१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आर्मी स्ट्राइकरको धार 

फ्रेन्ड्स ३–० मछिन्द्र
आर्मी २–१ हिमालयन शेर्पा
ब्रिगेड ब्वाइज ०–१ जावलाखेल

काठमाडौँ — त्रिभुवन आर्मी ‘ए’ डिभिजन लिगका दुई अपराजित टोलीमध्ये एक हो । पहिलो खेलमा एनआरटीसँग बराबरी खेलेको आर्मीले त्यसयताका चारै खेलमा निरन्तर जित निकालेको छ ।

आर्मी स्ट्राइकरको धार 

आर्मीमा राष्ट्रिय टिमका तीन स्ट्राइकर छन्, भरत खवास, नवयुग श्रेष्ठ र जर्जप्रिन्स कार्की । नवयुग चोटग्रस्त छन् भने जर्जप्रिन्स विभागीय प्रशिक्षणमा छन् । भरतको दुई गोल सहयोगमा आर्मीले आइतबार हिमालयन शेर्पालाई २–१ ले पराजित गर्‍यो ।


पछिल्लो चरणका खेलबाट मात्र आर्मीका स्ट्राइकरले गोल गर्न सके । पाँचौं चरणमा त्यसले निरन्तरता पायो । आर्मीको पाँच खेलबाट १३ अंक भएको छ र शीर्षस्थानमा मनाङसँगको दूरी २ अंकमा झारेको छ । शेर्पा भने समान खेलबाट १० अंकसहित छैटौं स्थानमा झरेको छ ।


फिनिसिङमा देखिएको केही कमजोरीलाई छाड्ने हो भने भरतले लिगमा पुनरागमन गरेका छन् । महत्त्वपूर्ण तीन अंक जोडेर शीर्षस्थानको मनाङमाथि दबाब कायम राख्न सकेकामा प्रशिक्षक नवीन न्यौपानेले राहतको महसुस गरे । ‘लिगका सुरुआती तीन खेलमा स्ट्राइकरबाट गोल निस्कन नसक्नु चिन्ताको विषय थियो । चौथो र पाँचौं चरणसम्म आउँदा भरतले गोल गर्न थालेका छन्, यो हाम्रा लागि सकारात्मक कुरा हो,’ प्रशिक्षक न्यौपानेले थपे, ‘तीन अंक हाम्रा लागि यसकारण पनि महत्त्वपूर्ण छ कि हामीले मनाङलाई पछ्याइरहनु छ र उसमाथि दबाब कायम राखिराख्नु छ ।’


शेर्पाविरुद्ध भरतले पहिलो हाफमा गोल गरे पनि बाँकी दुई अवसरमा चुकेका थिए । यद्यपि ३३ औं मिनेटमा सन्तोष तामाङको कर्नरमा पेनाल्टी एरियामा अनमार्क रहेका भरतले सानदार हेडिङ गोल गरे ।

पहिलो हाफ पूरै आर्मीले नियन्त्रणमा राखेको थियो । सन्तोषको पासमा टंक बस्नेतले आठौं र २४ औं मिनेटमा गोलको अवसर खेर फाले । शेर्पाले भने गोलको एउटा अवसर पाएको थियो । २१ औं मिनेटमा विश्वासको क्रसमा कर्ण लिम्बूले गोल लाइनबाट हेड बल टच गर्न सकेनन् ।


दोस्रो हाफमा आर्मी एकाएक रक्षात्मक देखियो । एक गोलको अग्रतामै सुरक्षित महसुस गरेको आर्मीले दबाब खेपे पनि शेर्पालाई सजिलै गोल गर्न दिएन । आर्मी दोस्रो हाफमा शेर्पाको आक्रमण रोक्दैमा व्यस्त देखियो । ८५ औं मिनेटमा भरतले व्यक्तिगत दोस्रो गोल गरे । दिनेशको क्रसमा किपर बिट भएपछि भरतले ट्यापिङ गरी सहज गोल गरे । त्यसको एक मिनेटपछि नै अलरिचले १८ यार्डबाट पहिलो बार च्यापेर गरेको प्रहार आर्मीका गोलरक्षक विकेशले जज गर्नै सकेनन् ।


‘समयमै गोल निस्कियो र आर्मी जोगियो । अन्यथा दोस्रो हाफमा लिएको रक्षात्मक रणनीति आर्मीका लागि प्रत्युत्पादक हुन सक्थ्यो । हामी दोस्रो हाफमा डिफेन्सिभ र काउन्टर एट्याकमा गोल निकाल्ने रणनीतिमा थियौं । त्यसैले हामी दबाबमा देखियौं,’ खेलपछि आर्मीका प्रशिक्षक न्यौपानेले भने ।


लिगमा पहिलो हार व्यहोरेको शेर्पाका प्रशिक्षक सुवास लिम्बूले अवसर सदुपयोग गर्न नसक्दा हार बेहोर्नुपरेको बताए । ‘हामीले उत्तिकै अवसर सृजना गरेका हौं, अघिल्ला चरणमा भन्दा राम्रो पनि भएको हो । तर, स्ट्राइकरले अवसर उपयोग गर्न सकेनन्,’ लिम्बूले थपे, ‘लिगमा हाम्रो लक्ष्य शीर्ष ६ भित्र पर्ने हो । पहिलो खेल हारेका मात्र हौं, बाहिरिएका छैनौं, अन्य खेलमा अझै राम्रो खेल्ने प्रयास गर्नेछौं ।’ सुवासले भने ।


आइतबारकै पहिलो खेलमा अन्तिम ३० मिनेटमा ३ गोल गरी फ्रेन्ड्स क्लबले जारी लिगमा पहिलो जित आत्मसात् गरेको छ । फोफाना ब्राहिमनले ६६ औं, संजोग महर्जनले ८४ औं र अनिल महर्जनले इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गरे ।


लिगमा जित निकाल्न असफल मछिन्द्रले अहिलेसम्म एक गोल पनि गर्न सकेको छैन । गोल गर्न नसक्ने मछिन्द्र एक्लो टिम हो । जितपछि फ्रेन्ड्सको चार अंक भएको छ र लिगको नवौं स्थानमा उक्लिएको छ । २ अंक भएको मछिन्द्र भने पुछारबाट दोस्रो स्थानमा छ ।


हल्चोक मैदानमा ललितपुरको अर्को टिम ग्रान्डमास्टर जावलाखेल युथ क्लबले पनि लिगमा पहिलो जित निकाल्ने क्रममा ब्रिगेड ब्वाइज क्लबलाई १–० ले हरायो । खेलको ८८ औं मिनेटमा पाएको पेनाल्टीमा अरुज सिंहले गोल गरे । जितले जावलाखेल दसौं स्थानमा उक्लँदा ब्रिगेड ब्वाइज बाह्रौं स्थानमा झरेको छ ।

प्रकाशित : मंसिर १७, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?