संकटा लयमा, एपीएफ सम्हालिँदै

काठमाडौँ — संकटा क्लबले लिग सुरु हुनुअघि शीर्ष पाँचभित्र रहने लक्ष्य लिएको थियो । टिममा नाम चलेका खेलाडी थिएनन् । ‘पेपर’ मा हेर्दा संकटाको लक्ष्य पूरा हुने देखिएको थिएन । लिग सुरु भयो तेस्रो चरणसम्म संकटाले मनाङसँगै लगातार जित निकाल्यो ।

संकटा लयमा, एपीएफ सम्हालिँदै

चौथो खेलमा आर्मीसँग हारे पनि त्यसयता लगातार दुई जित निकालेको छ । र, शीर्ष पाँचमा मात्र होइन संकटाले उपाधिमै दाबेदारिता पेस गर्न थालेको छ ।


लिगमा ‘अन्डर डग’ का रूपमा अघि बढिरहेको संकटाले मंगलबार नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गर्‍यो । पुलिसविरुद्धको संघर्षपूर्ण जितले संकटालाई लिगको दोस्रो स्थानमा पुर्‍याएको छ । एक खेल कम खेलेको शीर्षस्थानको मनाङसँगै समान १५ अंक भए पनि संकटा गोलअन्तरमा पछि परेको छ ।


संकटा टोलीमा औसत खेलाडी छन् । एक डिफेन्डर र दुई स्ट्राइकर गरी तीन विदेशी खेलाडीले शतप्रतिशत योगदान गरेका छन् । मुख्यत: यो टिममा सन्तुलन छ । पुलिसका प्रशिक्षक अनन्त थापाले त भनेका छन्, ‘संकटा बलियो टोली होइन तर उनीहरूमा सन्तुलन छ र लिगमा हामीभन्दा माथि छ त्यसैले मनोबल उच्च छ ।’


अग्रपंक्तिमा संकटा अहिले पनि कमजोर छ । पुलिसविरुद्ध नोरबर्ट सेड्रिक अवाले विंगर पोजिसनमा उत्कृष्ट खेले पनि एलोन म्याक्सवेलले नम्बर नाइन स्ट्राइकरका रूपमा सुस्त खेले । रक्षापंक्तिमा भने थ्रीस्टारका पूर्व डिफेन्डर सरोज दाहाल र विदेशी टम्पी अर्नेस्टको सन्तुलन बेजोडको छ । पुलिसविरुद्ध सरोजले त गोल नै गरे । गोलरक्षक राजाबाबु थापाले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।


लिगमा दोस्रो हार बेहोरेको पुलिसलाई भने मंगलबारको खेलमा चोटले सतायो । नियमित स्ट्राइकर सुमन लामा र मिडफिल्डर हेम तामाङले चोटका कारण खेल्न सकेनन् भने डिफेन्डर अजित भण्डारीले दोहोरो पहेँलो कार्डका कारण एक खेल गुमाए । ‘सेटका तीन खेलाडी नहुँदा जुनियर खेलाडीको प्रदर्शन अपेक्षाअनुसार भएन । टिमले राम्रो खेल्यो तर फिनिसिङ नहुँदा हार्नुपर्‍यो,’ प्रशिक्षक थापाले भने ।


खेलमा पुलिस नै बल पोसेसन हाबी थियो । छैटौं मिनेटमा कप्तान भोला सिलवालको हाफ भली संकटाका गोलरक्षक राजाबाबुले पन्च गरेर क्लियर गरेका थिए । २९ औं मिनेटमा पुलिसले अप्रत्याशित गोल खान पुग्यो । लक्ष्मण रुचालको कर्नरमा सरोज दाहालले सिक्स यार्ड बक्सबाट हेडर गोल गरे । ३७ औं संकटाले अर्को गोल थप्यो । यसपल्ट दीपेश आलेमगरले वान भर्सेस वानमा गोल गरे । डिफेन्डर दिनेश राजवंशी र मिडफिल्डर तेज तामाङको बीचबाट बल खोसेर अघि बढेका दीपेशले पुलिसका गोलरक्षक शत्रुधन चौधरीलाई बिट गरेर गोल गरेका थिए ।

त्यसको दुई मिनेटपछि नै पुलिसले गोल फर्कायो । अभिषेक रिजालको पासमा रवि पासवानले पेनाल्टी एरियाबाट गरेको सशक्त प्रहार गोलरक्षक राजाबाबुले पहिल्याउन सकेनन् । इन्ज्युरी समयमा नीरकुमार राईको प्रहार पोस्ट माथिबाट बाहिरिँदा पुलिस पहिलो हाफमा बराबरी गोल फर्काउने अवसरबाट चुकेको थियो ।


दोस्रो हाफमा केही रक्षात्मक बनेको संकटाविरुद्ध पुलिसले निरन्तर आक्रमण बुने पनि उसको रक्षापंक्तिले विफल पारिदियो । शीर्षस्थानको मनाङलाई दबाब दिइराख्नका लागि महत्त्वपूर्ण खेलमा संकटाले पुलिसलाई थप गोल गर्न दिएन ।


