कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

हार खाएन न्युजिल्यान्डले

एएफपी

अबुधाबी — न्युजिल्यान्ड क्रिकेट टोलीका कप्तान केन विलियम्सनले अन्तिम समयसम्म हार नखाने आफ्नो टोलीको स्वभावलाई प्रशंसा गरेका छन् । पाकिस्तानमाथि पहिलो टेस्टमा सोमबार न्युजिल्यान्डले पाएको नाटकीय र तनावपूर्ण जित टेस्ट क्रिकेटका लागि राम्रो प्रवर्द्धन भएको उनले बताए । 

हार खाएन न्युजिल्यान्डले

पहिलो टेस्ट खेलिरहेका देव्रेहाते स्पिनर एजाज पटेलले ५९ रन खर्चेर ५ विकेट लिएपछि न्युजिल्यान्डले १ सय ७६ रनको लक्ष्य रक्षा गरेको थियो । तीव्र गतिका बलर निल वाग्नर र लेग स्पिनर इश सोढीले २–२ विकेट लिएपछि पाकिस्तान चौथो दिनको खेलमा १ सय ७१ रनमा अलआउट भयो । टेस्ट क्रिकेटमा यो पाँचौं साँघुरो जित–हारको अन्तर हो ।

पाकिस्तान जितबाट १ सय ३९ रनमात्र टाढाको अवस्थामा टोलीको १० विकेट पनि सुरक्षित थियो । यस्तोमा पाएको जित नाटकीय र भाग्य सबै भएको विलियम्सनले बताए । ‘निश्चय पनि यो नाटकीय खेल थियो,’ उनले भने, ‘चौथो दिनको खेलभर दुवै टोली दबाबमा रहे । मलाई लाग्छ दिनको अन्त्यमा यो टेस्ट क्रिकेटको लागि राम्रो विज्ञापन बन्यो ।’

उच्च रूपमा बढिरहेको ट्वान्टी–२० र वान–डे अन्तर्राष्ट्रिय संरचना र च्याउझैं उम्रिएका विश्वका लिगहरूले टेस्ट क्रिकेटलाई ठूलो चुनौती दिँदै आएको छ ।

पटेलले दिनको पाँचौं ओभरको खेलमा इमाम उल–हकलाई एलबीडब्लू आउट गरी पाकिस्तानको पतन सुरु गराए । अर्को ओभरमा सोढीले मोहम्मद हफिजलाई १० र हरिश सोहेललाई ४ रनमा आउट गरे । अजहर अली आउट हुने अन्तिम ब्याट्सम्यान थिए । उनले संघर्षपूर्ण ६५ रन बनाउँदै चौथो विकेटमा अशाद सफिकसँग ८२ रन जोडे । सफिक ४५ रनमा आउट भए । तर पाकिस्तानले अन्तिम ७ विकेट ४१ रन बनाउँदै गुमाएको थियो ।

विलियम्सनले पिच खेल्न सजिलो नरहेको जनाए । ‘विकेट चुनौतीपूर्ण थियो र दुवै टोलीले कठिन संघर्ष गरे । निश्चय पनि पाकिस्तान खेलमा बलियो रहेको थियो तर हामी सहजै नहार्ने हाम्रो स्वभाव थियो,’ उनले भने, ‘यसले हामीलाई अर्को खेलका लागि विभिन्न क्षेत्रमा बलियो रूपमा उभ्याएको छ ।’

दोस्रो टेस्ट शनिबार दुबईमा सुरु हुनेछ । अन्तिम टेस्ट फेरि अबुधाबीमा डिसेम्बर ३ देखि हुनेछ । विलियम्सनको कप्तानीमा न्युजिल्यान्डले १८ मध्ये ९ टेस्ट जितेको छ । तर उनले यस जितलाई त्यसमध्ये उत्कृष्ट भएको बताए । ‘निश्चय पनि हालैका स्मरणहरूमा यो जित विशेष छ ।

यस्तो कन्डिसनमा पाकिस्तान धेरै बलियो टोली हो । त्यस्तो टोलीसँग चार दिनसम्म संघर्ष गरेर नतिजा आफ्नो हातमा ल्याउनु उत्कृष्ट जितमा पर्छ,’ उनले भने ।

पाकिस्तानी कप्तान सरफराज अहमदले खराब ब्याटिङका कारण आफ्नो टोली हार्नुपरेको जनाए । ‘हामीले सजिलै विकेट सुम्पन पुग्यौं, कसैले पनि लामो इनिङ्स खेल्न सकेनन् । त्यसैले पनि यो पीडादायी छ,’ सरफराजले भने, ‘हामीले जुन हिसाबमा हिजो खेलेका थियौं, त्यसअनुरुप सजिलै लक्ष्यमा पुग्ने विश्वास थियो । सुरुमै तीन विकेट गुमाउन पुग्यौं । जमेका खेलाडीले यस्तो बेलामा खेल्नुपर्ने हुन्छ तर त्यो पनि भएन । पटेलसहित न्युजिल्यान्डका बलरको पनि प्रशंसा गर्नैपर्ने हुन्छ ।’

प्रकाशित : मंसिर ४, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?