कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शक्तिको ईपीएलपछि संन्यास

पूरा नेपालकै भनेको त होइन तर आफ्नो जिल्ला, प्रदेशको मैले अग्रसरता लिएँ भने राम्रै योगदान हुनसक्छ । नेपाली क्रिकेटको विकासमा लागौं भनेर नै मैले यो निर्णय गरेको हुँ
विनोद पाण्डे

काठमाडौँ — शक्ति गौचनले टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल) पछि संन्यास लिने भएका छन् । पोखरा राइनोजका मार्की खेलाडी उनले ईपीएल आफ्नो अन्तिम प्रतियोगिता हुने बताए । ३४ वर्षे शक्तिले आफू पूर्ण रूपमा क्रिकेटको विकासमा केन्द्रित हुन खोजेको जनाए । 

शक्तिको ईपीएलपछि संन्यास

जुलाईमा नेदरल्यान्ड्समा भएको वान–डे अन्तर्राष्ट्रिय खेलबाट शक्तिले विदेशी भूमिमा आफ्नो खेलजीवन टुंग्याइसकेका छन् । उनले नेपालमा हुने अन्तर्राष्ट्रिय खेलबाटै पूर्ण रूपमा संन्यास लिने चाहना राखेका थिए । तर नेपाल क्रिकेट संघ (क्यान) निलम्बनको अवस्थामा उनले ईपीएललाई नै आफ्नो अन्तिम प्रमुख प्रतियोगिता बनाउन लागेका हुन् ।

सन् २००१ मा बंगलादेशमा भएको एसीसी यू–१७ एसिया कपदेखि शक्तिले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेका थिए । अर्को वर्ष सिंगापुरमा एसीसी ट्रफीबाट उनले राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका हुन् । ब्याटिङ अलराउन्डका रूपमा आफ्नो खेलजीवन अगाडि बढाएका शक्ति नेपालबाट १ हजार रन बनाउने पहिलो खेलाडी हुन् ।

पछि उनी बलरको भूमिकामा मात्र रहे । देव्रेहाते स्पिन बलिङबाट उनी नेपालका प्रमुख बलर बने । पछिल्लो समय उनले राष्ट्रिय टोली र फ्रेन्चाइज क्रिकेटमा कम मौका पाउँदै आएका थिए ।

‘मैले संन्यासका लागि लगभग सोच बनाइसकेको छु । फ्रेन्चाइजी क्रिकेट यो मेरो अन्तिम नै हुन्छ । अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले संन्यास लिइसकेको छु,’ शक्तिले कान्तिपुरसँग भने, ‘मेरो विचारमा अन्तर्राष्ट्रियभन्दा पनि फ्रेन्चाइजी क्रिकेट उच्चस्तरको हो । अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्दाभन्दा यस्ता प्रतियोगितामा धेरै मिहिनेत गर्नुपर्छ । यस्ता क्रिकेटमा मैले धेरै मिहिनेत गर्दिनँ भने म अन्तर्राष्ट्रिय क्रिकेटलाई योग्य हुन्न । त्यसैले मिहिनेतको हिसाबमा पनि यो मेरो अन्तिम प्रतियोगिता हो ।’ उनकै शब्दमा :

अनसिन डेभलपमेन्ट अफिसर

नेपाल क्रिकेट संघ (क्यान) अहिले विघटनको अवस्थामा छ । विकास गतिविधि शून्यको स्थितिमा छ । यस्तो अवस्थामा कोही त हुनुपर्‍यो, जसले विकास गतिविधिको नेतृत्व लिनुपर्‍यो । पूरा नेपालकै भनेको त होइन, तर आफ्नो जिल्ला, प्रदेशको मैले अग्रसरता लिएँ भने राम्रै योगदान हुनसक्छ । नेपाली क्रिकेटको विकासमा लागौं भनेर नै मैले यो निर्णय गरेको हुँ ।

अहिले म आफूलाई आफ्नो राष्ट्रको अनसिन डेभलपमेन्ट अफिसरका रूपमा राख्छु । मैले आफैंलाई यो जिम्मेवारी दिएको छु कि मैले जिम्मेवारी निभाउनुपर्छ भनेर । मैले यसको सुरुआत गरिसकेको छु । मैले अहिले पनि खेलिरहें भने यो क्षेत्रमा शतप्रतिशत समय दिन सक्दिनँ । यसो गर्दा नेपालमा क्रिकेट विकासको जुन सपना देखेको छु, त्यसमा ढिलाइ हुनेछ ।

