटीले भनिन्, ‘यही मैदानलाई जालीले बारेर क्रिकेट खेल्दै आएका क्रिकेटर राष्ट्रिय टोलीसम्म पुगेका छन् ।’ व्यवस्थित मैदान निर्माण गर्न थालेको चार वर्ष बिते पनि मैदान पहिलाभन्दा झन् भताभुंग भएको उनले सुनाइन् । ‘खेल्ने कुरा त परै जाओस् हिँड्नसमेत मिल्दैन,’ बोगटी भन्छिन्, ‘सुदूरपश्चिम प्रदेशको क्रिकेट इतिहास बोकेको यो मैदान निर्माणमा राज्य गम्भीर नहुंँदा नयांँ प्रतिभा जन्मिने मौकाबाट वञ्चित भएका छन् ।’ राष्ट्रिय स्तरमा पुगिसकेका दर्जनौं क्रिकेटर ब्याट र बल थन्क्याएर हात बाँधेर बस्नुपर्ने अवस्थामा पुगेको उनको गुनासो थियो ।


यो मैदान निर्माणमा भ्रष्टाचारको आशंका गरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गर्‍यो । तर दोषी पत्ता लागेन । ठेकेदार कम्पनीले ५० लाख नपाएको भन्दै काम रोक्यो । राष्ट्रिय खेलकुद परिषद्ले काम अधुरो भएको हुँदा भुक्तानी दिएन । यो दोहोरो झगडा खेल विकासमा ठूलो तगारो बनेको खेलप्रेमीले गुनासो गर्दै आएका छन् । क्यानका चतुरबहादुर चन्दले भने, ‘यो देखावटी झगडामात्र हो । परिषद र निर्माण कम्पनीका कारण चार वर्षदेखि खेलाडीले प्रशिक्षणसमेत गर्न पाएका छैनन् ।’ पटक–पटक परिषद र सरोकारवाला निकायको ध्यानाकर्षण गराउंँदा समेत समस्या समाधान हुन नसकेको उनले बताए ।


पछिल्लो समय स्थानीय सरकार बनेपछि दशरथ चन्द नगरपालिकाले मैदान निर्माण गर्न पहल सुरु गरेको छ । परिषद् र ठेकेदारको दोहोरो झगडाले खेलकुद प्रतियोगिता नहुने स्थिति देखिएपछि दशरथ चन्द नगरपालिका आफ्नै स्रोतमा खेल मैदान बनाउने तयारीमा छ । ‘खेलाडीलाइ समस्या हुन थालेपछि नगरपालिकाले आफैं यो खेल मैदान निर्माण गर्न थालेको हो,’ नगर प्रमुख नरेन्द्र थापाले भने, ‘आउंँदो सहिद दिवसका अवसरमा हुने प्रतियोगिता यसै मैदानमा सम्पन्न गर्ने गरी निर्माण सुरु गरिने छ ।’ दुई पक्षको झगडाका कारण खेलगतिविधि ठप्प भएको नगरप्रमुख थापाले बताए ।


सुदूरमा धेरैलाई क्रिकेटका विषयमा जानकारी नभएको समय २०५१ सालमा पहिलोपल्ट उक्त खेलकुद मैदानमा इन्डो–नेपाल क्रिकेट प्रतियोगिता भएपछि बैतडीमा निरन्तर क्रिकेट गतिविधि हुँदै आएको छ । मैदान अभावमा खेल गतिविधि शून्य हुन थालेपछि यस क्षेत्रका क्रिकेटरहरू विस्थापित भएर कैलाली र राजधानी पुग्न थालेका छन् ।

प्रकाशित : कार्तिक २९, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?