३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नझर्ने लिगको सिजन

राजु घिसिङ

काठमाडौँ — रेलिगेसन (झर्ने) र बढुवा हुने मान्यता वा नियमलाई लिग फुटबलको मुटु नै मानिन्छ । तर, २०७० सालयता राजधानीको सहिद स्मारक ‘ए’ डिभिजन लिग नहुदा यी मान्यताहरू आेझेलमा परेका थिए ।

नझर्ने लिगको सिजन

सँगै चार सय बढी खेलाडी बेरोजगार पनि भएका थिए । नयाँ नेतृत्वको आगमनसँगै ए डिभिजन लिग फेरि सुरु भयो । निश्चित अवधिका लागि खेलाडीको रोजगारी पनि फर्कियो । तर, रेलिगेसन नहुने प्रावधान ल्याइएपछि ए डिभिजन लिगको चर्को आलोचना भयो । तैपनि १३ असोजमा सुरु लिगले ‘फेस्टिभल ब्रेक’ पछि गति लिएको छ ।


ए डिभिजनमात्र होइन, अखिल नेपाल फुटबल संघ (एन्फा) ले बी र सी डिभिजन लिग पनि यसपालि सञ्चालन गर्ने क्लबहरूसँग सहमति गरेको छ । माथिल्लो श्रेणीकै संरचनालाई पछयाउँदै बी र सी डिभिजन लिगमा पनि घटुवाको प्रावधान नराखिने भएको छ र यसबाट बढुवा पनि नहुने बताइएको छ ।


‘क्लबहरूसँगको छलफलमा बी र सी डिभिजन लिग पनि यसैपालि (२०७५ साल) सञ्चालन गर्ने सहमति भएको छ,’ एन्फाका केन्द्रीय सदस्यसमेत रहेका तेस्रो डिभिजनको क्लब प्लानिङ ब्वाइजका अध्यक्ष दावा लामाले भने, ‘ए डिभिजन लिगबाट घटुवा नहुने भएपछि बी र सी डिभिजनमा पनि त्यसै प्रावधानलाई निरन्तरता दिएर रेलिगेसन नगर्ने र बढुवा पनि नहुने किसिमको लिग सञ्चालन गर्ने सहमति भएको छ ।’


क्लबहरूसँगको सहमतिअनुसार बी र सी डिभिजन लिग पनि सञ्चालन हुने भएपछि घरेलु फुटबलमा यसपालिको लिगलाई ‘बढुवा र घटुवाबिनाको सिजन’ भन्दा फरक पर्ने छैन । लिग कमिटीका निर्देशक सञ्जीव मिश्रका अनुसार बी डिभिजन लिग माघ अन्तिम सातादेखि हुनेछ भने सी डिभिजन लिग फागुन तेस्रो साताबाट सञ्चालन गरिनेछ । दोस्रो श्रेणीमा १२ र तेस्रो डिभिजनमा ११ क्लब छन् ।


बी डिभिजन लिग पछिल्लोपल्ट २०७३ साल भदौमा भएको थियो । त्यस बेला च्याम्पियन भएको च्यासल र उपविजेता एनआरटीले माथिल्लो डिभिजनमा बढुवा पाएका थिए । यी दुई क्लबले अहिले ए डिभिजन लिग खेलिरहेका छन् । सी डिभिजन लिग पनि पछिल्लोपल्ट २०७३ सालमै भएको थियो । त्यति बेलाका विजेता भगवती र उपविजेता झम्सीखेल पनि यसपालि हुने बी डिभिजन लिगमा सहभागी हुने मिश्रले बताए ।


अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लिग सञ्चालनका लागि फिफा फरवार्ड कार्यक्रममार्फत करिब साढे ६ करोड रुपैयाँ एन्फालाई उपलब्ध गराएको छ । एन्फाले २०७० सालयता पहिलोपल्ट हुन लागेको भन्दै यसपालि ‘वार्मअप’ को रूपमा ए डिभिजन लिगमात्र सञ्चालन गर्ने जनाएको थियो ।


तर, फिफाले पठाएको बजेटबाटै बी र सी डिभिजन लिग सञ्चालन गर्न दबाब दिएपछि एन्फा यी दुई लिग पनि आयोजना गर्ने तयारीमा आइपुगेको हो । सी डिभिजन लिगका लागि छनोट प्रतियोगिता गर्नेबारे भने एन्फा मौन छ ।


फुटबल संघ सी डिभिजन क्लबलाई लिगको तयारीस्वरुप ४–४ लाख रुपैयाँ दिन सहमत भएको छ । पछिल्लोपल्ट क्लबले तयारी रकम १–१ लाख पाएका थिए । त्यस्तै, विजेतालाई ५ लाख, उपविजेतालाई ३ लाख, तेस्रोलाई २ लाख र चौथो हुनेलाई १ लाख दिने सहमति भएको पनि लिगका निर्देशक सञ्जीव मिश्रले बताए । ‘बी डिभिजन क्लबलाई दिइने तयारी खर्च र पुरस्कारबारे भने टुंगो लागेको छैन । यसबारे आर्थिक कमिटीसँग छलफल गरेर चाँडै निर्णय लिनेछौं,’ उनले भने ।


निर्देशक मिश्रका अनुसार बी र सी डिभिजनका क्लबलाई दुई समूहमा विभाजन गरी लिग गरिनेछ, जसमा समूहका शीर्ष दुई टिमले उपाधि होडमा सुपर लिग खेल्नेछन् ।


ए डिभिजन लिगलाई प्रतिस्पर्धात्मक बनाउन पुछारका दुई क्लबको अर्को लिगमा २ र १ अंक घटाउने तथा तयारी खर्चबाट ३ लाख र २ लाख कटाउने प्रावधान समावेश छ । बी र सी डिभिजन लिगमा भने यस्तो प्रावधानबारे कुनै छलफल नभएको बताइएको छ ।


सहिद स्मारक लिग

‘ए’ डिभिजन : १४ क्लब

मनाङ मस्र्याङदी, थ्रीस्टार, मछिन्द्र, आर्मी, संकटा, पुलिस, फ्रेन्ड्स, हिमालयन शेर्पा, जावलाखेल, एपीएफ, सरस्वती, ब्रिगेड ब्वाइज, च्यासल र एनआरटी


‘बी’ डिभिजन : १२ क्लब

मध्यपुर, पुल्चोक, खुमलटार, सातदोबाटो, नयाँबस्ती युवा, टुसाल, श्री कुमारी, ब्वाइज युनियन, आरसीटी, बाँसबारी, श्री भगवती र झम्सीखेल


‘सी’ डिभिजन : ११ क्लब

सानेपा, ओसिस, मनोहरा, प्लानिङ ब्वाइज, खालीबारी युवा, वीरगन्ज युथ एकेडेमी, महावीर, सामाजिक युवा, स्वयम्भू, सामाजिक खेलकुद केन्द्र र सानो गौचरण

प्रकाशित : मंसिर ४, २०७५ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?