संकटाको दोस्रो जित

काठमाडौँ — अन्तिम ७२ मिनेट दस खलाडीमा समेटिएर पनि संकटा क्लबले एन्फा कम्प्लेक्समा सोमबार जावलाखेल युथमाथि २–० को नतिजा निकाल्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । त्यस्तै एपीएफ र हिमालयन शेर्पाले पनि ३–३ अंक जोडेका छन् ।

संकटाको दोस्रो जित

पहिलो खेलमा सरस्वतीलाई १–० ले हराएको संकटा यो लिगमा सुरुका दुवै चरणमा जित हासिल गर्ने तेस्रो क्लब हो । यसअघि डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी र थ्रीस्टारले पनि निरन्तर जित दर्ता गर्दै अधिकतम ६ अंक जोडेका थिए ।


संकटाको अफ्रिकी मूलका सेडरिक अबा (तस्बिरमा) ले दुई गोल गरेपछि जावलाखेलले लगातार दोस्रो हार बेहोर्‍यो । उनले सुवास गुरुङको पासमा ५८ औं मिनेटमा गोलको खाता खोलेका थिए भने लक्ष्मण रुचालको क्रसमा ‘ब्याकहिल’ मार्फत् गोल गर्दै ८५ औं मिनेटमा संकटाको जित पक्का गरेका थिए ।


त्यसअघि म्याक्सवेल एलोन जावलाखेलका एडोमा डोम्बियालाई कुहिनाले प्रहार गरेपछि दोस्रो पहेँलो कार्ड बेहोर्दे १८ औं मिनेटमा बाहिरिएपछि संकटा १० खेलाडीमा समेटिएको हो । त्यसको एक मिनेटअघि नै रेफ्री कविन व्यन्जनकारले डाम्बियालाई नै फाउल गरेपछि उनलाई पहेँलो कार्ड देखाएका थिए । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा एपीएफले फ्रेन्डसमाथि १–० को जित निकाल्यो । पाँच मिनेटको इन्ज्युरी टाइमको अन्त्यमा प्रवीन स्याङ्तानले निर्णायक गोल गरेका थिए ।


हल्चोक मैदानमा हिमालयन शेर्पाले सरस्वतीलाई १–० ले हरायो । विश्वास श्रेष्ठले २९ औं मिनेटमा गोल गरेपछि हिमालयन शेर्पाले सिजनको पहिलो जित रचेको हो । हिमालयन शेर्पा र एपीएफले दुई खेलबाट ४–४ अंक जोडेका छन् ।

प्रकाशित : मंसिर ४, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?