फिल्डिङका ‘क्रान्ति’

विनोद पाण्डे

काठमाडौँ — पूर्व ब्याट्सम्यान इन्जमाम उल हकका लागि रनआउट हुनु कुनै नौलो थिएन । उनी वान–डे अन्तर्राष्ट्रियमा क्रिकेटमा सर्वाधिक रनआउट हुने खेलाडीमा पाकिस्तानकै वसिम अक्रमसँगै पर्छन् । तथ्यांक भन्छ वान–डेमा ३८ पटक यी दुईको आउट हुने तरिका एकै थियो अर्थात रनआउट । 

फिल्डिङका ‘क्रान्ति’

सन् १९९२ को विश्वकपमा इन्जमाम यसरी नै आउट भए, जतिखेर उनी आफ्नो खेलजीवनको सुरुआती चरणमा थिए । रनआउट गर्ने दक्षिण अफ्रिकाका जोन्टी रोड्स थिए । उनी पनि खेलजीवनको सुरुआतमै थिए । रंगभेद नीति अपनाएको दक्षिण अफ्रिकालाई १९७० मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले प्रतिबन्ध लगाएको थियो । दक्षिण अफ्रिकाले गोरा देश भएका राष्ट्रहरू अस्ट्रेलिया, इंग्ल्यान्ड र न्युजिल्यान्डसँग मात्र खेल्ने जनाएपछि अफ्रिकीमूलक प्रतिबन्धमा परेको हो ।

दुई दशकभन्दा बढी प्रतिबन्धित समय बिताएर आएपछि दक्षिण अफ्रिका र रोड्स दुवै विश्व क्रिकेटका लागि नयाँजस्तै थिए । पाकिस्तानसँग ब्रिसवेनमा खेल्नुअघि रोड्सले आयोजक अस्ट्रेलियासँगको खेलमा ‘डेब्यू’ गरेका थिए । निर्णायकजस्तै मानिएको खेलमा पाकिस्तान र दक्षिण अफ्रिका उभिएका थिए । इन्जमामको प्रहार प्वाइन्टतिर गएको थियो । रोड्सले ३० यार्ड टाढाबाट चितुवा शैलीमा झम्टेर फिल्डिङ गर्दै बल समातेर स्टम्पमा हुत्तिएका थिए ।

फिल्डरलाई सिंगल विकेटमा निशाना लगाउन केही कठिन हुन्छ । रोड्सले हावामा उडै फिल्डिङ गर्दै गरेको देखेपछि इन्जमाम विकेटको बीचजस्तो पुगेर स्ट्राइक इन्डमा फर्किने प्रयास गरेका थिए । रोड्सले तीनवटै स्टम्प उडाइदिए । सोक्रममा उनले हावामा उडेर डाइभ हान्दै ढालेको मध्ये एक विकेट भाँचिएको थियो । रोड्सले गरेको त्यो रनआउटको भिडियो र फोटो अहिले पनि उस्तै खोजीमा पर्छ । यसले त्यसलाई विश्व क्रिकेटको ‘आइकोनिक’ क्षण बनाएको छ ।

०००

‘मलाई इन्जमामको त्यो रनआउटमा ठूलो पछुतो छ । त्यसपछि मैले त्यो खाले रनआउट कहिल्यै प्रयास गरिनँ,’ रोड्सले ठट्टा गर्दै भने, ‘तर यसैले मलाई विश्व क्रिकेटसामु चिनाएको छ ।’ रोड्सको त्यो डाइभिङ रनआउटले क्रिकेटमा नयाँ विजारोपण गरेको थियो ।

क्रिकेट बल र ब्याटको खेल हो । १९९२ को विश्वकपअघि अझ रोड्सले रनआउट गरेको त्यो क्षणसम्म विश्व क्रिकेटको एउटा खाले नारा यस्तै थियो । रोड्सले विजारोपण गरेका थिए फिल्डिङको । ब्याटिङ र बलिङबाहेक फिल्डिङ पनि क्रिकेटको नयाँ हतियार बन्यो ।

विशेष गरी ९० को दशक क्रिकेटमा खेलाडीहरू फिल्डिङ गर्दा निहुरिनु निकै अप्ठयारो मानेको देखिन्थ्यो । धेरै जसो आफ्नै अगाडि गएको बल टुलुटुलु हेरेर बस्थे । फिल्डर लुकाउने ठाउँ मानिएको फाइन लेग होस् वा शर्ट फाइन लेग, स्लिप, थर्डम्यानमा जो कोहीलाई बस्नुपर्ने हतारो हुन्थ्यो । रोड्सको त्यो डाइभ र रनआउटले अल्छी फिल्डरमा फूर्ति प्रदान गर्ने काम गर्‍यो । कम्तीमा उनीहरूलाई सचेत गराउने भूमिका खेल्यो, अब यस्तो फिल्डिङले टिममा टिक्नेवाला छैन ।

त्यो डाइभ र रनआउटपछि रोड्सले कुल २ सय ४५ वान–डे अन्तर्राष्ट्रिय खेले । टेस्टलाई पनि निरन्तरता दिए । यसक्रममा उनी निर्विवाद विश्वका उत्कृष्ट फिल्डर बने । ‘त्यो रनआउटले विश्व क्रिकेटको फिल्डिङमा क्रान्ति नल्याए पनि मानिसहरूले क्रिकेटमा तेस्रो तत्वको पनि भूमिका हुन्छ भनेर सचेत गराएको थियो,’ रोड्स आफ्नो अनुभव साटै थिए ।

