कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तालिका आइसक्यो खेलाडी घरघरमै

पर्वत पोर्तेल

काँकडभिट्टा — ट्वान्टी–२० महिला क्रिकेट प्रतियोगिता पुस २४ देखि माघ ३ गतेसम्म थाइल्यान्डको बैंककमा आयोजना हुँदै छ । अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक भइसक्यो । त्यसमा सहभागिता जनाउने नेपाली क्रिकेटरहरू भने प्रतियोगिताबारे बेखबर छन् । 

तालिका आइसक्यो खेलाडी घरघरमै

नेपाली महिला टोलीकी कप्तान रुबिना क्षेत्रीले बिहीबार फेसबुकमार्फत प्रतियोगिताबारे र खेलतालिका पोस्ट गरेपछि मात्रै अन्य खेलाडीले थाहा पाएका थिए । रुबिनाले आयोजना मिति नजिकिँदै गर्दा अझैसम्म खेलाडीलाई बन्द प्रशिक्षणमा नबोलाइनु दु:खद रहेको टिप्पणी गरिन् ।


‘लामो समयसम्म प्रतियोगिता नहुँदा प्राय: खेलाडी घरघरमै छन् । राष्ट्रिय तथा स्थानीय प्रतियोगिता सुरु हुनलाग्दा बल्ल सम्बद्ध निकायले चासो दिने गर्छन् । त्यस अघिपछि खेलाडीको कुनै प्रवाह छैन सम्बद्ध निकायलाई । खेलाडी मरे, बाँचे कसैलाई चासो छैन,’ रुबिनाले गुनासो पोखिन् ।


थाइल्यान्ड र हङकङले टोली छानिसकेको उनले सुनाइन् । उनले दु:खेसो पोखिन्, ‘हामीचाहिँ अहिलेसम्म घरघरमै छौं, कहिले बन्द प्रशिक्षणमा बस्ने, कहिले खेलाडी छान्ने अनि कहिले अभ्यास गर्ने ?’ ‘अन्तर्राष्ट्रिय खेलका लागि कम्तीमा ४–५ महिनाअघिदेखि खेलाडीलाई बन्द प्रशिक्षणमा राख्नुपर्ने हुन्छ’, रुबिनाले थपिन्, ‘तर हामीलाई अझै बोलाइएको छैन ।’ समयमै प्रशिक्षण सुरु नहुँदा खेलाडीबाट सन्तोषजनक प्रदर्शन आस गर्न नसकिने दाबी रुबिनाको छ ।


आयोजक थाइल्यान्डका दुई टोलीसहित नेपाल, युनाइटेड अरब इमिरेट्स (यूएई), नामिबिया, मलेसिया, हङकङ, इन्डोनेसिया, भुुटान र म्यानमारले भाग लिँदै छन् । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित यूएई, नामिबिया, मलेसिया र थाइल्यान्ड छन् । समूह ‘बी’ मा हङकङ, थाइल्यान्ड ‘बी’, इन्डोनेसिया, भुटान र म्यानमार छन् ।


समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । नेपालले पुस २७ मा नामिबियासँग खेल्नेछ । पुस २९ मा मलेसिया र ३० मा यूएईविरुद्ध भिड्नेछ । अन्तिम खेल माघ २ मा थाइल्यान्ड ‘ए’ सँग खेल्ने निश्चित भएको छ ।


निलम्बित नेपाल क्रिकेट संघ (क्यान) अहिले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मातहतमा छ । त्यही कारण पनि महिला क्रिकेट उपेक्षित बन्न पुगेको महिला खेलाडीहरूको आरोप छ । ‘पुरुष क्रिकेटलाई जति महत्त्व दिइन्छ, त्यसको तुलनामा महिला क्रिकेटलाई केही छैन,’ एक अन्तर्राष्ट्रिय खेलाडीले प्रश्न गरिन्, ‘लगानी र एक्स्पोजरबिना नतिजा मात्रै खोजेर हुन्छ ?’


क्यानकी पूर्वसीईओ भावना घिमिरेले खेलाडीको सम्पूर्ण व्यवस्था आईसीसीले मिलाउने भएकाले ढिलाइ हुन गएको बताइन् । उनले सम्भवत: डिसेम्बर मध्यतिरबाट खेलाडीलाई छनोट गरी बन्द प्रशिक्षणमा राखिने सम्भावना व्यक्त गरिन् । ‘सबै व्यवस्थापन आईसीसीले गर्दै आएको छ,’ घिमिरेले भनिन्, ‘क्यान नभएकाले असहज छ, अपेक्षाअनुरूप नहुन सक्छ ।’

प्रकाशित : मंसिर ३, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?