१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

डर्बीमा आर्सनलको सान

एएफपी

लन्डन — तनावपूर्ण लन्डन डर्बीमा टोटेनहमविरुद्ध ४–२ गोलको जित हासिल गरी आर्सनल इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ ।

डर्बीमा आर्सनलको सान

इमिरेट्स रंगशालामा सुरुआतमै पिएरे एमरिक उवामेयाङको पेनाल्टी गोलमा घरेलु टोलीले अग्रता लिए पनि एरिक डायर र ह्यारी केनले चार मिनेटको अन्तरमा २ गोल गरेपछि टोटेनहमले पहिलो हाफमा २–१ को अग्रता लिएको थियो । केनले पेनाल्टीमा गोल गरे ।


दोस्रो हाफ आर्सनलले एकपक्षीय बनायो । ५६ औं मिनेटमा उवामेयाङले व्यक्तिगत दोस्रो गोल गर्दा अलेक्जान्द्रे लाकाजेट्टले ७४ औं र लुकास टोरेइराले ७७ औं मिनेटमा गोल गरे । जान भर्टोनघनले ८५औं मिनेटमा दोस्रो पहेंलो कार्ड खाएपछि टोटेनहम १० खेलाडीमा सीमित भयो ।


आर्सनल १४ खेलबाट ३० अंकसहित चौथो स्थानमा उक्लँदा टोटेनहम समान अंक भए पनि गोल अन्तरमा पछि परेको छ । ३१ अंकसहित चेल्सी तेस्रो स्थानमा छ ।


चेल्सीले स्थानीय प्रतिस्पर्धी फुलहमलाई २–० गोलले हराउँदै उत्कृष्ट पुनरागमन गरेको छ । पेड्रो र रुवेन लोफ्ट–चेकको गोलले औसत प्रदर्शनमा चेल्सी विजयी भयो । स्टामफोर्ड ब्रिजमा सुरुआतमै गोल गरेर पेड्रोले सानदार सुरुआत दिलाएका थिए । त्यसयता चेल्सी आफ्नो लय भेट्टाउन संघर्षरत देखियो ।


अन्तिममा लफ्टस–चेकले दोस्रो गोल गरी जित निश्चित गराए । फुलहमको जिम्मेवारी सम्हालेको दोस्रो खेलमै चेल्सीले आफ्ना पूर्वप्रशिक्षक क्लाउडियो रिनेरीलाई स्टामफोर्ड ब्रिजमा स्वागत गरेको थियो ।

शनिबार म्यानचेस्टर युनाइटेडले रेलिगेसनबाट बच्न संघर्षरत साउथ ह्याम्टनसँग दुई–दुई गोलको बराबरी खेल्यो ।


सबै गोल पहिलो हाफमै भएको खेलमा स्टुवार्ट आम्स्ट्रङ र सेर्डिक सोआरेसले अग्रता बनाएका थिए । तर, रोमेलु लुकाकु र एन्डर हरेराले गोल गरेपछि खेल बराबरीमा आयो । दोस्रो हाफमा साउथह्याम्पटनले आफ्नो मैदानमा युनाइटेडलाई गोलको अवसर दिएन ।


युभेन्ट्सको लगातार पाँचौं जित

मिलान– क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलसँगै डिफेन्डिङ च्याम्पियन युभेन्ट्सले शनिबार फियोरेन्टिनालाई ३–० ले हराएर सिरी ‘ए’ मा आफ्नो प्रभावलाई अझ बलियो बनाएको छ । लगातार आठौंपल्ट लिग च्याम्पियन बन्ने दाउमा रहेको युभेन्ट्सले जितसँगै ११ अंकको अग्रता बनायो ।


रोनाल्डोले लिगको १४ खेलमा १० औं गोल गरेका हुन् । उनले पेनाल्टीमार्फत ७९ औं मिनेटमा गोल गरे । थप गोल रोडरिगो बेन्तान्चुर र कप्तान जर्जियो केलिनीले गरेका थिए । पोर्चुगिज स्टार रोनाल्डोले पहेंलो कार्ड पाएपछि यो सिजनमै पहिलोपल्ट सब्स्टिच्युट गरिएको थियो र उनले अन्तिम दस मिनेट बेन्चमा बिताए ।


‘टिमका रूपमा उत्कृष्ट । महत्त्वपूर्ण जित,’ पाँचपल्टका बेलन डि’अर विजेता रोनाल्डोले भने । मासिमिलानो एलिग्रीको टिमले १४ खेलबाट ४० अंक जोडेको छ । दोस्रो स्थानमा रहेको नेपोलीको

एट्लान्टाविरुद्ध सोमबार खेल्नुअघि २९ अंक रहेको छ ।


युभेन्टसको यो लगातार पाँचौं जित हो र लिगका १४ खेलमध्ये १३ औं जित पनि । युभेन्ट्सले विपक्षीको मैदानमा खेलेका सबै खेल जितेको छ । उसले घरेलु मैदानमा जेनोआविरुद्ध मात्र बराबरी खेलेको थियो ।


‘यो महान् विजेता र महान् प्रतिभाशालीको टिम हो तर सबै महान् मान्छेहरूमाथि,’ एलिग्रीले भने, ‘एक्लैको टेक्निक पर्याप्त हुन्न । चाहना राख्नु आवश्यक छ । टिमका सहकर्मीहरूसँगै काम गरेर विपक्षीलाई तल पार्ने चुनौतीको सामना गर्ने खेलाडी चाहिन्छ,’ उनले थपे, ‘हामीलाई कठिनाइ थाहा छ । तर, हामीले चाँडै खेलमा वर्चस्व जमायौं । दोस्रो हाफमा फियोरेन्टिनाले समस्यामा पारे पनि हामी जितका लागि योग्य थियौं ।’

प्रकाशित : मंसिर १७, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?