३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

चोट र कार्डको पीडामा मनाङ

ए डिभिजन लिग
मनाङ २–० एनआरटी, आर्मी १–० च्यासल
राजु घिसिङ

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शनिबार एनआरटीविरुद्ध ३ अंक त जोड्यो तर त्यसमा घाइते भएपछि विंगर प्रकाश बुढाथोकी आठ सातासम्म मैदानबाहिर हुने भएका छन् ।

चोट र कार्डको पीडामा मनाङ

फरवार्ड ओलावाले आफिजले लगातार दोस्रो पहेँलो कार्ड पाए । त्यसैले उनले एक खेल (थ्रीस्टारविरुद्ध बिहीबार) गुमाउने छन् । ट्रेनिङमा घाइते भएपछि कप्तान सुजल श्रेष्ठ मैदानबाहिरै छन् भने डिफेन्डर विमल बस्नेत विदेसिएका छन् । त्यसैले मनाङले संकटग्रस्त अवस्थामा चिरपरिचित प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने भएको छ ।


‘थ्रीस्टारविरुद्ध ओलावाले खेल्ने छैनन् । हामी टिमको आधार परिवर्तन गर्छौं,’ हल्चोकमा एनआरटीविरुद्ध जित हासिल गरेपछि मनाङका प्रशिक्षक सुमन श्रेष्ठले भने, ‘फरवार्ड विमल राना पनि लयमा छन् । ओलावालेको स्थानमा उनलाई पनि सोचेका छौं ।’ पहिलो चरणमा ब्रिगेड ब्वाइजविरुद्ध ३–१ को जितमा दुई गोल गरेका ओलावालेले एनआरटीविरुद्ध पनि गोल गरे । विपक्षीका तीन खेलाडीलाई छक्याउँदै उनले ३९ औं मिनेटमा लोभलाग्दो गोल गरेका थिए । एकतर्फी खेलमा अन्जन विष्टले पेनाल्टीमार्फत् १७ औं मिनेटमा मनाङलाई अग्रता दिलाएका थिए ।


लेफ्ट विंगर सुजल सानो गौचरणमा भएको प्रशिक्षणमा बुधबार नाडीमा फ्याक्चर भएपछि ६ सातासम्म खेल्न नसक्ने चिकित्सकले बताएका थिए । उनको स्थानमा एनआरटीविरुद्ध प्रकाश बुढाथोकीलाई खेलाइएको थियो । नयाँ खेलाडीका रूपमा ‘फेस्टिवल ब्रेक’ पछि भित्र्याइएका उनले एनआरटीका कप्तान डिकेश खड्गीको टयाकलबाट बच्ने प्रयास गर्ने क्रममा लड्दा दायाँ काँधमा समस्या बेहोर्दै आठौं मिनेटमै मैदान छाडे । दोस्रो मिनेटमै घाइते भएका उनीबारे प्रशिक्षक श्रेष्ठले भने, ‘काँधमा चोट लागेको हो । उनी ६ सातासम्म खेल्न सक्ने छैनन् ।


अग्रपंक्तिको तुलनामा मनाङको डिफेन्स फितलो मानिएको छ । यसै बेला विमल बस्नेत अस्ट्रेलिया लागे । त्यसैले पहिलो रोजाइका फरवार्ड ओलावाले आफिज, कप्तान सुजल, प्रकाश र विमलको अनुपस्थितिमा थ्रीस्टारको सामना गर्ने बेला मनाङलाई संकटमा परेको छ । ‘ओलावाले नहुँदा केही न केही होला तर त्यस्तो खासै फरक नपर्ला जस्तो लाग्छ,’ प्रशिक्षक श्रेष्ठले भने, ‘थ्रीस्टारविरुद्धको खेलमा संकटमा परिएको महसुस त भएको छ । केही असर परे पनि हामी खेलाडीलाई उत्साहित बनाएर टिम तयार पार्नेछौं ।’


सुजल/प्रकाशको स्थानमा लेफ्ट विङ्समा एडेलेजा सुमियो वा दीपक राईलाई खेलाउने पनि प्रशिक्षक श्रेष्ठले बताए । ‘विंग्समा विमल राना पनि प्रयोग गर्न सक्छौं । उनलाई फरवार्डको भूमिका दिएर एडेलेजालाई विंग्स खेलाउन पनि सक्छौं,’ उनले भने, ‘सबै खेलाडीलाई फरक पोजिसनमा खेल्नका लागि पनि विकल्प दिएका छौं ।’ राइट विंगर अन्जन विष्टलाई पनि अर्कोतर्फ उपयोग गर्न सकिने उनले बताए ।


