पुनरागमनमा ‘बोनस’ गोल

राजु घिसिङ

काठमाडौँ — नेपाली फुटबलको स्वर्णिम युग–सन् २०१६ । जुन वर्ष नेपाली टिमले एएफसी सोलिडारिटी कप, बंगबन्धु गोल्डकपको उपाधि र यू–२३ को १२ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्णपदक चुमेको थियो ।

पुनरागमनमा ‘बोनस’ गोल

यी तीनै उपाधि यात्रामा नेपाली टिमको मिडफिल्डमा मुख्य खेलाडी विक्रम लामाका लागि २८ माघ २०७४ को दिन जीवनकै कठिन बन्यो ।


धरान रंगशालामा भएको प्रतियोगिता थियो–बूढासुब्बा गोल्डकप । थ्री–स्टारका कप्तान विक्रम फाइनलमा पुलिसका तेज तामाङको ट्याकलबाट बच्ने प्रयास गर्दागर्दै ढले । उनको दायाँ खुट्टाको टिबिया र ट्रिबुलाको हाड फ्याक्चर भयो । उनको टिमले पुलिसलाई हराएर जितेको बूढासुब्बा गोल्डकपको ट्रफी ग्रान्डी अस्पताल नै पुर्‍याइएको थियो । त्यसपछि मैदानबाहिरै रहेका विक्रमले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबार ब्रिगेड ब्वाइजविरुद्धको खेलमार्फत प्रतिस्पर्धात्मक फुटबलमा पुनरागमन जनाए ।


उनको पुनरागमन सानदार रह्यो । ‘प्राकृतिक’ रूपले मिडफिल्डर रहेका उनी फेरि ‘आर्मब्यान्ड’ मा थ्री–स्टारको सेन्टरब्याकमा देखिए । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुनरागमनको पहिलो खेलमै पूरा समय मैदानमा बिताए । र, इन्ज्युरी टाइममा हेडद्वारा गोल गर्दै थ्री–स्टारको ५–१ को जितलाई औपचारिकता दिएर टुंग्याउने काम पनि यिनै विक्रमले गरे । ‘मेरा लागि खेलमा पुनरागमन गर्नु नै ठूलो कुरा हो । यसमा गोल बोनस बन्यो,’ दस महिनापछि पुनरागमन गरेका उनले भने, ‘कहिले बल हान्न पाउँला, दर्शकको अघि खेल्न पाउँला भन्ने थियो । खेल्न पाउँदा एकदमै गुमाइरहेको कुरा पाएको महसुस भएको छ ।’


‘पहिलो रोजाइमा खेल्न पाउने सोचेको थिइनँ,’ २९ वर्षीय विक्रमले भने, ‘बढीमा ३० मिनेटसम्म खेल्ने मौका पाउँछु कि भन्ने लागेको थियो, पूरा ९० मिनेट खेल्नसकें ।’ उनले थपे, ‘सेन्टर–ब्याकमा पनि खेल्ने सोचेको थिइनँ । टिमको आवश्यकताअनुसार डिफेन्समा खेलें । पोजिसन परिवर्तन गर्दा सुरुको पाँच मिनेट अलि गाह्रो भयो । पछि सन्तुलन मिल्यो ।’


आफ्नो पोजिसनअनुसार नै खेल्ने चाहना राख्दै उनले भने, ‘टिमलाई डिफेन्समा समस्या परेको थियो र त्यसै भूमिकामा खेलें । पहिला क्लब र राष्ट्रिय टिमका लागि केही खेल डिफेन्डरका रूपमा खेलेको थिएँ । टिमलाई अगाडि बढाउने मेरो जिम्मेवारी थियो, यसमा प्रयास गरें । मेरो परम्परागत पोजिसन मिडफिल्डमा थियो तर टिमले जहाँ प्रयोग गरे पनि म खुसी नै हुनेछ ।’


‘पहिलाभन्दा बलियो र राम्रो भएर फर्किएका छन्,’ विक्रमको पुनरागमनबारे थ्री–स्टारका प्रशिक्षक मेघराज केसीले भने, ‘उनी नहुँदा टिममा उनको अभाव हुन दिएको थिएन । त्यसैले नयाँ भूमिकामा उनलाई प्रयोग गरिएको हो र यसमा उनले धेरै राम्रो गरे ।’ उनले थपे, ‘खेलाडी आफैं, क्लब र प्रशिक्षकको धेरै मिहिनेत र लगानीमा उनी खेलमा फर्किएका हुन् । अब उनी नियमित टिममा खेल्नेछन् । पोजिसन भने टिमको आवश्यकताअनुसार हुनेछ ।’ विक्रमको उपचारमा थ्री–स्टारले करिब १० लाख रुपैयाँ लगानी गरेको केसीले बताए ।


