३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

ललितपुरले हटाएपछि अलराउन्डर महबुब आलमको खेल जीवन संकटमा !

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुर प्याट्रियट्सले महबुब आलमलाई टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को नया संस्करणका लागि रिलिज गरिदिएको छ । खेल जीवन टुंगाउने संघारमा रहेका भेट्रान अलराउन्डर आलमलाई ललितपुरले नराखेपछि अब उनको खेल माथि आउन गाह्रो पर्ने देखिएको छ । 

ललितपुरले हटाएपछि अलराउन्डर महबुब आलमको खेल जीवन संकटमा !

ईपीएलमा गत सिजनमा खेलेका खेलाडीमा एउटा टोलीले ३ खेलाडीलाई रिलिज गर्न पाउने प्रावधान छ । ललितपुरले दोस्रो लटमा महबुब र राजवीर सिंहलाई रिलिज गरेको थियो । उनीहरुको स्थानमा नेपाली यू–१६ का बलर नारायण जोशी र योगेन्द्रसिंह कार्कीलाई लिएको हो । योगेन्द्रलाई चितवन टाइगर्सले रिलिज गरेपछि ललितपुरले लिएको हो ।


ललितपुरले गत सिजनको अक्सनबाट महबुबलाई १ लाख ५० हजार रुपैंयामा लिएपछि उनी ईपीएल खेल्ने सातौं महँगा खेलाडी बनेका थिए । तर त्यो अनुरुप महुबबको प्रदर्शन मैदानमा देखिएको थिएन् । उनले ४ खेलमा १६ रनमात्र बनाउन सकेका थिए भने बलिङमा २ विकेट लिएका थिए । आफ्ना गतिलो खेलाडीको प्रदर्शनबाट साथ नपाउँदा ललितपुरलाई प्लेअफमा पुग्न निकै गाह्रो भएको थियो ।


महबुब गत सिजनको धनगढी प्रिमियर लिगको अक्सनमा परेनन्, कारण ईपीएल लगायतको प्रतियोगितामा कमजोर प्रदर्शन नै थियो । एक समयका नेपालका स्टार महबुबका लागि नमस्ते पोखरा प्रिमियर लिग आफ्नो क्षमता प्रमाणित गर्ने अन्तिम अवसर जस्तै थियो । तर ३७ वर्षे महबुबले आफ्नो प्रदर्शनबाट त्यसमा पनि न्याय गर्न सकेनन् । पोखरा पल्टनबाट खेल्दै उनले ४ खेलमा ८ रनमात्र बनाउन सके । बलिङमा पनि उनले ३ विकेट मात्र लिएका थिए ।


धनगढीलाई अन्तिम ओभरमा विजयका लागि १५ रन चाहिने अवस्थामा दीपेन्द्रसिंह ऐरीले महबुबले बलिङ गरेको त्यो ओभरमा १८ रन प्रहार गरेका थिए । त्यसअघिको चितवन राइनोजसँगको खेलमा पनि उनले फालेको इनिङ्सको अन्तिम ओभरमा सन्नी पटेलले १७ रन प्रहार गरेका थिए । यी दुवै खेलमा पोखरा पराजित भएको थियो । पोखराबाट महबुबले सबैभन्दा बढी रन खर्चेका थिए । उनको बलिङ इकोनोमी ९.४२ थियो ।


महबुबलाई त्यसपछि पोखराले ‘ड्रप’ गर्न बाध्य भएको थियो । उनको स्थानमा कृष्ण कार्कीलाई ल्याएपछि शरद भेषावकरको कप्तानीमा रहेको पोखराले लगातार तीन खेल जित्दै पीपीएल नै जितेको थियो ।

प्रकाशित : कार्तिक ३०, २०७५ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?