१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ईपीएलः नयाँ सिजनलाई पोखरा आशावादी

कान्तिपुर संवाददाता

काठमाडौँ — पोखरा राइनोजले टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) को आउँदो संस्करणका लागि सुवेन्दु पाण्डे र नन्दन यादवलाई टोलीमा समावेश गरेको छ । गत सिजनमा खेलेका खेलाडीमा एक टोलीले तीन खेलाडी रिलिज गर्न पाउने प्रावधान थियो ।

ईपीएलः नयाँ सिजनलाई पोखरा आशावादी

त्यसमा शक्ति गौचन मार्की खेलाडी रहेको पोखराले नूरध्वज सेन र सन्तोष भट्टलाई रिलिज गर्दै सुवेन्दु र नन्दनलाई समेटेको हो । पोखरेली टोलीमा शक्तिसहित विनोद भण्डारी, सुनील धमला, राजेश पुलामीमगर, सुसनभारी श्रेष्ठ, किशोर महतो, विक्रम सोब, सौरभ खनाल, विपिन खत्री र देव शाह छन् ।

एउटा टोलीमा तीन विदेशी खेलाडी खेलाउने पाउने प्रावधानअनुरुप गत वर्ष टोलीले पाकिस्तानी खेलाडी ताज वाली, आशिफ अली र इशरारुल्लाहले खेलेका थिए । उनीहरू अहिले पाकिस्तानको राष्ट्रिय टोलीबाट खेल्न थालिसकेकाले ईपीएलमा देखिने सम्भावना कम छ । टोलीले विदेशी यस सिजनको विदेशी खेलाडीको कोटामा स्कटल्यान्डका केयल कोइटजरलाई समेटिसकेको छ ।

शंकर ग्रुपको स्वामित्व र जे–फोर स्पोर्टस मातहात रहेको पोखरा गत सिजनमा फाइनल पुग्न सकेको थिएन । ‘गत वर्ष खेलाडीहरूले जुन टिमवर्क देखाउँदै खेले त्यसमा पोखरा राइनोज आशावादी छ । सही प्रशिक्षणले खेलाडीको क्षमता अझ अभिवृद्धि गर्नेमा हामी आशावादी छौं,’ जे–फोर स्पोर्टसका प्रबन्ध निर्देशक साहिल अग्रवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण मानिएको वर्षमा हाम्रा खेलाडी उत्कृष्ट फर्ममा छन् । प्रतियोगितालाई कुर्दै हामी खेल्न आतुर छौं ।’

जगदम्बा स्टिल्स टोलीको प्रमुख प्रायोजक हो भने ऋद्धिसिद्धि सिमेन्ट, लिओन मोटर्स (मित्सुबिसी), सूर्य लाइफ इन्स्योरेन्स, युनिभर्सल टुर्स एन्ड ट्राभल्स, इन्स्पायर टोलीका अन्य प्रायोजक हुन् ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?