खेलको ६६ औं मिनेटमा कप्तान भोलाले उपलब्ध गराएको बलमा पेनाल्टी बक्सभित्रबाट भरत शाहले दिएको ब्याकपासमा अभिषेक रिजाल चुके । त्यसको ६ मिनेटपछि भोलाकै फ्रि–किक प्रहार गोलरक्षक राजाबाबुले पन्च गरेपछि रिवाउन्ड बलमा अनमार्क रहेका विक्रम धिमालले पोस्ट बाहिर हाने । भोलाले २५ यार्डबाट गरेको फ्रिकिक प्रहार ७० औं मिनेटमा क्रसबार माथिबाट बाहिरियो । त्यसको सात मिनेटपछि भरत शाहले पनि पाएको अवसर सदुपयोग गर्न सकेनन् । संकटाका लागि नोरबर्टले ७५ औं मिनेटमा अग्रता लम्ब्याउने अवसर पाए तर उनको लामो दूरीको फ्रिकिक प्रहार पोस्ट माथिबाट बाहिरियो ।


खेलको ८९ औं मिनेटमा संकटाले गोलको सुन्दर र अन्तिम मौका पाएको थियो । नोनोरबर्टले पुलिसका गोलरक्षक शत्रुधनलाई बिट गरी उपलब्ध गराएको पासमा एलोनले पेनाल्टी एरियाबाट टयापिङ गरे पनि गोल गर्न सकेनन् । उनको प्रहार ७७ औं मिनेटमा बुद्ध लामाको स्थानमा मैदान छिरेका मानबहादुर परियारले जोगाएका थिए ।


पाएका अवसरमा चुक्दा पुलिसले कम्तीमा बराबरी गर्ने अवसर गुमायो र लिगमा दोस्रो हार बेहोर्‍यो । पुलिसको ६ खेलबाट ३ जित र १ बराबरीसाथ १० अंक भएको छ ।


पुलिसका प्रशिक्षक थापाले सुरुमै गोल खानुपर्दा खेलाडी दबाबमा आएको बताए । ‘सुरुमै गोल खानुपर्दा खेलाडी दबाबमा आए, हामीले एक गोल फर्काएका पनि हौं । दोस्रो हाफमा आक्रामक खेलेर गोल फर्काउने रणनीति लिए पनि त्यसो भएन,’ प्रशिक्षक थापाले भने ।


प्रशिक्षक थापा लिगमा दोस्रो हार बेहोरे पनि पुलिस क्लब लिगको उपाधि अभियानबाट बाहिरिएको मान्न तयार छैनन् । उनले भने, ‘अर्को खेलपछि लिग आधा हुन्छ । त्यस खेलको नतिजाले भन्न सकिएला अन्यथा हामी उपाधि दाबेदार नै छौं ।’


संकटाका प्रशिक्षक सल्यान खड्गीले भने काउन्टर एटयाकमा खेल्ने रणनीति सफल भएको र सुरुआतमै गोल निस्केकाले सहज भएको प्रतिक्रिया दिए । ‘लिगको लक्ष्यअनुसार पुलिसविरुद्धको खेल हाम्रा लागि महत्त्वपूर्ण थियो,’ उनले थपे, ‘हाम्रा खेलाडीले उत्कृष्ट टिम गेम खेले । सबैको शतप्रतिशत प्रयासले मात्रै हामी जित निकाल्न सफल भयौं ।’


मंगलबारै पहिलो खेलमा एपीएफ क्लबले लिगमा दोस्रो जित निकालेको हो । एपीएफले लिगको पुछारमा रहेको एनआरटीलाई २–१ ले हराउँदा युवराज खड्काले उत्कृष्ट प्रदर्शन गरे ।


खेलको तेस्रो मिनेटमै युवराजले गोल गरी एपीएफलाई अग्रता दिलाएका थिए । १५ औं मिनेटमा राजेश परियारले गोल गरेर एनआरटीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । पहिलो हाफमा थप गोल भएन । तर ७३ औं मिनेटमा एपीएफले पेनाल्टी अवसर पायो । त्यसलाई सुदीप सिख्राकारले सदुपयोग गरेपछि एनआरटीको लगातार पाँचौं हार निश्चित गराएका थिए । आशिष गुरुङले युवराजलाई फाउल हानेपछि रेफ्री नवीन्द्र महर्जनले एपीएफलाई पेनाल्टीको अवसर दिएका थिए ।


पहिलो खेलमा त्रिभुवन आर्मीविरुद्ध २–२ को सनसनीपूर्ण बराबरी खेलेयता एनआरटीले लिगमा सकारात्मक नतिजा निकाल्न सकेको छैन । मछिन्द्र क्लबपछि एनआरटी लिगमा जितविहीन दोस्रो टोली हो । ६ खेलबाट एनआरटीसँग १ अंक छ । एपीएफ भने जितसँगै ७ अंक जोडेर तालिकाको सातौं स्थानमा पुगेको छ ।


प्रकाशित : मंसिर १९, २०७५ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?