होराइजनका प्रशिक्षक

म बुटवलमा होराइजन स्कुलको प्रशिक्षक पनि हुँ । होराइजनले क्लब प्रतियोगिता खेल्ने गरेको छ । होराइजनमा ठूलो खेलाडी त आउँदैनन् । लिनुपर्‍यो भने पैसा तिर्नैपर्छ । एउटा क्रिकेट प्रशिक्षकको भूमिका मैले होराइजनबाटै खेल्नुपर्ने अभिभारा छ । होराइजनले जहिले पनि चाहन्छ राम्रो प्रदर्शन होस् भनेर । स्थिति र समयअनुसार म खेल्न सक्छु । तर मैले पूर्ण रूपमा क्रिकेट विकासका लागि लाग्ने निधो गरेको छु ।

अन्तिम खेलको चाहना

मैले नेपालमै खेलेर अन्तर्राष्ट्रिय क्रिकेट टुंगाउने निधो गरेको थिएँ । मैले राष्ट्रिय टोलीबाट खेल्दै नेपालमै बिदाइ पाउने आस गरेको छैन । भयो भने मैले देशका लागि के गरेछु भन्ने छु । तर ९९ प्रतिशत मैले त्यस्तो विदाइको आशा गरेको छैन । नेदरल्यान्ड्समा मैले जुन वान–डे अन्तर्राष्ट्रिय खेलें त्यो नै अन्तिम हुनेछ । शुभचिन्तक, प्रशंसक, परिवारका सदस्यले मैले राष्ट्रिय टोलीबाट अन्तिम खेल नेपालमै खेलोस् भन्ने चाहन्छन् होला । तर मैले त्यो सम्भावना देखेको छैन । कसैले मेरो यो चाहनालाई पूरा गरिदिन्छ भने म उसलाई हृदयदेखि नै धन्यवाद दिनेछु ।

तर नेपालमा अहिले अन्तर्राष्ट्रिय खेल हुने सम्भावना पनि छैन । कसैले मेरा लागि गर्ला भन्ने पनि छैन । जसले गर्छ त्यो एक प्रतिशतको मान्छे हुनेछ । त्यो अचम्मैको हुनेछ ।

मार्की खेलाडी

तयारी धेरै त गरिएको छैन, तर एउटा खेलाडीका रूपमा म तयार छु । ईपीएलका लागि भनेर नेट्समा अझै अभ्यास गर्न पाएका छैनौं । त्यही पनि सिजनको हिसाबमा खेलाडीहरू अहिले लयमै छन् । विदेशी खेलाडी आएका छन् ।

उनीहरूले कन्डिसन बुझ्दै छन् । घरेलु क्रिकेटरहरूको बलियो र कमजोर पक्षबारे मार्की खेलाडीको हिसाबमा मैले प्रशिक्षकलाई बुझाउनुपर्ने हुन्छ । विदेशी प्रशिक्षक भएकाले उनलाई एकै पटक सबै थाहा हुँदैन । प्रतिद्वन्द्वी टोलीको पनि जानकारी दिनुपर्छ । विदेशी खेलाडीलाई नेपालको कन्डिसनबारे जानकारी गराउनुपर्ने हुन्छ ।

टिममा जिम्मेवारी

अहिले मलाई टिमले बलिङ युनिट लिडरको जिम्मा दिएको छ । बलिङ युनिटलाई प्रतिद्वन्द्वीअगाडि हिट गर्दा उनीहरूको बलियो पक्षलाई कसरी कमजोर बनाउन सकिन्छ त्यो टिमलाई जानकारी गराउनु मेरो भूमिका हो । टिम कम्पोजिसन राम्रो देखिएको छ । ब्याटिङ पक्ष राम्रो देखिएको छ । तीनै जना विदेशी खेलाडी ब्याटिङमा पोख्त छन् । बलिङ टिम पनि अनुभवी छ । बलिङमा घरेलु खेलाडी भएकाले यो कन्डिसनमा कसरी बलिङ गर्ने हामीलाई थाहा छ ।

हामीले गत सिजन पनि राम्रो सुरुआत गरेका थियौं, तर फिनिसिङ दिन सकेका थिएनौं । राम्रो सुरुआत गर्दै च्याम्पियनको रूपमा प्रस्तुत गराैं भन्ने सोचाइ हुन्छ । प्रतियोगिता सुरु हुनुअगाडि नै जितिसक्यौं भन्न लाग्यो भने खेलेको अर्थ नै हुँदैन । त्यही भएर अहिलेको सोच छ, ‘राम्रो सुरुआत गरौं र च्याम्पियनका रूपमा फिनिस गरौं ।’

प्रकाशित : मंसिर २०, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?