डीपीएलमा कीर्तिमानी प्रायोजन

रुस्लानसँग १ करोड १० लाख रुपैयाँको सम्झौता

काठमाडौँ — धनगढी प्रिमियर लिग (डीपीएल) ट्वान्टी–२० ले नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रायोजक पाएको छ । विजय डिस्ट्रिलरीको रुस्लानसँग सुदूरपश्चिमको धनगढीमा हुँदै आएको डीपीएलले कीर्तिमानी १ करोड १० लाख रुपैयाँको प्रायोजन सम्झौता गरेको छ ।

डीपीएलमा कीर्तिमानी प्रायोजन

नेपालको तीन प्रमुख फ्रेन्चाइज क्रिकेटमध्ये एक डीपीएलको तेस्रो संस्करण माघ १९ देखि फागुन ४ सम्म हुनेछ । धनगढी क्रिकेट एकेडेमी (डीसीए) को आयोजनामा यसअघि धनगढीको संघीय इकाई प्रहरी कार्यालयको मैदानमा हुँदै आएको डीपीएल प्रतियोगिता यसपालि प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गरिनेछ । ६ फ्रेन्चाइज टोलीले डीपीएलमा प्रतिस्पर्धा गर्नेछन् ।


रुस्लानले गत वर्षदेखि डीपीएललाई प्रायोजन गर्दै आएको हो । गत वर्ष रुस्लानले प्रायोजन वापत डीपीएललाई ७० लाख रुपैयाँ दिएको थियो । विजय डिस्ट्रिलरीको नमस्ते बियरले दुई साताअघि पोखरामा सम्पन्न पोखरा प्रिमियर लिग (पीपीएल) लाई पनि प्रायोजन गरेको थियो । तेस्रो फ्रेन्चाइज प्रतियोगिता एभरेस्ट प्रिमियर लिगले गत वर्ष प्रमुख प्रायोजकसँगको सम्झौता रकम खुलाएको थिएन ।


डीसीएका अध्यक्ष सुवास शाही र विजय डिस्ट्रिलरीका फाइनान्स प्रमुख सतिश कर्णले शुक्रबार प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरे । आफ्नो कम्पनीले खेलकुदमा सबैभन्दा ठूलो रकमको सम्झौता गरेको बताए । प्रमुख कर्णले भने, ‘हामीले गत वर्षको सम्झौतामा वृद्धि गर्दै यसलाई निरन्तरता दिएका छौं र यो क्रम जारी राख्नेछौं ।’ शाहीका अनुसार विजयी डिस्ट्रिलरीले सम्झौतावापत ८० प्रतिशत रकम आयोजक डीसीएलाई नगदमा उपलब्ध गराउने छ भने बाँकी डीपीएलको प्रवद्र्धन र कम्पनीको सामग्री प्रदान गर्नेछ ।


गत वर्ष आयोजना गर्दा डीपीएलले विजेता टोलीलाई २५ लाख प्रदान गरेको थियो । त्यस समयमा यो सबैभन्दा ठूलो पुरस्कार राशिको प्रतियोगिता थियो । गत महिना विजेतालाई २७ लाख प्रदान गरेपछि पीपीएल सबैभन्दा ठूलो धनराशिको प्रतियोगिता बन्यो । अहिले नै यो वर्षको पुरस्कार रकम नतोकिएको जनाउँदै शाहीले सहप्रायोजक र फ्रेन्चाइज टिमहरूसँग छलफल गरेर यसको घोषणा गरिने जनाए । उनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा डीपीएलको स्विकृतिका लागि पत्राचार गरिसकिएको जनाए ।

डीपीएलको दुवै संस्करण टिम चौराह धनगढीले जितेको छ । डीपीएल–३ का लागि पनि नयाँ अक्सन हुने आयोजकले जनाएको छ । अनुमानित लागत ५ करोड रुपैयाँ रहेको प्रतियोगितामा लिग चरणमा एकले अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली प्लेअफ पुग्ने छन् ।


लिग चरणका लागि टिकटदर ५०, प्लेअफको ७० र फाइनलको १ सय रुपैयाँ राखिएको जनाइएको छ । टिकट बिक्रीको ४० प्रतिशत रकम फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण अभियान (ड्रिम फाप्ला) लाई छुटयाइने र ४० प्रतिशत रकम टिमलाई बाँडिने आयोजकले बताएको छ ।


डीपीएल ३ मा एउटा टोलीले १५ खेलाडी राख्न पाउने छ । त्यसमा दुई विदेशी खेलाडी र एक धनगढीमा हुने टयालेन्ट हन्टबाट आएका सुदूरपश्चिमका एक खेलाडी अनिवार्य हुनुपर्ने प्रावधान राखिएको छ । पछिल्लो दुई वर्ष चैत–वैशाखमा प्रतियोगिता हुँदै आएको थियो । मार्चमा नेपालले विश्व टान्टी–२० का लागि एसिया छनोटको दोस्रो चरण खेल्नुपर्ने भएकाले प्रशिक्षक, खेलाडी र क्रिकेट खेलाडीसँग सल्लाह गरेर यसपालि मिति तोकिएको जनाइएको छ ।


‘हामी आयोजकमात्र होइन, असरकर्ता पनि हौं । डीपीएलबाट हामीले धेरै प्रभाव पार्न सफल भएका छौं,’ डीसीए अध्यक्ष शाहीले भने, ‘नेपालमा पहिलोपल्ट अक्सनबाट गरेको प्रतियोगिताको प्रभाव अहिले नेपाली क्रिकेटमा देखिरहेका छौं । क्रिकेटको माध्यमबाट देशलाई कसरी सम्वृद्ध गर्न सकिन्छ भन्ने डीपीएलको उद्देश्य हो । यसलाई सुरुआत मात्र मानौं, हामीले अझ गर्न बाँकी छ ।’


डीसीएले डीपीएलका क्रममा नेपालबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा योगदान गरेकालाई ‘धनगढी क्रिकेट सम्मान’ र एक प्रशिक्षकलाई ‘अर्जुन खड्का स्मृति पुरस्कार सम्मान’ प्रदान गर्दै आएको छ । नगद १ लाखसहित यो पुरस्कारलाई जारी राख्ने आयोजकले जनाएको छ ।

प्रकाशित : मंसिर १, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?