केही खेलाडी ट्रायलमा रहेको उल्लेख गर्दै उनले थपे, ‘जिम्बाबेका डिफेन्डर भिक्टरलाई अनुबन्ध गरिसकेका छौं । उनी टिमकै उत्कृष्ट डिफेन्डर हुनसक्छन् । थ्रीस्टारविरुद्धको खेलअघि नै श्रम स्विकृति प्राप्त गर्ने आस छ ।’ सिक्किममा गभर्नर्स गोल्डकपको उपाधि यात्रामा उनले भिक्टरलाई फाइनलअघिका दुई खेलमा मैदानमा उतारेका थिए । श्रम स्विकृति प्राप्त भएमा उनले भिक्टरलाई थ्रीस्टारविरुद्ध खेलाउने योजना बनाएका छन् ।


मनाङले लिगको लागि भनेरै अफ्रिकी मूलका तोपे फुजालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिने सहमति गरेको थियो । तर, उनले दोस्रो चरणको खेल सकिँदासम्म औपचारिक रूपमा जिम्मेवारी बहन गर्ने अवसर पाएका छैनन् । यसले पनि मनाङको ‘टचलाइन’ बाट सही निर्देशन दिनेमा अन्योल देखिन्छ ।


आर्मीलाई राहत

पहिलोपल्ट लिग च्याम्पियन बन्ने लक्ष्य बुनेको आर्मीले विकास खवासको गोलमा च्यासललाई १–० ले पन्छाएर यो सिजनको पहिलो जित रच्यो । सन्तोष तामाङको कर्नरमा विकासको शक्तिशाली हेडरमा बलले २७ औं मिनेमटा पोष्टको दिशा लिएको थियो ।


त्यसअघि सातौं मिनेटमै सन्तोषको ‘भली’ मा बल पोलमा लागेर फर्कंदा आर्मीले अग्रता लिन प्रतीक्षा गर्नुपरेको थियो ।


लिग खेल्न सन्तोष साहुखललाई जापानबाट बोलाएको च्यासलले सुधारिएको प्रदर्शन गर्‍यो । मनाङ र थ्रीस्टारका पूर्व फरवार्ड सन्तोष मिहिनेती देखिए । तर, उनको फ्रि–किकमा ४८ औं मिनेटमा आर्मीका गोलकिपर विकेश कुथुले बल बाहिर फालिदिए ।


निशान खड्काको क्रसमा सन्तोषले हेडद्वारा प्रहार गरेको बलमा पनि विकेशले ७६ औं मिनेटमा लोभलाग्दो बचाउ गरे । कतारबाट फर्किएका मनाङका पूर्वविंगर आमिर श्रेष्ठले पेनाल्टी क्षेत्रबाहिरबाट १४ औं मिनेटमा प्रहार गरेको बलमा पनि विकेश बाधक बनेका थिए । उनी म्यान अफ द म्याच नै चुनिए ।


पहिलो चरणमा आर्मीले एनआरटीविरुद्ध २–२ को नतिजा निकालेको थियो । ‘दोस्रो खेलमा आएर केही सुधार भएको छ,’ आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने, ‘सुरुको २० मिनेट एकदमै दबाब दिएर खेल्ने योजनामा गोल नभए पनि सफल भयौंं । जसरी पनि ३ अंक जोड्नु थियो, त्यो हात लाग्यो । डिफेन्समा राम्रो खेल्यो । अब फिनिसिङमा देखिएको कमजोरी सच्याउनेमा केन्द्रित हुनेछौं ।’


हल्चोकमा दिनेश हेन्जनले गोलकिपर अगाडि बढिसकेको अवस्थामा दुईपल्ट गोल गर्न सकेनन् । उनले ५५ औं मिनेटमा बल बाहिर हाने भने ६३ औं मिनेटमा गोल लाइनबाट देवेन्द्र तामाङले क्लियर गरिदिए ।

राइनो संरक्षण गोल्कडपको उपाधि जितेर राजधानी फर्किंदा खेलाडी थाकेजस्तो भएको उल्लेख गर्दै च्यासलका प्रशिक्षक राजुकाजी शाक्यले भने, ‘सोचेभन्दा राम्रो खेल्यौं ।’


उनले विपक्षी किपर विकेशको प्रशंसा गर्दै आफ्ना स्टार फरवार्ड विमल घर्तीमगरको फितलो प्रदर्शनबारे बोले, ‘उनी अझै घाइते छन्, काँध र खुट्टामा समस्या छ । सन्तोष साहुखलको यो पहिलो खेल हो । उनलाई अझै समय लाग्छ ।’


आजका खेल

मछिन्द्रविरुद्ध पुलिस (११:०० बजे)

ब्रिगेड ब्वाइजविरुद्ध थ्रीस्टार (१४:३० बजे)

प्रकाशित : मंसिर २, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?