दक्षिण अफ्रिकाका यिनै दिग्गज खेलाडी अहिले नेपालमा छन् । काठमाडौंमा बसेर उनी नेपाली क्रिकेटबारे बुझिरहेका छन् । नेपाल क्रिकेट स्कुलले स्पोर्टस एडसँग मिलेर रोड्सलाई नेपालमा ल्याएको हो । यसक्रममा उनले प्रशिक्षण कोर्स र युवा खेलाडीसँग समय बिताइरहेका छन् ।

आयोजकले रोड्ससँग सिक्न युवा खेलाडीका लागि ५० हजार रुपैयाँ तोकेको छ । त्यो शुल्क तिरेर झन्डै ५० खेलाडी कीर्तिपुर पुगेका छन् । उनीहरूकै समूहमा छन् नेपाल क्रिकेट स्कुलमा प्रशिक्षणरत खेलाडी पनि । रोड्सको १० दिने प्रशिक्षण क्याम्पमा नेपालको यू–१६, यू–१९ र राष्ट्रिय खेलाडी पनि मिसिने कार्यक्रम छ ।

इन्डियन प्रिमियर लिगको टोली मुम्बई इन्डियन्सको ९ वर्ष फिल्डिङ र सहायक प्रशिक्षक रहिसकेका रोड्ससँगै अर्का प्रशिक्षक रायन मारोन पनि नेपालमै छन् । रोड्स नेपाली क्रिकेटबारे बेखबर भने रहेनछन् । नेपालले आईसीसी यू–१९ विश्वकपमा दक्षिण अफ्रिकालाई दुईपटक पराजित गरिसकेको छ । त्यही नतिजाका आधारमा उनले यू–१९ मा बलियो भए पनि नेपालले त्यसपछि खासै गर्न नसकेको प्रतिक्रिया दिएका थिए ।

रोड्ससँग स्किल सिक्न आएकाहरू धेरैजसो क्रिकेट एकेडेमीमा सिकिरहेका खेलाडी थिए । उनीहरूको दैनिक प्रशिक्षण इन्डोरमा बित्छ । रोड्सलाई यी युवा खेलाडीले आउटडोरमा खेल्न नपाएको पत्ता लगाउन खासै समय लागेन । त्यसैले उनी भन्दैथिए, ‘नेपाली खेलाडीलाई सुविधा निकै कम छ । एक्सपोजर पनि कम पाएका छन् । त्यसैले उनीहरूलाई माथिल्लो स्तरमा आउन गाह्रो परेको देखिन्छ ।’

नेपाली क्रिकेट परम्परागत चलेको र केही परिवर्तन ल्याउन सकिन्छ कि भनेर रोड्सलाई नेपाल ल्याइएको आयोजक नेपाल क्रिकेट स्कुलका करण घिमिरेको दाबी थियो । रोड्स ल्याउन गरेको खर्चबारे उनी खुलाउन चाहँदैनन् । तर २० हजार डलर रकम रोड्सले नेपाल आएवापत पारिश्रमिक लिएको बताइएको छ । क्रिकेट स्कुलको एकेडेमी टोलीले मुम्बईको स्थानीय टोलीसँग द्विपक्षीय शृंखला खेल्दै आएको छ । यसैक्रममा मुम्बई क्रिकेट संघको सम्पर्कमा पुगेपछि रोड्सलाई नेपाल ल्याउन सकिएको घिमिरे बताउँछन् ।

०००

रोड्स मुख्यत: ब्याकवार्ड प्वाइन्टमा फिल्डिङ गर्छन् । तर ब्याटस्म्यानले गरेको प्रहार रोड्स फिल्डिङमा हुँदा ब्याकवार्ड प्वाइन्टबाट मात्र नभएर प्वाइन्ट र शर्ट थर्डम्यानबाट कट्न हम्मे हुन्थ्यो । उनी उभिएको ठाउँबाट यो सबै क्षेत्रमा फिल्डिङ जमाएर बसेका हुन्थे । अन्तर्राष्ट्रिय क्रिकेटको एक खेलमा उनी ५ क्याच लिने एक्लो फिल्डर हुन् ।

उनले ब्याटिङमा खासै योगदान नसकेको खेलमा पनि फिल्डिङबाटै म्यान अफ द म्याचको पुरस्कार थापेको धेरै उदाहरण छन् । रोड्सको प्रतिभा क्रिकेटमै सीमित थिएन । उनी दक्षिण अफ्रिकाबाट हकीसमेत खेलिसकेका खेलाडी हुन् । २००३ मा उनले आफ्नो खेलाडीजीवन टुंग्याएका थिए ।

९० दशकमा यिनै रोड्सको खेल हेरेर फर्किएको बताउँदै उनीसँग फोटो खिच्नका लागि स्वर्णा ताम्राकार कीर्तिपुर मैदानमा तयार थिइन् । उनले यसो भनेर आफूलाई चिनाउँदै गर्दा रोड्सले मुस्कुराउँदै जवाफ दिए, ‘म ५० वर्ष पुग्न लागिसकें, अब पनि डाइभ हान्न सक्दिनँ ।’

प्रकाशित : मंसिर १, २०७५ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?