ग्रान्डी अस्पतालमा शल्यक्रिया गरेका विक्रमले मैदानमा फर्कनुअघि गत महिना एक साता बैंकक सिटी हस्पिटलमा परीक्षण गराएका थिए । ‘खेल्न सक्ने/नसक्नेबारे हाडको अवस्था परीक्षण गरिएको थियो । सबथोक राम्रो देखियो । ह्यामस्ट्रिङको हल्का समस्या देखिए पनि शारीरिक अभ्यासपछि त्यो ठीक भयो र एक महिना प्रशिक्षण गरेर खेलमा फर्किएँ,’ उनले भने, ‘साफ च्याम्पियनसिप (भदौ) मा एकदमै खेल्न मन लागेको थियो तर धैर्य गरें । मेरा लागि प्रशिक्षक (मेघराज केसी) को मिहिनेत र क्लबले गरेको लगानीको गुन तिर्न सक्दिनँ होला । अरूले पनि धेरै सहयोग गरे ।’


उनी निकै मिहिनेती खेलाडी हुन् तर अभागी पनि । ट्रेनिङमा हात फ्याक्चर भएपछि उनले एएफसी यू–१७ च्याम्पियनसिप २०१६ को फाइनल चरणमा मैदानमा उत्रिने अवसर गुमाएका थिए । सिंगापुरबाट फर्केपछि पुन: उनको हात फ्याक्चर भएको थियो । ढाडको समस्याका कारण उनले २०६४ सालदेखि दुई वर्ष बढी फुटबल नै खेलेनन् । ‘त्यस बेलाभन्दा कैयौं गुणा कठिन समय यसपालि भयो । किनभने यति बेला मनदेखि नै फुटबल र यसको महत्त्व बुझेको छु,’ उनले भने ।


थ्री–स्टारको ५ गोल

मछिन्द्र ०–० पुलिस

थ्री–स्टारले ललितपुरको अर्को क्लब ब्रिगेड ब्वाइजविरुद्ध अग्रता लिन पेनाल्टीको सहारा लिनुपर्‍यो । नीराजन खड्कालाई फल गरेपछि पाएको पेनाल्टीमा रञ्जित धिमालले गोल गर्दै थ्री–स्टारलाई आठौं मिनेटमै अघि बढाए । तर, ‘ए’ डिभिजनमा फर्किएको क्लबविरुद्ध अर्को गोल गर्न स्टारहरूको टिमले दोस्रो हाफ नै कुर्नुपर्‍यो ।


सुनील बलले ५१ औं मिनेटमा राम्रो फिनिसिङ गरेपछि थ्री–स्टार २–० ले अघि बढ्यो । त्यसअघि ४६ औं मिनेटमा ऋतिक खड्काको प्रहारमा थ्री–स्टारका गोलकिपर एलन न्यौपानेले उत्कृष्ट बचाउ गरे । राजन तिवारीले ७५ औं मिनेटमा गोल गर्दै ब्रिगेड ब्वाइजलाई खेलमा फर्काउने प्रयास गरे ।


टिमका मुख्य खेलाडी रहेका उनी चोट बोक्दै बाहिरिएपछि खेलको कथा फेरियो । ब्रिगेड ब्वाइजको डिफेन्सको गल्तीमा प्राप्त अवसरमा रञ्जन विष्टले ८३ औं मिनेटमा चलाखीपूर्ण गोल गरेपछि थ्री–स्टारले ३–१ को अग्रता लियो ।


सुनीलले मिलाइदिएको बललाई नीराजन खड्काले पेनाल्टी क्षेत्रबाहिरैबाट ८९ औं मिनेटमा पोस्टको दिशा दिए । अनि विक्रमले इन्ज्युरी समयको तेस्रो मिनेटमा हेडर गोल गरे । यसमा उनले सुनीलकै क्रस उपयोग गरे ।


पहिलो खेलमा फ्रेन्ड्समाथि २–१ को जित हात पारेको थ्री–स्टारले दुई खेलबाट अधिकतम ६ अंक

जोड्यो । उसले उति नै अंक बनाएको चिरपरिचित मनाङ–मस्र्याङ्दीविरुद्ध बिहीबार खेल्नेछ र यसलाई उपाधि होडको महत्त्वपूर्ण प्रतिस्पर्धाका रूपमा लिइएको छ ।


यसअघि आइतबारको पहिलो खेलमा पुलिस र मछिन्द्रले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए । मछिन्द्रले लगातार दोस्रो बराबरी खेलेको हो भने पुलिस पहिलोपल्ट जित हात पार्न रोकिएको हो ।


आजका खेल

जावलाखेलविरुद्ध संकटा ११ बजे

फ्रेन्ड्सविरुद्ध एपीएफ १४:३० बजे

एन्फा कम्प्लेक्स


हिमालयन शेर्पाविरुद्ध सरस्वती १४: ३० बजे

हलचोक मैदान

प्रकाशित : मंसिर ३, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?